Edukhabar
सोमबार, १७ मंसिर २०८१
खबर/फिचर

श्रोतव्यक्तिलाई निरन्तरता

सोमबार, २० फागुन २०७५

तनहुँ - संघीय सरकारले हटाउने निर्णय गरेपनि केही स्थानीय सरकारले श्रोतव्यक्तिलाई निरन्तरता दिएका छन् । तनहुँको घिरिङ गाउँपालिकाले श्रोतव्यक्ति दामोदर खनाललाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै भिमाद नगरपालिकाले श्रोतव्यक्ति केशवराज वाग्लेलाई निरन्तरता दिने तयारी गरेको छ । तनहुँमा रहेका ११ जना मध्ये ९ जनालाई निरन्तरता दिने तयारी भएको श्रोतले जनाएको छ । 

संघीयतासँगै विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत भएकोले श्रोतव्यक्तिको आवश्यकता नरहेको निष्कर्श सहित सरकारले उनीहरुलाई साविककै शिक्षक पदमा फिर्ता पठाउने निर्णय गरेको थियो । 'विद्यालयको शैक्षिक प्रशासन र शिक्षकहरुलाई प्राविधिक सहयोगका लागि स्थानीय तहमा यस्तो प्रकृतीको संरचना र प्राविधिक जनशक्तिको आवश्यकता भएमा स्थानीय तहकै श्रोतबाट गर्न सक्ने' भन्ने मन्त्रीपरिषद्को निर्णयका आधारमा स्थानीय सरकारले  उनीहरुलाई निरन्तरता दिएका हुन् । 

श्रोतव्यक्तिको विधरोधका वावजुद गत फागुन ३ गतेको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको थियो । संघीय सरकारको उक्त निर्णय पछि उनीहरुलाई साविकको शिक्षक पदमा फिर्ता पठाउने प्रकृया जारी रहँदा केही पालिकाले निरन्तरताको निर्णय तयारी गरेका विद्यालय श्रोतव्यक्ति समाजले जनाएको छ । 

कतिपय पालिकाहरुले निर्णयको तयारी गरेका खबर प्राप्त भए पनि कति जनालाई निरन्तरता दिने निर्णय भयो भन्ने यकिन तथ्याङ्क संकलनको क्रममा रहेको समाजका गण्डकी प्रदेश संयोजक हुतमणि अधिकारीले बताए । अहिले सम्म बाग्लुङ नगरपालिकामा कार्यरत स्रोतव्यक्ति ढकबहादुर पुन र लक्ष्मीकान्त पौडेललाई निरन्तरता दिई कामकाज गराउने निर्णय भएको उनले बताए । यस्तै प्युठानको गौमुखी, सरुमारानी र नौबहिनी गाउँपालिकाले पनि कार्यपालिकाको निर्णयबाट स्रोतव्यक्तिहरुलाई निरन्तरता दिएको उनको भनाई छ । 

'स्थानीय सरकारको यो कदमले स्रोतव्यक्तिको आवश्यकता पुष्टि मात्रै गरेको छैन हटाउने संघीय सरकारको निर्णय गलत थियो भन्ने पनि प्रमाणित गरिदिएको छ' उनले भने,  'पालिकाहरुको यो निर्णय र तयारी श्रोतव्यक्तिको निष्ठा, समर्पण, निष्पक्षता, सत्य र न्यायको पक्षमा आएको छ ।'

प्रतिक्रिया