Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भारतीय नाकाबन्दीका विरुद्ध प्राध्यापकहरुको आपत्ति

बुधबार, १८ कार्तिक २०७२

काठमाडौँ, १८ कात्तिक । नेपाल–भारत सिमानामा भएको नाकाबन्दी खुलाउनका लागि कूटनीतिक चातुर्यता अपनाउन नसकेमा दीर्घकालीन असर पर्ने प्राध्यापकहरुले बताएका छन् । 

छिमेकी मुलुकका विरुद्धमा अभद्र र अशिष्ट गालीगलौज गर्नु पनि बुद्धिमानी नहुने उनीहरुको ठम्याइ छ । विभिन्न वैचारिक प्राध्यापक सङ्घ सङ्गठनद्वारा भारतीय नाकाबन्दीका बारेमा काठमाडौँमा आज आयोजित विचार गोष्ठीमा बोल्ने प्राध्यापकले कूटनीतिक पलहकदमीमै जोड दिएका थिए । 

कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्ष प्रा. वासुदेव घिमिरेले दुई देशबीचको कुटनीतिक विषयलाई हल्कारुपमा लिन नहुनेमा जोड दिए ।  उनले कूटनीतिकभन्दा पनि सतही र बाहिरी कुरामा बढी भुलेको अनुभव आफूले गरेको बताए । 

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा डा यादवप्रकाश लामिछानेले अन्तर्राष्ट्रिय निकायहरुको सहयोग लिएर आपसी समस्या समाधान गर्नु उपयुक्त हुने बताए ।  त्यसैगरी, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भण्डारीले भारतबाट नेपाल सधैँ हेपिएको बताउँदै दीर्घकालीन समाधानको खोजी गर्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा सूर्यलाल अमात्य, त्रिवि प्राध्यापक सङ्घका अध्यक्ष योगेन्द्रनारायण पडवरियालगायतले अहिलेको समस्या जबर्जस्तीभन्दा पनि सुरक्षित तरिकाले सुल्झाउनु पर्ने सुझाव दिएका थिए ।  

कार्यक्रममा सहभागी प्राध्यापकले नाकाबन्दीसम्बन्धी समस्या कूटनीतिक तवरबाट तत्काल समाधानका लागि नेपाल सरकार र राष्ट्रिय अन्तर्राष्ट्रिय अन्य निकायलाई पनि आग्रह गर्ने निर्णय गरेको प्रजातन्त्रवादी प्राध्यापक सङ्घका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिए ।  

(रासस) 

 

प्रतिक्रिया