Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

सर्वहारा शिक्षा मन्त्री !

मंगलबार, १७ कार्तिक २०७२

काठमाडौं १७ कात्तिक / शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो नाममा एक टुक्रा पनि जमिन नभएको विवरण बुझाएका छन् । अविवाहित मन्त्री सामुहिक आधारशिला परिवारमा बस्छन् ।
मन्त्री भएपछि आफ्नो सम्पत्ति विवरण बुझाउने प्रचलन अनुसार उनले सोमबार प्रधानमन्त्री कार्यालयमा आफ्नो विवरण बुझाएका हुन् ।

उनले बुझाएको विवरणमा आफ्नो नाममा २ लाख ६६ हजार ५ सय ८८ रुपैंया एभरेष्ट बैंकको खातामा रहेको उल्लेख छ । उक्त रकम संविधान सभा सदस्य तथा पार्टिको प्रमुख सचेतकका रुपमा प्राप्त तलब भएको उल्लेख छ । यस्तै खोटाङ्बाट प्रशारण हुँदैं आएको रुपाकोट एफएम मा ५ हजार रुपैंयाको शेयर, २ वटा ल्यापटप, एउटा डेक्सटप कम्युटर, एउटा भिडियो र एउटा डिजीटल क्यामेरा र केही फर्निचर रहेको उल्लेख छ । ती मध्ये एउटा ल्यापटप संसद सचिवालयले दिएको उल्लेख छ । फर्निचरमा सोफा सेट लगायतका सामान भएको उल्लेख छ ।

यसैगरी आफू जन एकता साप्ताहिकको प्रकाशक तथा सम्पादक हुँदा उक्त संस्थाको नाममा रहेको १३ हजार ९ सय ९३ रुपैंया ८० पैसा नेपाल बंगलादेश बैंकको खातामा रहेको उल्लेख छ ।  
जन्म जिल्ला खोटाङ् खार्पाको उनको पैत्रिक सम्पत्ति आमाको नाममा स्थापित कनककुमारी स्मृत्ति प्रतिष्ठानलाई दिईसकेका थिए । २ कित्ता पाखोबारी उनले बाबु चन्द्रमणि पोखरेलको नाममा थियो ।
परिवारका विद्यालय पढ्ने उमेरका सदस्य सामूदायिक विद्यालयमा पढ्ने र कलेज पढ्ने उमेरका सदस्य काठमाण्डुमा आफ्नो संरक्षणमा रहेको उनले बताए ।
पहिला सिराहमा रहेको सामूहिक परिवार अहिले महोत्तरीको गौरीडाडाँमा बस्दै आएको छ ।

मंगलबार ओयोजित पत्रकार सम्मेलन मार्फत उनले सम्पत्ति विवरण बुझाएको सार्वजनिक गरेका हुन् । नीजि सम्पत्ति राख्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेकोले भ्रष्टाचारको सन्दर्भमा शुन्य सहनशिलता अपनाउने उनले प्रतिबद्धता ब्यक्त गरे ।

मन्त्री हुनु अघि सम्पत्ति विवरण बुझाए पनि छाड्दा विवरण नबुझाउने पूर्व मन्त्रीकै जस्तो ब्यवहार त गर्नु हुन्न ? भन्ने पत्रकारको प्रश्नमा उनले भने म 'मन्त्री पदबाट निस्कदाँको विवरण पनि तपाईहरुकै अगाडि सार्वजनिक गर्छु ।'

प्रतिक्रिया