Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

इलामका गाउँकै विद्यालयमा कम्प्युटर इञ्जिनियरिङको पढाइ सुरु

मंगलबार, १७ कार्तिक २०७२

इलाम, १७ कात्तिक । इलामको बरबोटेस्थित अमर उच्चमाध्यमिक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङको अध्यापन सुरु भएको छ ।  नयाँ शैक्षिकसत्रदेखि कक्षा ११ र १२ मा प्राविधिक धारअन्तर्गत कम्प्युटर इञ्जिनियरिङको अध्यापन सुरु भएको हो ।  कक्षा ९ र १० मा कम्प्युटर विज्ञान लिएर अध्ययन गरेका विद्यार्थीले मात्र कक्षा ११ मा इञ्जिनियरिङ अध्ययन गर्न पाउनेछन् । 

यस वर्षदेखि उच्चमावि तहको कक्षा ११ मा सुरु गरिएको र आगामी शैक्षिकसत्रदेखि कक्षा १२ मासमेत सुरु गरिने विद्यालयका प्राचार्य तुलाराम पुरीले बताए ।  एक हजार पूर्णाङ्कको पढाइ हुने इञ्जिनियरिङमध्ये २०० पूर्णाङ्कको कम्प्युटर, फिजिक्स, क्यामेस्ट्री, अङ्ग्रेजी र गणित १००÷१०० गरी ४०० तथा अन्य ४०० पूर्णाङ्कको अनिवार्य विषय अध्यापन गराइन्छ ।  

विसं २०७० मा कक्षा ९ देखि कम्प्युटर विज्ञान विषय अध्यापन सुरु गरिएको थियो । यसपाली कक्षा ११ मा इञ्जिनियरिङ अध्ययन गर्ने २१ जना विद्यार्थी छन् भने कक्षा ९ मा ३९ र कक्षा १० मा २० जनाले कम्प्युटर विज्ञान अध्ययन गरिरहेको प्राचार्य पुरीले जानकारी दिए ।   

गाउँकै विद्यालयमा कम्प्युटर विज्ञान र इञ्जिनियरिङको पढाइ हुनुले विद्यार्थीमा यसप्रतिको आकर्षण बढेको कक्षा–९ मा अध्ययरत अनुस्का शर्माले बताइन् ।   माध्यमिक तहमा कम्प्युटर विज्ञान पढ्न छिमेकी गाविस शान्तिडाँडा, जीतपुर, साँखेजुङ, सोयाङ, सुम्वेक, जमुनालगायतबाट विद्यार्थी आउन थालेका छन् । 

 

(रासस)

प्रतिक्रिया