Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

चितवनको वन क्याम्पसमा पीएचडीको पढाई सुरु

मंगलबार, १७ कार्तिक २०७२

चितवन, १७ कात्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालयले वन विज्ञान सङ्कायमा विद्यावारिधिको पढाइ सुरु गरेको छ ।   विसं २०६७ असार ३ गते स्थापना भएको विश्वविद्यालयले कृषि र भेटेनरीमा यसअघि नै विद्यावारिधिको पढाइ गर्दै आएको थियो ।  

विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका उपनिर्देशक डा बलराम भट्टका अनुसार वन क्याम्पस हेटौँडामा यसै शैक्षिकसत्रबाट वनमा विद्यावारिधिको पढाइ सुरु गरिएको हो ।  विश्वविद्यालय स्थापनासँगै दुई वर्षभित्र स्नातक, तीन वर्षभित्र स्नातकोत्तर र चार वर्षभित्र विद्यावारिधिको पढाइ थाल्ने लक्ष्यअनुरुप पढाइ थालिएको विश्वविद्यालयका रजिस्टार प्रा डा सूर्यकान्त घिमिरेले बताए । 

यसअघि हेटौँडामा रहेको त्रिभुवन विश्वविद्यालयको वन सङ्कायको डिनको कार्यालय पोखरा सारेपछि सो स्थानबाट क्याम्पस नै हट्ने हो कि भन्ने चिन्तामा रहेका मकवानपुरवासीका लागि विद्यावारिधिको समेत पढाइ सञ्चालन गरेपछि उत्साह थपेको स्थानीयवासीसमेत रहनुभएका उपनिर्देशक भट्टले बताए । 

स्नातक र स्नातकोत्तर अध्ययन गरेपछि नेपालमा धेरैले पढ्न नपाउँदा विद्यावारिधि गर्न अधिकांश बाह्य मुलुक जाने गरेका थिए ।   नेपाली भूमिमा नै रहेर विद्यावारिधि गर्दा गरिने अनुसन्धान व्यावहारिक हुने हुँदा पनि यस कार्यक्रमको महत्व बढिरहेको उपनिर्देशक भट्टको भनाइ छ ।  

विश्वविद्यालयले प्राध्यापक र विद्यार्थीलाई उपयोग गरी अनुसन्धान कार्यलाई पनि तीव्रता दिएको उनले बताए ।  सो विश्वविद्यालयले वनतर्फ वन तथा वातावरण विज्ञान र जैविक विविधतासम्बन्धी विषयको पढाइका लागि तीव्र रुपमा तयारी गरिरहेको जानकारी रजिस्टार घिमिरेले दिए ।  

हेटौँडास्थित वन क्याम्पसमा कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय दुवैले विद्यार्थी भर्ना लिएर पढाइ गरिरहेकाले दुई विश्वविद्यालयमा पढाउने प्राध्यापक, कर्मचारी र विद्यार्थीका बीच पटक पटक समस्या देखिँदै आएको छ । 

त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण नगर्दा स्थापनाकालदेखि दुई विश्वविद्यालयका बीचमा बेमेल हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयले चितवनको रामपुरमा कृषि र भेटेनरीमा विद्यार्थी भर्ना गर्न छाडे पनि हेटौँडा वन क्याम्पसमा विद्यार्थी भर्ना गराउँदै आएको छ । 

(रासस) 

 

प्रतिक्रिया