Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

आयोग उत्तीर्ण शिक्षकको नियुक्तिमा ढिलाई

सोमबार, १६ कार्तिक २०७२

काठमाडौ १६ कात्तिक / शिक्षक सेवा आयोग उत्तीर्ण माध्यामिक तहका शिक्षकहरुको सिफारिस भएको दुई हप्ता वितिसक्दा पनि शिक्षा विभागले उनीहरुको पदस्थापना गर्न सकेको छैन । यो ढिलाईले गर्दा पदस्थापनाको पर्खाइमा रहेका आयोग उत्तीर्ण शिक्षकहरु अन्यौलमा परेका छन् । आयोगले गत १ गते नै उत्तीर्ण उम्मेद्वारहरुको सिफारिस गरेको थियो ।

योग्य उम्मेद्वारहरुको छनौट गरी सिफारिस गरेकोले नियुक्तिको काम आफ्नो क्षेत्रमा नपर्ने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । 'नियुक्तिको काम विभागको दायित्व भित्र पर्ने भएकोले के हुँदैछ भन्ने हामीलाई जानकारी भएन' उनले भने । आयोगले लिखित र मौखिक परिक्षा लिई योग्य भएका शिक्षकहरुलाई नियुक्तिको सिफारिस गर्ने प्रावधान छ । उक्त सिफारिसका आधारमा विभागले आवश्यक ठाउँमा पदस्थापना गर्ने छ ।

विचमा दशैं विदा परेकाले अलिकति समय लागे पनि ढिलो नभएको र सिफारिस अनुसार काम अघि बढेको विभागका निर्देशक खगेन्द्र नेपालले दावी गरे । 'पोष्टिङको प्रक्रिया यसै हप्ताबाट शुरु गर्न लागेका छौं, रिजल्ट आइसकेको छ, आयोगले पनि सिफारिस गरिसकेको छ, अब आज भोली नै शुरु हुन्छ' एडुखबरसंग कुराकानी गर्दै उनले भने 'सकेसम्म भोली (मंगलबार) नभए पर्सी  (बुधबार) बाट शुरु भई एक महिना सम्ममा पोष्टिङ सकिन्छ ।'

लामो समय सम्म आयोग नखुलेर योग्य शिक्षक कक्षा कोठामा प्रवेश नपाउँदा त्यसको प्रभाव विद्यार्थीका सिकाईमा पर्दै आएको छ । कतिपय विद्यालयमा अहिले पनि आवश्यक शिक्षक नहुँदा पठनपाठन व्यवस्थापनमा समस्या र शैक्षिक सत्रमै पाठ्यक्रम सकिन मुश्किल परिरहेको छ । यस्तो अवस्थामा विभागले छिटो प्रक्रिया शुरु गरी पदस्थापन गर्दा विद्यार्थीका पठनपाठनमा सघाउ पुग्ने आशा गरिएको छ ।

माध्यामिक तहका करिव १३ सय नयाँ शिक्षक नियुक्ति गर्न आयोगले गत असार २५ गते लिखित परीक्षा लिएको थियो । उक्त परीक्षा पास गरेका उम्मेद्वारहरुको अन्र्तवार्ता गत असोज ८ र ९ गते भएको थियो ।

निम्न माध्यामिक तहको शिक्षकका लागि हुने अन्र्तवार्ता भने कात्तिक २० गतेबाट हुने छ ।

प्रतिक्रिया