धनको के कुरा । मनको पो हो कुरा । मन मिलेपछि वन पनि मिल्छ । तन पनि मिल्छ । जनमा भिज्न यसपटक सिकाइको नयाँ कुरो ल्याइयो । सिकाइमा सिर्जना भिजाइयो । * भिगोत्स्कीको बाँसुरी बजाइयो ।
सिकाइ दिमागको चक्कर हो । जति घुम्दै गयो उति मात लाग्छ । जति चुम्दै गयो उति बात लाग्छ । रात गएर के भयो र ? साथ भएपछि स्वाद आउने नै भयो । माया पाउने नै भयो । हामी समाजका ऐना । समाज जस्तो छ हामी त्यस्तै हुन्छौँ । शिक्षा पनि त्यही समाजको लागि न हो । त्यसैले सामाजिक रुपान्तरण सिकाइ हो । रचनावादले खोजेको । समाजले रोजेको । बालकले चालक हुन समाजसँग अन्र्तक्रिया गर्छ । सामाजिक वातावरणमा चर्छ । ज्ञानको सागर तर्छ । साथीसङ्गतमा संवाद गर्छ । विवाद र तर्कको आडमा ऊ ज्ञान बलियो बनाउन थाल्छ । विद्यालय त सामाजिक सांस्कृतिक रचना गर्ने ठाउँ न हुन् । त्यसैले समाज विद्यालय हो । विद्यालय सानो समाज हो ।
सिकाइ अन्र्तक्रियात्मक हुन्छ । भाषा समाजबाट सिकिन्छ । अनि बानी पनि समाजबाट सिकिन्छ । प्रत्येक मान्छेको व्यवहार समाजको व्यवहार पनि हो । यही व्यवहारबाट ऊ कस्तो समाजमा हुर्केछ भन्ने सिकिन्छ ।
समाजमा पाइने औँजार पढाइ, लेखाइ हुन् । सिकाइको संसार सफल हुन्छ । उसलाई समाजले छुन्छ । सिकाइमा गणितले पनि ग्रहदशा बलियो बनाउँछ । जीवनको मार्ग फराकिलो पार्छ । यसैले त पढाइ, लेखाइ र गणित आधारभूत उद्देश्य हो । भिगोत्स्कीको रचनावादी सिकाइले पनि खोजेको हो ।
हाम्रो ज्ञान संस्कृतिको उपज हो । जति समृद्ध संस्कृति हुन्छ त्यति उच्च ज्ञान हुन्छ । त्यसले जीवनका नशा नशा छुन्छ । शिक्षक मूर्ति होइन । निस्कृय पनि हुँदैन । ऊ त आवश्यकताको पूर्तिकर्ता हो । उसले बालकको आवश्यकता पुरा गराउनुपर्छ । छुरा जस्तो धारिलो दिमाग बनाइदिनुपर्छ । तब त शिक्षक रचनावादी सिकाइमा सकृय रहन्छ ।
सिकाइ खोज हो । कोलम्बसले अमेरिका खोजेको जस्तो । आइन्सटाइनले सापेक्षतावाद रोजेको जस्तो । न्युटनले गुरुत्वाकर्षण नियम ल्याएको जस्तो । सिकाइ मोज पनि हो । सिकाइको पहाडमा चढे पछि सबैले यता आइज न है भनेर काखी च्याप्छन् । खोजेको कुरा खान पाएपछि मोज भएन र ! गरिबीमा जन्मनु पाप होइन । गरिबीमा मर्नु चाहिँ पाप हो । तसर्थ सिकेर सम्पन्न भएपछि सुखी भइन्छ नै ।
सिकाइ रोज पनि त हो । रोजीछाडी खान सिकाइले दिन्छ । बिना सिकाइको जीवनले शान्ति दिँदैन । हान्ती मात्र दिन्छ । सिकेको ज्ञानले रोजाइलाई पोटिलो बनाउँछ । मन परेको रोज्ने । मन नपरेको फ्याँक्ने ।
सिकाइमा समालोचनात्मक चिन्तन चाहिन्छ । राम्रो के ? नराम्रो के ? गुण के ? दोष के ? सही र गलत छुट्याउन सक्नु समालोचना हो । नराम्रोलाई नराम्रो भन्न नसक्नेहरूले सिकेर आएका होइनन् । ती त मुखिया बाले पालेका भोटे कुकुरहरू हुन् ।
राजनीतिक अन्धोवाद भन्दा माथि उठेर सिकाइले सत्यको परख गर्नुपर्छ । चाहेको ज्ञान लिन ध्यान जरुरी छ । व्यवहारमा सामान्यीकरण गर्दै अघि बढ्नु सिकाइको चिन्तनमुखी कार्य हो । सिकाइ शून्यबाट सुरु हुँदैन । भ्याकुम अर्थात् शून्य संसारमा छैन । समाजमा त हुने कुरै भएन । वंशाणुगत गुण र वातावरणबाट सिकाइ निर्देशित हुन्छ । वातावरणको पाटो संस्कृति हो । भिगोत्स्कीको रचनावादको सिकाइ यही हो ।
रचनावादको पहिलो खुड्किलो हो अर्थ निर्माण । अर्थ न बर्थ गोविन्द गाई । अर्थ नजाने अर्थहीन बाँचिन्छ । अर्थको घेरामा समाज आउँछ । समाजले लगाएको अर्थ सिकाइमा आउँछ । मनमा छाउँछ । यही अर्थ बनाउन वातावरण चाहिन्छ ।
विद्यालय अर्थ निर्माण गर्ने थलो हो । विद्यालयले अक्षरबाट अर्थ निकाल्ने होइन । कार्यबाट अर्थ निकाल्ने हो । कार्य व्यवहारिक सिकाइ हो । भाषा अर्थको साधन हो । कक्षामा बोलिने भाषा बुझिने हुनुपर्छ । तिनले मन छुनुपर्छ । भाषाको सागरमा संसार चलेको छ । जो जति भाषा चलाउन सिपालु छ ऊ उति नै माथि पुगेको छ । भाषा बेचेर बेलायतीहरू सम्पन्न भए ।
संज्ञान क्षेत्रको विकासलाई रचनावादले महत्व दिएको छ । संज्ञान या ज्ञानको क्षेत्रमा फैलन पनि संस्कृतिसँग साक्षात्कार गर्नुपर्छ । रामायण र महाभारत पढ्नु संस्कृति पढ्नु जस्तै हो । संस्कृतिलाई सम्पन्न पार्ने पनि भाषा नै हो । अग्रजहरूको नासो हो सिकाइ । पुर्खाले हुर्काएको ज्ञान बाझिँदै, माझिँदै यहाँसम्म आएको छ ।
सिकाइको निर्माण आफैँले गर्नुपर्छ । खाना कसरी पकाइन्छ भनेर पढेर काम छैन । खाना बनाएरै खानु सिकाइ ठहरिन्छ । सिक्ने क्रममा सहयोग लिनुपर्ने हुन्छ । घर परिवार, अग्रज, साथीभाइबाट हामी सहयोग पाएर सिक्छौँ । तर कतिपय कुरा कहिल्यै सिक्न सक्दैनौँ । तिनले जीवनलाई नराम्ररी झापड हानिरहन्छ । तिनको कुटाइले जीवनलाई खल्बल्याउन सक्छ ।
रचनावादमा आएको अर्को कुरा स्काफफोल्डिङ हो । यो सिकाइको भर्याङ हो । चढ्ने माथि पुग्छ । नचढ्ने पुग्दैन । स्काफफोल्डिङको कुरो गर्दा सिकारुलाई निरासाबाट जोगाउनुपर्छ । गुरु जहिल्यै नमुना बनेर प्रस्तुत हुनुपर्छ । सिकाइले जहिल्यै सिकारुको मन छुनुपर्छ । कक्षाकोठामा चाखलाग्दो वातावरण निर्माण गर्नु शिक्षकको काम हो । सकृय सिकाइका औँजार प्रयोग गरेर सिकाइ सञ्चालन गर्नुपर्छ । सिकाइमा सरलता बिक्छ । बोलीमा सरलता । व्यवहारमा सरलता । कार्यमा सरलता । मूल्याङ्कनमा सरलता । सरल सिकाइका लागि पूर्ण विषयवस्तु प्रस्तुत गर्नुपर्छ । तिनलाई टुक्रा पारेर हेर्नुपर्छ । स्काफफोल्डिङको गाँठी कुरो यही हो । रचनावादी सिकाइको चुरो यही हो ।
यो रचनावादले बालकलाई राम्ररी ज्ञान रचना निर्माण गर्न लगाउँछ । सिकाइ वातावरण निर्माण गर्न सघाउँछ । सिक्ने कौतुहलता जगाउँछ ।
कण्टेक्स्टमा टेक्स्ट जोड्ने हो । अरू सब छोड्ने हो । ठाउँ अनुसारको सिकाइ । मान्छे अनुसारको सिकाइ । बुद्धि अनुसारको सिकाइ । उमेर अनुसारको सिकाइ । भिगोत्स्कीको रचनावादले यही देखाउँछ । अनि बालकको विविधतालाई जोखाउँछ । संस्कृतिलाई समाजमा जोगाउँछ । भाषा, संस्कृति र अग्रजलाई आदर्श मानेर व्यवहारिक सिकाइ भोगाउँछ ।
*शिक्षण सिकाइ तथा समाजशास्त्रका विद्वान
बिगु – ८, खोपाचागु, दोलखाका केसी माध्यमिक तहका शिक्षक हुन् ।
प्रतिक्रिया