Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बन्द तराईका विद्यालय खुलाउन छलफल शुरु 

आइतबार, १५ कार्तिक २०७२

काठमाडौँ, १६ कात्तिक । विगत झन्डै तीन महिनादेखि तराई–मधेसमा भइरहेको आन्दोलनका कारण ठप्प रहेका विद्यालय सञ्चालनका लागी शिक्षामन्त्री गिरिराजमणि पोखरेलले छलफल थालेका छन् ।  पहिलो चरणमा विभिन्न विद्यार्थी सङ्गठनसँग आइतबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पोखरेलले सो बारेमा छलफल शुरु गर्दै बन्द विद्यालय खुलाउन पहल थालेका हुन् । 

छलफलपछि उनले मधेसकेन्द्रित दलका नेतासँग विद्यालय खोल्न आग्रह गरेको र विद्यार्थी सङ्गठनले पनि सहयोगी भूमिका निर्वाह गर्ने बचन दिएका बताए ।  नयाँ संविधानमा सङ्घीयतालगायतका सवालमा विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विगत ३ महिना देखि शान्तिपूर्ण र हिंसात्मक आन्दोलन गर्दै आइरहेको छ।  

मन्त्री पोखरेलले संविधानमा कतिपय असन्तोष देखिए पनि शिक्षालाई अधिकारमुखी बनाउनुपर्नेमा कसैको विवाद नभएकाले शैक्षिक अधिकारको कार्यान्वयन र समग्र सुधारबारे आफूले चाँडै मार्गचित्र सार्वजनिक गर्ने दाबी समेत गरेका छन् । 

छलफलमा अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल, नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछाने, अनेरास्ववियु (क्रान्तिकारी) का संयोजक रमेश मल्ल लगायतको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा विद्यार्थी नेताहरुले यसअघि भएका सम्झौता कार्यान्वयन गर्न तथा सामुदायिक विद्यालयको स्तर बढाउन माग गरेका थिए ।

(रासस)

 

प्रतिक्रिया