Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

एउटा कक्षालाई २० क्यू फिट काठ

आइतबार, १५ कार्तिक २०७२

काठमाडौं १५ कात्तिक / सरकारले भूकम्पका कारण भत्केका विद्यालय भवन निर्माण गर्न एउटा कक्षालाई २० क्यू फिट काठ उपलब्ध गराउने तयारी गरेको छ ।

वन मन्त्रालयले पूर्ण क्षति भएको विद्यालयको कक्षाकोठा  निर्माण गर्न प्रतिकक्षा कोठा २० क्यू फिट र आशिंक क्षति भएको कक्षा कोठा निर्माण गर्न १० क्यू फिट काठ आवश्यक पर्ने प्रस्ताव अघि बढाएको छ । भूकम्पले ५९ जिल्लाका २२ हजार चार सय एक कक्षा कोठा पूर्ण रुपमा क्षति भएको छ ।

यो तथ्याङक अनुसार चार लाख ४८ हजार २० क्यू फिट आवश्यक पर्छ । त्यस्तै १८ हजार ९ सय ४२ कक्षा कोठा आशिंक रुपमा क्षति भएका छन् । प्रति कक्षा कोठा १० क्यू फिटको दरले दिने हो भने यसका लागि एक लाख ८९ हजार चार सय क्यू फिट काठ चाहिन्छ ।

भूकम्पले १२ जिल्लाका शिक्षा कार्यालय पनि क्षति भएको छ । वन मन्त्रालयले पूर्ण क्षति भएको एउटा भवनको लागि सय क्यू फिट काठ उपलब्ध गराउने कार्यविधि बनाएको छ ।
 
बजार क्षेत्रमा काठको विकल्पका रुपमा फलाम प्रयोग गर्ने भएकोले कम प्रयोग हुन सक्ने वन मन्त्रालयको अनुमान छ । 

भूकम्प पीडितलाई सहज र सरल तरिकाले काठ आपूर्तिका लागि बनाइएको कार्यविधि वन मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ । कार्यविधि केही अघि वन विभागले मन्त्रालयमा बुझाएको थियो । यो पास भए विद्यालयले आप्mनो जिल्लाबाट सहज र सरल तरिकाले काठ पाउनेछन् । 'कार्यविधि पास भए सहज र सरल तरिकाले काठ वितरणमा सहयोग पुग्ने छ' कार्यविधि तयार गर्ने कार्यदलका संयोजक तथा वन विभागको सामुदायिक वन महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद पोखरेलले भने, 'कार्यविधिमा सामुदायिक वनबाट काठ उत्पादन गरी वितरण गर्ने उल्लेख छ ।'

महाशाखा प्रमुख पोखरेल नेतृत्वको कार्यदलले सरकारद्वारा व्यवस्थित सरकारी, सामुदायिक र साझेदारी वनबाट आवश्यक काठ उत्पादन गरी वितरण गर्ने गरी कार्यविधि तयार गरेको थियो । भूकम्पबाट प्रभावित ४० जिल्लामा क्षतिग्रस्त निजी घर, सरकारी भवन, स्कुलका कक्षा कोठा र मठ मन्दिर पुनर्निर्माण गर्न ५ करोड १८ लाख २४ हजार १ सय २२ क्यू फिट काठ आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया