Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बेवारिसे बन्दै स्ववियु

आइतबार, १५ कार्तिक २०७२

बेवारिसे बन्दै स्ववियु

काठमाडौं १५ कात्तिक / त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा चुनाव हुन नसक्दा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बेवारिसे बन्दै गएका छन् ।

चुनावको टुंगो नभएको र उमेर हद लाग्ने वा नलाग्ने भन्ने अन्योलले दाबेदार अधिकांश विद्यार्थीसमेत क्याम्पस जान छाडेका छन् । स्ववियु कार्यालय रहे पनि चहलपहल भने छैन । क्याम्पसमा केही विद्यार्थी संगठन सक्रिय भए पनि आधिकारिक संगठन नहुँदा विद्यार्थी र प्रशासनलाई समेत अप्ठेरो भएको छ ।

अघिल्लो वर्ष सर्वोच्चको निर्णयले स्ववियुहरू निष्क्रिय भएपछि नयाँ विद्यार्थीलाई भने कुनै वास्ता हुने गरेको छैन । त्रिविका केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणाली लागू भएपछि स्ववियुको समेत बेवास्ता हुन थालेको छ । ८ वैशाख ०७२ मा सर्वोच्च अदालतले तीन महिनामा स्ववियु चुनाव गर्न आदेश दिएको थियो । तर, त्रिविले स्ववियु चुनाव गराउन भने सकेन । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले स्ववियु चुनाव गराउने पक्षमै रहेको बताए । दसैँ–तिहारको बिदापछि विद्यार्थी संगठनहरूसँग छलफल गर्ने र उपयुक्त समय तोक्ने उनको भनाइ छ ।

विगतमा भएका निर्णय र सहमतिका आधारमा छलफल गरी मिति तय गरिने उनले बताए । विद्यार्थी संगठनले मिश्रित प्रणालीमा स्ववियु चुनाव गर्न सहमति दिएपछि त्रिविको स्ववियुसम्बन्धी नियम संशोधन भइसकेको छ । यसअघि ६ चैत ०६५ मा स्ववियु निर्वाचन भएको थियो । दुईवर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिको म्याद सकिएपछि पनि त्रिभुवन विश्वविद्यालयले म्याद थप्यो । तर, म्याद थप सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ४ चैत ०६७ मा त्रिविको निर्णय खारेज गरिदियो ।

निर्वाचनको म्यान्डेटअनुसार कार्यकाल सकिएको अवस्थामा म्याद थप गरी काम गर्न दिनु अलोकतान्त्रिक भन्दै सर्वोच्चले स्ववियुका तत्कालीन कार्यसमितिलाई कुनै काम–कारबाही गर्न नदिन ८ भदौ ०७१ म अन्तरिम आदेश जारी गरेको थियो । तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले त्यस्तो आदेश जारी गरेको हो ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया