Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

आगामी वर्ष पनि पाठ्यपुस्तक अभाव हुने

शनिबार, १४ कार्तिक २०७२

काठमाडौं १४ कात्तिक / विद्यालय तहका विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि विद्यालय भर्ना भएसँगै पुस्तक नपाउने भएका छन्।

विद्यालय तहको पुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक छाप्न नसकेपछि पुस्तक अभाव हुने भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड स्रोतका अनुसार कार्यालयमा रहेको मेसिनबाट गत असार १३ गतेदेखि पुस्तक छपाइ रोकिएको छ।

पुस्तक छपाइका लागि कागज अभाव भएका कारण कार्यालयभित्र रहेका मेसिन अहिले पूर्ण रूपमा बन्द भएका छन्। प्रशासन निर्देशनालयका निर्देशक कपिल पोखरेलका अनुसार कार्यालयका केन्द्र र क्षेत्रीय कार्यालयमा रहेका चार सय पचास कर्मचारीसमेत काम नपाउँदा हात बाँधेर बस्न बाध्य छन्।

उनका अनुसार कागज खरिदका लागि सम्झौता गरेका कम्पनीसँग मूल्यका विषयमा कुरा नमिल्दा कागज खरिद गर्न सकिएको छैन। ‘२ सय टनजति कागज जनकको गोदाममा आइपुगेको छ। तर ती कागजको हिसाबकिताब नमिल्दा जनकले प्रयोग गर्न सकेको छैन’, पोखरेलले भने, ‘कागज उत्पादन गर्ने कम्पनीले महँगो मूल्य भनेकाले कागज किन्न सकिएको छैन जसका कारण कर्मचारी हात बाँधेर बस्न बाध्य छन्। मेसिन त्यत्तिकै थन्किएका छन्।’

जनक शिक्षा सामग्री केन्द्रले आउने शैक्षिक सत्रदेखि कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ। कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीलाई पुस्तक छपाइको जिम्मेवारी भने निजी मुद्रण संस्थालाई दिइएको छ। कक्षा ६ देखि १० सम्मका करिब ६ लाख विद्यार्थीका लागि जनकले पुस्तक छाप्नुपर्ने हुन्छ।

पोखरेलका अनुसार ती सबै विद्यार्थीका लागि दुई करोड थान पुस्तक छाप्नुपर्ने हुन्छ । जनकले समयमै पुस्तक छाप्न नसकेपछि त्यसको वितरणको जिम्मा पाएको साझा प्रकाशनको दैनिक कार्य पनि प्रभावित बनेको छ।

साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले भने, ‘इन्धन अभावका कारण साझा प्रकाशन आफैं पनि प्रभावित बनेको छ। समयमा पुस्तक छपाइ गर्न नसकेपछि साझा प्रकाशनको जिम्मेवारी पनि प्रभावित बनेको छ।’

कक्षा पाँचसम्मका विद्यार्थीका पुस्तक छपाइको जिम्मा भने शिक्षा मन्त्रालयले निजी मुद्रण संस्थालाई दिएको छ। इन्धन अभावका कारण निजी मुद्रण संस्थाको छपाइ पनि प्रभावित भएको छ। अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पुस्तक छपाइका लागि सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए। विगतमा पनि विद्यार्थीले शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पुस्तक अभावको समस्या बेहोरेका थिए।

अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया