Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भूकम्प र तराई अान्दाेलनले लाखौं बालबालिकाको भविष्य अन्योलमा : यूनिसेफ

शुक्रबार, १३ कार्तिक २०७२

काठमाडौं १३ कात्तिक / भूकम्प र त्यसपछि तराईमा उत्पन्न असहज परिस्थितिले नेपालका लाखौं बालबालिकाको भविष्य जोखिममा परेको भन्दै संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

राष्ट्रसंघको बालबालिका हेर्ने निकाय युनिसेफले ‘बालबालिका शान्ति क्षेत्र स्थापना’ मा जोड दिँदै अहिले उनीहरू पठनपाठनबाट वञ्चित भएकोप्रति चिन्ता व्यक्त गरेको हो। विशेष गरी तराई र भूकम्पबाट अति प्रभावित मध्य तथा मध्यपूर्वी पहाडी जिल्लाका बालबालिका प्रभावित भएको युनिसेफले जनाएको छ।

तराई–मधेस आन्दोलनको असर देशभर परेको छ। इन्धन नहुँदा आन्दोलन नभएका जिल्लामा समेत विद्यालय सञ्चालन हुुन सकेका छैनन्। युनिसेफका नेपाल प्रतिनिधि टोमो होजिनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थाको सिधासिधा असर बालबालिकाको शिक्षाको पहुँचमा परेको छ। भूकम्पपछि अहिलेसम्मका ६ महिनामा विद्यालयहरू झन्डै आधा अवधि मात्र खुलेको अवस्थामा अहिलेको अवस्थाले पूर्वी तराई र अन्य क्षेत्रका बालबालिकामा बढी प्रभाव परेको हो।’

विद्यालयहरू बन्द भएका कारण मध्य तथा पूर्वी तराई र भित्री मधेसका नौ जिल्लामा मात्र पछिल्लो दुई महिनामा १६ लाखभन्दा बढी बालबालिका नियमित पठनपाठनबाट वञ्चित भएको युनिसेफले उल्लेख गरेको छ। पछिल्लो ६ महिनामा पर्सा जिल्लाका विद्यालयहरू निर्धारित एक सय २२ दिनमध्ये जम्मा पाँच दिन मात्र खुलेको समेत उसले स्पष्ट पारेको छ।

‘संसारका अन्य मुलुकका अनुभवले लामो समयसम्म विद्यालय नजाँदा बालबालिका विद्यालयमा नफर्किने र अन्तत: उनीहरूले सदाका लागि पढाइ छाड्ने उच्च जोखिम हुन्छ,’ युनिसेफले भनेको छ। अहिलेको अवस्थाका कारण तराईका धेरै विद्यालयले गोप्य तरिकाले एकाबिहानै कक्षा सञ्चालन गर्ने प्रयास गरिरहेको र नचिनिनका लागि विद्यालय पोसाकबिना बालबालिका विद्यालय जाने गरेको भन्दै लुकेर अध्ययन गर्नुपर्ने अवस्था दु:खद् रहेको विज्ञप्तिमा उल्लेख छ।

‘अवस्था, कारण र पृष्ठभूमि जस्तोसुकै भए पनि सबै बालबालिकाका आफ्नै अधिकार छन् र त्यस अधिकारलाई वयष्कहरूले उल्लंघन गर्न मिल्दैन,’ युनिसेफले भनेको छ, ‘ती अधिकारमध्ये शिक्षाको अधिकार सबैभन्दा महत्त्वपूर्ण अधिकार हो।’ बालबालिकालाई शान्तिक्षेत्रका रूपमा गम्भीरतापूर्वक लिनुपर्ने आग्रहलाई युनिसेफले पुन: दोहोर्‍याएको छ, ‘बालबालिका राजनीतिक तनाव, अशान्त र द्वन्द्वको अवस्थाबाट मुक्त हुन आवश्यक छ।’

कान्तिपुरमा  खबर छ ।

प्रतिक्रिया