Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अनिश्चितकालका लागि विद्यालय बन्द

शुक्रबार, १३ कार्तिक २०७२

काठमाडौं १३ कात्तिक / बाराको कलैयामा बिहीबार आन्दोलनरत मोर्चा, निजी विद्यालयका सञ्चालक तथा शिक्षक सङ्गठनहरूबीच भएको त्रिपक्षीय वार्तापछि शुक्रबारदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने सहमति भएको छ ।

बारा जिल्लामा विगतमा विद्यालय सञ्चालनमा आउँदा आन्दोलन प्रभावित भएको भन्दै मोर्चाले विद्यालय बन्द गर्न गरेको आग्रहलाई शिक्षक सङ्गठनहरूले समर्थन गरेपछि भोलीबाट बाराका विद्यालय फेरि बन्द हुने भएका छन् ।

नेपाल शिक्षक युनियन महासङ्घका जिल्ला अध्यक्ष भरत साह, एन प्याब्सनका चन्द्रिकाप्रसाद गुप्ता, मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य प्रमोद गुप्ता, जिल्ला प्रवक्ता अरुणकुमार सिंह, पूर्व युनियनका अध्यक्ष देवेन्द्र प्रसाद गिरी लगायतको सहभागितामा कलैयामा सम्पन्न वार्ताबाट भोलीदेखि निजी तथा सरकारी विद्यालय बन्द गर्ने सहमति भएको महासङ्घका जिल्ला अध्यक्ष भरत साहले जानकारी गराउनुभयो ।

आउँदो सोमबार जिल्लाभरिका शिक्षक र निजी विद्यालयका शिक्षक सम्मिलित टोली वीरगञ्ज रक्सौलबीचको मितेरी पुलमा गई मोर्चाले जारी राखेको नाकाबन्दीमा समर्थनसहित ऐक्यवद्धता जनाउनेसमेत साहले जानकारी दिनुभएको छ ।

यसैबीच मधेश आन्दोलनको बहानामा शिक्षकहरूले विद्यालय बन्द गरी विद्यार्थीको भविष्य चौपट गरेकोमा अभिभावकहरूले निजी विद्यालय सञ्चालक तथा सामुदायिक विद्यालयका शिक्षकहरूप्रति आक्रोश व्यक्त गरेका गञ्जभवानीपुर निवासी बाबुलाल महतोले बताउनुभयो ।

तराईका शिक्षकहरूका छोराछोरी बाहिर पढ्ने गरेको भन्दै आफ्ना सन्ततिको भविष्य खराब हुने भएकाले विद्यालय बन्द नगरी पढाई सञ्चालन गर्न सबै अभिभावकले एक जुट भई सम्बन्धित निकायलाई दबाब दिन महतोले आग्रह गरेको हो ।
गोरखापत्रमा खबर छ

प्रतिक्रिया