Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

तराई बन्द र नाकाबन्दीका कारण शैक्षिक सत्र नै सर्ने खतरा

शुक्रबार, १३ कार्तिक २०७२

काठमाडौं १३ कात्तिक / शैक्षिक सत्रको सुरुवातसँगै विनाशकारी भूकम्पका कारण पढाइमा अवरोध खेपेको शैक्षिक क्षेत्र भारतको अघोषित नाकाबन्दीले झनै ध्वस्त पारेको छ । महिनौँसम्म पढाइ अवरुद्ध हुँदा शैक्षिक क्यालेन्डर प्रभावित भएको छ भने शैक्षिक सत्र नै सार्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

नाकाबन्दी र तराईको बन्दका कारण विद्यालयदेखि विश्वविद्यालयसमेत प्रभावित भएका छन् । तराईका शैक्षिक संस्थामा साढे दुई महिनादेखि लाखौँ विद्यार्थी पढ्न पाएका छैनन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को गत भदौमा हुने परीक्षा रोकिएको छ भने त्रिभुवन विश्वविद्यालयले तराईका जिल्लामा परीक्षा नै स्थगित गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रक केशव बास्कोटाले भर्खरै सही बाटोमा आएको शैक्षिक क्यालेन्डर फेरि भत्किएको बताए । बन्दले परीक्षा स्थगित हुने र नाकाबन्दीले तेल अभाव भएपछि उत्तरपुस्तिका परीक्षणका लागि पूर्व–पश्चिम पठाउन नसकेपछि समयमै नतिजा निकाल्न नसक्ने बताए । ‘भूकम्पले एक महिना पछि पारेको थियो, नाकाबन्दी र आन्दोलनले झनै अस्तव्यस्त पार्‍यो,’ परीक्षा नियन्त्रक बास्कोटाले भने । इन्धन अभावले त्रिविले विद्यार्थीलाई दिने सुविधामा समेत समस्या परेको छ । त्रिविले तराईमा आन्दोलन भएका कारण स्नातक प्रथम वर्षको परीक्षा स्थगित गरेको थियो । स्थगित परीक्षा मंसिरमा गर्ने उसको तयारी छ ।

विद्यालय तहमा पनि त्यस्तै विकराल समस्या छ । नाकाबन्दीले तराई र उपत्यकाका विद्यालय बढी समस्यामा परेका छन् । पश्चिम तराईका विद्यालय बन्द भएको साढे दुई महिना हुन लागेको छ । उपत्यकामा नाकाबन्दीपछि प्रभाव बढ्दै गएर अहिले अधिकांश विद्यालय बन्दको अवस्थामा छन् । जसले गर्दा नजिकिएको एसएलसी दिने विद्यार्थी र अभिभावक तनावमा परेका छन् ।

तत्काल शैक्षिक संस्था खुल्ने सम्भावना नदेखिए पनि एसएलसी परीक्षा दिने विद्यार्थीका लागि अवरोध नगर्ने वातावरण बनाउन सरकार लागिपरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाइ छ । तराईका जिल्लामा पठन–पाठन सुचारु गराउने विषयमा छलफल भइरहेको शिक्षामन्त्री पोखरेलले बताए ।

उनले आन्दोलनकारी दलको नेतृत्वमा एसएलसी नबिग्रने ढंगले केही काम गर्न खोजिरहेको जानकारी दिए । अरू कक्षाका भन्दा आगामी चैतमा हुने एसएलसी परीक्षाको तयारी गर्न नपाएपछि विद्यार्थी र अभिभावकमा अन्योलको स्थिति सिर्जना भएको छ ।

तराईमा बन्दले शैक्षिक संस्था मारमा छन् भने उपत्यकालगायतका जिल्लामा इन्धन अभावले समस्याग्रस्त भएका छन् । राजधानीका नजिकैका विद्यालयमा धेरै समस्यामा नरहे पनि धेरै गाडी हुने र होस्टेलमा धेरै विद्यार्थी हुने शैक्षिक संस्था सञ्चालन हुने अवस्था छैन । अधिकांश विद्यालय तिहारसम्मका लागि बन्द भएका छन् । पूर्वीतराईभन्दा पश्चिमतराई क्षेत्रमा लामो समयदेखि पठन–पाठन अवरुद्ध छ ।

पेट्रोलियम पदार्थ तथा ग्यास अभावका कारण विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा पुगेका हुन् । कतिपय शैक्षिक संस्थाले घर गएका विद्यार्थीलाई एसएमएस गरेर तिहारपछि फर्कन सूचना जारी गरेका छन्् ।
प्याब्सन अध्यक्ष लक्ष्यबहादुर केसीले नाकाबन्दीले विद्यालय सञ्चालनमा ठूलो समस्या सिर्जना गरेको बताए । सरकारले इन्धन दिन नसकेपछि अधिकांश विद्यालय तिहारसम्मका लागि बन्द भएका छन् । तिहारअघिको ११ दिनको कक्षा सञ्चालन जाडो बिदामा मिलाउने उनीहरूले जनाएका छन् ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले अहिले विद्यालयदेखि विश्वविद्यालयसम्म ८० लाखको हाराहारीमा विद्यार्थी प्रभावित भएको बताए । भारतीय नाकाबन्दीका कारण विद्यार्थीमा आर्थिक र मानसिक रूपमा क्षति भएको भण्डारीको भनाइ छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया