Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षक बेष्ट नहुदाँ शिक्षामा रुपान्तरण हुन सकेन : शिक्षा मन्त्री पोखरेल

विहीबार, १२ कार्तिक २०७२

भक्तपुर १२ कात्तिक / शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको जगदेखि परिवर्तन गर्न चाहेको बताएका छन् । यसका लागि शिक्षा मन्त्रालयका कर्मचारीहरुको सहयोग आवश्यक रहेको बताए ।
'म मन्त्री बन्नको लागि मात्रै मन्त्री भएको होइन' शिक्षा विभागको बिफ्रिङमा पुगेका उनले भने, 'पार्टीबाट पनि जनताले अनुभूति हुने काम गर्न निर्देशन आएको छ । काम भएन भने जुनबेला पनि फिर्ता बोलाउन सक्छ ।'
शिक्षा क्षेत्रको जानकारी नभएकोले अहिले आफू विद्यार्थी जस्तै सिक्ने क्रममा रहेको उनले बताए । 'अहिले म विद्यार्थी जस्तै सिक्दै छु' उनले भने, 'मलाई ठिक ढंगले बुझाई दिनुस् ।'

उनले आफूलाई चुनौती देखाउन आग्रह गरे । चुनौती समाधान गर्न आफू मन्त्री भएको उनले बताए । आफन्त र माया गर्नेहरुले शिक्षा मन्त्रालयमा धेरै समस्या भएकोले नबन्न आग्रह गरेपनि समाधान गर्न आफूले शिक्षाको जिम्मेवारी लिएको उनले बताए । 'जसले चुनौती स्वीकार्छ, उसले समाधान गर्नुपर्छ' उनले भने ।

नया संविधानलाई अगाडि राखेर जनताले अनुभुती हुने परिवर्तन गर्नु पर्ने उनले बताए । तथ्याङक हेरेर मख्ख हुने भन्दा पनि गुणस्तरमा जोड दिनु पर्ने उनको तर्क थियो ।

शिक्षामा आवश्यक भन्दा बढी उपसचिव रहेको आफूले जानकारी पाएकोले समुचित व्यवस्थापन गर्ने उनले बताए । उटै जिल्लामा ७ जनासम्म उपसचिव रहेको जानकारी पाएको छु' उनले भने, 'यसले मोटिभेसन गर्दैन ।'

शिक्षकहरु राम्रो छनौट नभएपनि कर्मचारी उत्कृष्ठ भएकोले  शिक्षामा परिवर्तन गर्न सकिने पोखरेलले बताए । 'शिक्षक बेष्ट आउन नसक्दा रुपान्तरण हुन सकेन' उनले भने, 'ब्यूरोक्रेसीमा 'बेष्ट' हुनुहुन्छ । जागिर मात्रै खाने हो, भन्ने सोच नराखी मलाई मलाई प्रणालीमा हिड्न सिकाउनुस् ।'

आफू नतिजा र परिणाममा विश्वास गर्ने भएकोले यसमा सहयोग गर्न उनले आग्रह गरे ।

बिहीबार शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र, अनौपचारिक शिक्षा केन्द्र, शिक्षक सेवा आयोग लगायतले आफनो कार्यालयको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । उनको समय अभावले अन्य कार्यालयको जानकारी गराएका छैनन् । 

प्रतिक्रिया