Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

डाक्टरको परीक्षामा कडाइ

विहीबार, १२ कार्तिक २०७२

काठमाडौं १२ कात्तिक / एमबिबिएस र बिडिएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि प्रवेशपत्रमा औँठाछाप लगाउनुपर्ने भएको छ ।

नेपाल मेडिकल काउन्सिलले आगामी १२ मंसिरमा हुने एमबिबिएस र बिडिएस तहको लाइसेन्स परीक्षादेखि नै त्यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउने भएको हो । लाइसेन्स परीक्षामा कतिपय विद्यार्थी पटकपटक फेल हुने गरेको र त्यस्ता विद्यार्थीले नक्कली परीक्षार्थी खडा गर्न सक्ने सम्भावना रहेको भन्दै काउन्सिलले यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।

परीक्षाका वेला औँठाछाप अनिवार्य गर्न लागेको काउन्सिलले परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लाइसेन्स वितरण गर्ने वेलामा परीक्षाका वेला गरेको हस्ताक्षर, औँठाछाप र फोटो पुन: रुजु गरेर मात्र लाइसेन्स वितरण गर्नेछ ।
काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले परीक्षालाई मर्यादित र व्यवस्थित गर्न तथा गुणस्तर कायम गर्न यस्तो विधि सुरु गर्न लागिएको बताए । उनले एमबिबिएस तथा बिडिएस उत्तीर्ण गरेका डाक्टरलाई फारम भर्न वा अन्य काम गर्न काउन्सिल आउनुपर्ने झन्झट पनि अन्त्य गर्न लागिएको बताए ।

‘काउन्सिलले लाइसेन्स परीक्षाको फारम भर्नेदेखि प्रवेशपत्र लिनेसम्मको सम्पूर्ण काम अनलाइनबाट हुने व्यवस्था मिलाएको छ । परीक्षार्थीलाई परीक्षा केन्द्र र कक्षाकोठासमेत अनलाइनमार्फत नै जानकारी हुन्छ ।
‘फारमका लागि बैंकको ई–सेवामार्फत फारम शुल्क बुझाएपछि फारम डाउनलोड गर्न सकिने र फारम अपलोड गरेपछि प्रवेशपत्र लिन मिल्ने र त्यसमा हस्ताक्षरसहित औँठाछाप लगाउनुपर्ने व्यवस्था गर्न लागिएको छ,’ डा. अधिकारीले भने ।

यसैगरी काउन्सिलले निकट भविष्यमै चिकित्सक दर्ता, योग्यता प्रमाणपत्रलगायतका काम पनि अनलाइनबाट हुने जनाएको छ । प्रवक्ता अधिकारीले काउन्सिललाई पेपरलेस गराउने अभियानअन्तर्गत प्रविधिको सहयोगबाट काम सुरु गरिएको बताए ।

दर्ता डाक्टरको खोजी सुरु

नेपाल मेडिकल काउन्सिलले आफूकहाँ दर्ता भएका डाक्टरको खोजी गर्ने भएको छ । देशमा करिब १४ हजार डाक्टर भएको भनिँदै आए पनि कहाँ कति कार्यरत रहेको भन्ने यकिन विवरण नभएकाले खोजी गर्न लागेको काउन्सिलले जनाएको छ ।

काउन्सिलले दर्तावाल चिकित्सकलाई इमेलमार्फत कुन ठाउँ र कुन संस्थामा कार्यरत रहेको भन्ने विवरण पठाउन आग्रह गर्नेछ । कार्यरत चिकित्सकले स्वदेश वा विदेश, स्वदेश भए निजी वा सार्वजनिक संस्था केमा कार्यरत भन्ने विस्तृत जानकारी लिने बताएको छ । प्रवक्ता डा. अधिकारीले विवरण नपठाउने र सम्पर्कमा नआउने चिकित्सक काउन्सिलको लिष्टबाट समेत हट्ने बताए ।

‘यसले देशमा कति र विदेशमा कति डाक्टर छन् ? ती कहाँकहाँ छन् ? भन्नेबारे यकिन विवरण दिलाउँछ,’ अधिकारीले नयाँ पत्रिकासँग भने, ‘यो विवरण आएपछि सबै डाक्टरले एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुँदा पनि काउन्सिललाई अनलाइनबाट जानकारी गराउनुपर्नेछ ।’ यी कुरा कार्यान्वयनमा आए देशमा रहेका डाक्टरको यकिन विवरण आउनेछ ।

नयाँ पत्रिकामा रामप्रसाद न्यौपानेले लेखेका छन् ।

प्रतिक्रिया