Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शैक्षिक संस्था इन्धन अभावको मारमा

बुधबार, ११ कार्तिक २०७२

शैक्षिक संस्था इन्धन अभावको मारमा

काठमाडौं ११ कात्तिक / धेरै गाडी प्रयोग गरी टाढा–टाढाबाट विद्यार्थी ल्याएर अध्यापन गराउँदै आएका विद्यालय तिहारसम्मका लागि बन्द हुने भएका छन् ।
पेट्रोलियम पदार्थ तथा ग्यासको अभाव भएकाले विद्यालय सञ्चालनमा अप्ठ्यारो भएपछि तिहारसम्मका लागि विद्यालय बन्द हुने भएका हुन् । कतिपय शैक्षिक संस्थाले घर गएका विद्यार्थीलाई एसएमएस गरेर तिहारपछि फर्कन सन्देश पठाइरहेका छन् ।

प्याब्सनका अध्यक्ष लक्षबहादुर केसीले विद्यार्थी संख्या धेरै भएका विद्यालय बन्द हुने बताए । ‘तिहारअघि एघार दिन पढाइ हुने हो, यो पछि जाडो बिदामा मिलाउँछौँ,’ प्याब्सन अध्यक्ष केसीले भने, ‘सरकारसँग इन्धन मागेको हो, सरकारले दिन सक्ने स्थिति छैन, त्यसैले संकटको अवस्थामा विद्यालय बन्द गरेर सरकारलाई सहयोग गर्न खोजेका छौँ ।’

नजिक विद्यार्थी रहेका विद्यालय भने सञ्चालन हुने भएका छन् । सांसद् तथा प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलले विद्यार्थी हिँडेर आउन सम्भव भएका विद्यालय बन्द नहुने बताए ।
हिसान, प्याब्सन तथा एनप्याब्सनले विगत एक महिनादेखि निकै सकसपूर्ण रूपमा सञ्चालनमा रहेका शैक्षिक संस्थालाई इन्धन उपलब्ध नगराए थप सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले शिक्षा मन्त्रालयमार्फत सम्बन्धित निकायलाई शिक्षालयहरू सञ्चालनका लागि अत्यावश्यकीय ग्यास र इन्धन तत्काल व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया