Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

तिहारअघि अधिकांश स्कुल नखुल्ने

बुधबार, ११ कार्तिक २०७२

काठमाडौं ११ कात्तिक / इन्धन अभावले उपत्यकाका अधिकांश ठूला निजी विद्यालयले तिहारसम्म पठनपाठन बन्द गर्ने भएका छन्।

बसबाट ल्याउनुपर्ने विद्यार्थी नभएकाले सामुदायिक विद्यालय भने सञ्चालन हुनेछन्। भूकम्पले पढाइ अवरुद्ध भएकोले सामुदायिक विद्यालयले तिहारअघि पढाउन लागेका हुन्। केही सामुदायिक प्लस टुले पनि कक्षा चलाउने जनाएका छन्। बसबाट विद्यार्थी ओसार्ने विद्यालयहरू भने सबैजसो बन्द हुने निजी विद्यालय सञ्चालकहरूले जनाए।

उनीहरूले कक्षा १० को पढाइ भने नियमित गर्नेछन्। काठमाडौं, भक्तपुर र ललितपुरमा १७ सय निजी स्कुल छन्। प्याब्सनका अनुसार ७० प्रतिशत बन्द हुने स्थिति छ। दसैं मनाउन घर गएका अभिभावक विद्यालय खुल्ने भन्दै छोराछोरी लिएर राजधानी फर्किसकेका छन्। दसैंअघि धेरैजसो स्कुलले बुधबारदेखि खुल्ने जनाएका थिए। प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले इन्धन अभावको वैकल्पिक व्यवस्था नभएकाले विद्यालय बन्द गर्नु परेको बताए। ‘तेल व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरेका थियौं,’ उनले भने, ‘कुनै व्यवस्था नभएपछि तिहारसम्म विद्यालय बन्द गर्नुको विकल्प रहेन।’ दसैं र तिहारको बीचमा १२ दिन पढाइ हुन्थ्यो।

शिक्षा मन्त्रालयलका प्रवक्ता हरि लम्सालले एक शैक्षिक सत्रमा १ सय ९२ दिन शैक्षिक संस्था सञ्चालन भए दसैं तिहारको बीचमा नपढाए पनि समस्या नहुने बताए। तराईका विद्यालयको पढाइ कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भइरहेको उनले जनाए। तराईमा साउन २८ देखि शैक्षिक संस्था ठप्प छन्। प्याब्सन अध्यक्ष केसीले अहिले बन्द गरे पनि जाडो बिदा कटौती गरेर वार्षिक कक्षा तालिका व्यवस्थापन गरिने बताए।

सोमबार निजी शिक्षालयहरूको महासंघ अपिनले विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा पढाइ सञ्चालन गर्न नसक्ने जनाएको थियो। तेल अभावले लिटिल एन्जेल्स, जेम्स, युनाइटेड, एसओएस लगायत नखुल्ने भएका छन्। स्कुल सञ्चालकहरूले तेल उपलब्ध गराउन सरकारले चासो नदिएको बताएका छन्। शिक्षा प्रवक्ता लम्सालले भने स्कुल बसलाई तेल दिन आपूर्ति मन्त्रालयलाई पत्राचार गरिने जनाए।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया