Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

निजी विद्यालय तिहारपछि मात्रै खुल्ने   

मंगलबार, १० कार्तिक २०७२

काठमाडौँ १० कात्तिक । इन्धन अभावको कारण देखाउँदै उपत्यकाभित्रका निजी विद्यालयहरू अब तिहारपछि सञ्चालन हुने भएका छन् । दशैँ बिदा गरेका उपत्यकाका निजी विद्यालयले बुधबार (कात्तिक ११ गते) बाट विद्यालय खोल्ने भनिएपनि इन्धन समस्याले तिहारसम्मका लागि बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको निजी विद्यालयका सञ्चालकहरूले बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले अधिकांश निजी विद्यालयले बसबाट विद्यार्थी ओसार्ने गरेको र इन्धन आपूर्तिमा सिर्जित अवरोधले बस सञ्चालन गर्नसक्ने अवस्था नरहेकोले विद्यालय बन्द गर्ने निर्णय गर्नुपरेको बताए । 

नयाँ शैक्षिक सुरु भएदेखि नै शिक्षण संस्थामा पठनपाठन अवरुद्ध हुँदै आएको छ । आन्दोलनका कारण तराईमा झण्डै तीन महिनादेखि शिक्षण संस्था ठप्प भएका छन् । मुख्यगरी हाल कक्षा १० मा अध्ययनरत विद्यार्थी आगामी छ महिनामा एसएलसी परीक्षामा सम्मिलित हुँदैछन् र बन्दले गर्दा उनीहरूको कोर्स पूरा हुनसक्ने अवस्था छैन । अन्य कक्षामा पनि कोर्स पूरा हुनसक्ने स्थिति छैन ।

लगातारको बन्दका कारण निजी विद्यालयहरूले दशैँ लगत्तै पठनपाठन सञ्चालन गरी कोर्स पूरा गर्ने योजनामा थिए । कोर्स नै पूरा नभई शैक्षिक सत्रको अन्त्यमा परीक्षा सञ्चालन गरी प्रमाणपत्र वितरण गर्न नमिल्ने तर्क शिक्षाविद्हरूले गरेपनि निजी विद्यालयका सञ्चालकहरू यसलाई देशको परिस्थितिको कारण जनाउँदै अस्वीकार गरेका छन् ।

तराईको बन्दले उपत्यकाभित्र अध्ययनरत विद्यार्थी दशैँ बिदापछि फर्किन पाएका छैनन् । कतिपय विद्यालयले ग्यास लगायतका इन्धन अभावले आफ्ना छात्रावासका विद्यार्थीलाई खाना खुवाउन सक्ने अवस्था नभएपछि तिहारसम्मकै लागि बन्द गर्नुपर्ने अवस्था आएको छ ।

राष्ट्रिय प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले शिक्षण संस्थाहरूलाई राज्यले इन्धनको व्यवस्था गरिदिनुपर्ने बताउँदै इन्धन नभएकै कारण विद्यालय सञ्चालन गर्न कठिन भएको गुनासो गरे । अधिकांश उच्च माध्यमिक विद्यालय (प्लस टु कलेज) हरूले भने तिहारसम्मका लागि नै बिदा दिइसकेका छन् ।

 

(गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले समाचार लेखेका छन्।)

 

प्रतिक्रिया