Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

म्याग्दीमा पर्यटकद्धारा विद्यालयलाई सहयोग 

मंगलबार, १० कार्तिक २०७२

म्याग्दी, १० कात्तिक । म्याग्दीको ताकममा रहेका चारवटा सामुदायिक विद्यालयलाई जापानका पर्यटकले शैक्षिक सामग्री सहयोग गरेका छन् । जापानको अल्पाइन ओकामा विश्वविद्यालयका प्राध्यापकहरुले करिब रु पाँच लाख बराबरको शैक्षिक सामग्री सहयोग गरेका हुन् । 

ताकम माविलाई दुई थान ल्यापटप र दुई थान डेक्सटप कम्प्युटर उपलब्ध गराएका हुन् । यसैगरी धारापानीको किसानी माविलाई दुईवटा माइक्रोस्कोप, बाल विकास केन्द्रलाई खेलकुद र शैक्षिक सामग्री प्राप्त भएको शिक्षक ओमप्रकाश केसीले बताए । ताकमको शिवाङमा रहेको हेम उच्च माविलाई पनि जापानका प्राध्यापकको टोलीले एक थान फोटोकपी मेसिन र शैक्षिक सामग्री सहयोग गरेका छन् ।

 मच्छिममा रहेको भूमे प्राविलाई माइक्रोस्कोप र बालकक्षाका शैक्षिक सामग्री सहयोग गरेका छन् । हिरो कावाको नेतृत्वमा गत हप्ता ताकम पुगेका नौजना प्राध्यापकको टोलीले शैक्षिक सामग्री वितरण गरेका थिए । उनीहरुले धौलागिरि हिमालको आरोहण गरेको ४०औँ वर्षगाँठ मनाउने क्रममा पदमार्गमा पर्ने ताकमका विद्यालयलाई सहयोग गरेको हेम उच्च माविका प्रअ शेरबहादुर केसीले बताए ।

यसअघि पनि उनीहरुले किसानी मावि धारापानीलाई कम्प्युटर, प्रिन्टर र सोलार सेट सहयोग गरेका थिए । 

(रासस) 

 

प्रतिक्रिया