Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

भोलीबाट विद्यालय खोल्ने सरकारको तयारी 

सोमबार, ०९ कार्तिक २०७२

काठमाडौं ९ कात्तिक / विगत दुई महिना भन्दा बढी समयदेखि बन्द रहेका तराईका विद्यालयहरु खुलाउन सरकारले प्रयास थाल्ने भएको छ । यसका लागि मंगलबारबाट औपचारिक प्रयास गर्ने शिक्षा मन्त्रालयको तयारी छ । दशैँ बिदा सकिएपछि भोली मंगलबारबाट तराईका धनुषा, सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्लामा विद्यालय खुलाउन आन्दोलनरत पक्षसंग आग्रह गर्ने, सकेसम्म विकल्प दिएर बिहानी सिफट्तिर विद्यालय सञ्चालन गर्ने लगायतका प्रयास रहने मन्त्रालयका प्रवक्ता हरि लम्सालले एडु खबरलाई बताए ।

संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै तराई तथा मधेसमा आन्दोलन गर्दै आएका दलको बन्दले शिक्षण संस्था ठप्प भएपछि लामो समयदेखि तराईका विद्यालयको पठनपाठन रोकिएको छ। आइतबार सरकार र मधेसी मोर्चाको वार्ता पनि सकारात्मक भएकाले यस बीचमा तराईका विद्यालय खुल्ने सम्भावना छ ।

आइतबार भएको वार्तामा सरकारले धेरैजसो मधेसी मोर्चाका मागहरु सम्बोधन गर्ने र आन्दोलन रोक्ने मोर्चाको संकेत एकातिर छ भने अर्कातिर चीनबाट पेट्रोलियम पदार्थ ल्याउने सरकारको अन्तिम तयारी पूरा हुनै लागेपछि मोर्चा पनि आन्दोलन टुंग्याएर सरकारमा सहभागी हुने मनस्थितीमा छ ।

जारी मोर्चाको आन्दोलनले विद्यालय बन्द भएपछि यो शैक्षिक सत्र नै प्रभावित हुने सम्भावना देखि बच्न मन्त्रालयले दशैँ तिहारको बीचको समय, जाडो विदा जस्ता सार्वजनिक विदामा विद्यालय सञ्चालन गरेर छुटेको पाठ्यक्रम समायोजन गर्ने भन्दै आएको छ।  

मन्त्रालयका प्रवक्ता हरि लम्सालले  यसका लागी सम्बन्धित जिल्लाका शिक्षा कार्यालयलाई यसअगाडी नै जानकारी गराईसकिएको र फेरी भोली मंगलबार अर्को सुचना निकालेर विद्यालयमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिइने बताए ।

भोली मन्त्रालयमा छलफल हुदैँ 

यसका लागी भोली मंगलबार मन्त्रालयमा यससम्बन्धि एक चरणको छलफल हुने पनि प्रवक्ता लम्सालले बताए । यसभन्दा अघि पनि मन्त्रालय तथा शिक्षा विभागले भूकम्पअति प्रभावित ७ जिल्ला र तराईका विद्यालयहरु दशैँ तिहारको बीचमा पनि सञ्चालन गर्न निर्देशन दिएको थियोे । 

मन्त्रालयका प्रवक्ता लम्साल, विभागका निर्देशक डिल्लीराम रिमाल, लगायतको सहभागीतमा मंगलबार मन्त्रायमा छलफल गरेर फेरी एकपटक विद्यालय खोल्न औपचारिक सुचना निकाल्ने लम्सालले बताए । छलफलमा अन्य सरोकारवालाहरुको सहभागीतामा तराईको आन्दोलनले पठन पाठनमा पारेको प्रभाव र त्यसको समाधानका लागी गर्नुपर्ने प्रयासका विषयमा पनि हुनेछ । 

विभागका महानिर्देशक डिल्ली रिमालले मधेसी मोर्चाको बन्द राजनीतिक मुद्धा भएकाले राजनीतिक रुपमा हल नभएसम्म यो समाधान नहुने भन्दै विद्यालय खुलाउनेबारेमा औपचारिक आग्रह गरिने जानकारी दिए ।

“यो राजनीतिक मुद्धा हो, यसमा हाम्रो कुनै पनि आग्रह अनुरोध सफल हुदैन् । तर पनि विद्यालय बन्द हुनु शिक्षा विकासलाई नै असर पुर्याएकाले यसका लागी हामी आग्रह गर्र्छौँ । र मलाई विश्सास छ अहिले चलिरहेको वार्ताले राजनीतिक रुपमै यो समस्या समाधान हुनेछ ।” उनले भने ।

यता भूकम्पबाट अतिप्रभावित मध्यमाञ्चलका ७ जिल्लाहरुमा रहेका विद्यालय दशैँ तिहारमा खोल्ने तयारीका बारेमा आफुले धादिङ, सिन्धुपाल्चोक, गोरखा लगायतका जिल्ला शिक्षा अधिकारीहरुसंग छलफल चलाइरहेको क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक कृष्ण प्रसाद काप्रिङले बताए ।

भोली मन्त्रालयमा हुने यससम्बन्धिको छलफलले विद्यालय सञ्चालन गर्न औपचारिक निर्देशन समेत जानेछ । 

कुन-कुन जिल्लामा खुल्दैछन् विद्यालय ?

तराईको बन्दले रोकिएको पाठ्यक्रम समायोजनका लागी दाङमा यस दशैपछि र तिहारअघिसम्म विद्यालय सञ्चालन गर्ने औपचारिक निर्णय दाङको जिल्ला शिक्षा कार्यालयले गरिसकेको छ। भोली कात्तिक १० गतेबाट दाङका सबै विद्यालयमा पढाई हुदै छ ।

त्यहाँका राजनीतक दल, विद्यालय व्यवस्थापन समिती, जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवालाहरुको बैठकले दशैँ विदा शुरु हुनुभन्दा एक हप्ता अगाडी नै विद्यालय खोल्ने निर्णय गरेको दाङका जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले बताए । दाङका विद्यालय दशै अघि षष्ठीसम्म सञ्चालन भएका थिए ।

यस्तै चितवन, नवलपरासी, रुपन्देही जिल्लाका विद्यालयहरु पनि खोल्ने तयारी यस बीचमा छ । यस अगाडी पनि बन्द रहेका यी जिल्लाहरुमा आन्दोलनरत मोर्चा र जिल्लाका सरोकारवालाहरुको अनौपचारिक बैठकको सहमतिमा बिहानी समयको उपयोग गरेर नीजी र सरकारी विद्यालयहरु सञ्चालनमा ल्याइएको थियो । तर बीचमा आन्दोलनकारीले बन्द गर्न दबाब दिएपछि विद्यालय फेरी बन्द गरिएको थियो । यस्तै पूर्वमा झापा, सुनसरी, मोरङमा अहिले तनाब जारी रहेपनि मोर्चा सहमतिमा आए विद्यालय खोल्ने तयारी छ । 

यता मध्यतराईका जिल्लाहरुमा मोर्चासंग विद्यालय खोल्नेैपर्ने दबाब दिएर या विकल्पका रुपमा विद्यालय खुलाउने तयारी छ । महोत्तरी, सिरहा, सप्तरी, धनुषा, रौतहट, सर्लाही लगायत बन्दले अति प्रभावित जिल्लामा विद्यार्थीको भविष्य अन्योलमा परेको र शैक्षिक सत्र नै प्रभावित हुने भन्दै आग्रह गरी विहानी सिफ्ट भएपनि विद्यालय खोल्ने तयारी भइरहेको सर्लाहीका जिल्ला शिक्षा अधिकारी बद्रीनारायण भट्टराईले एडुखबरलाई जानकारी दिए ।

के भन्छन् विद्यार्थी नेताहरु ? 

अघिपछि आफ्ना मागहरु पुरा गराउन सडकमा टायर बाल्नेदेखि, सार्वजनिक कलेज तथा यात्रुबाहक बस जलाउने र क्याम्पसमै तोडफोड गर्न पछि नपर्ने विभिन्न दलका भा्रतृ संगठनका विद्यार्थी नेताहरु भने अहिले यो मुद्धा राजनीतिक भएको बताउछन् ।  तराईमा विद्यालय बन्द भएको झन्डै तीन महिना पुग्नै लाग्दा पनि ध्यानाकर्षण पत्र सरकारलाई बुझाउनुबाहेक कानमा तेल हालेर बसेका नेताहरु अब जसरी पनि विद्यालय खुलाउनुपर्ने भन्न थालेका छन् । 

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको भा्रतृ संगठन अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले सरकार र मोर्चाको वार्ता अब चाडँै सफल हुने र यदि नभए आफ्नो संगठनले तराईमा विद्यालय खुलाउने अभियान नै चलाउने बताँउछन् ।

“हामी गम्भिर छौँ र लामो समयदेखि सरकारको ध्यानाकर्षण पनि गराउँदै आएका छौँ । तर सरकारले सुनेन भन्दैमा हामी चुप लागेर बस्दैनौ । अहिले चलिरहेको वार्ता सफल नभए हामी संगठनका साथीहरु तराईमा बन्द रहेका विद्यालय खुलाउन अभियान नै लिएर जान्छौँ ।” उनले भने । यदि वार्तामा सहमति नभएमा विद्यालय खुलाउन बल प्रयोग गर्न पनि सरकार पछि हट्न नहुने प्रवक्ता लामिछानेको जिकिर  छ। 

यता नेपाली कांग्रेसको भा्रतृ संगठन नेविसंघका प्रवक्ता युपी लामिछानेले वार्ता सफल हुनेमा आफुहरु विश्वस्त रहेको बताए । पछिल्ला वार्ताहरु सकारात्मक रुपमा अगाडी बढेको भन्दै बन्द रहेका विद्यालयहरु चाडँै खुल्ने उनले विश्वास व्यक्त गरे । 

यदि मोर्चाले आन्दोलन जारी राखेमा विकल्प दिएर पनि विद्यालय खोल्नुपर्ने उनको भनाई छ। विहानी सिफ्ट या अरु बन्द भएपनि विद्यालय खोल्नुदिनुपर्ने कडा माग आफुहरुले मोर्चाका सामु राख्ने उनले बताए ।

 

प्रतिक्रिया