Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रीको दलको घोषणापत्रमा शिक्षा

आइतबार, ०१ कार्तिक २०७२

काठमाण्डौं १ कात्तिक / गिरिराजमणि पोखरेल शिक्षा मन्त्री भएसँगै उनको दल एकिकृत नेकपा माओवादीको शिक्षा सम्बन्धि नीति कस्तो छ ? आम चासो र सरोकारको विषय ठानेर हामीले उनको दलको चुनावी घोषणापत्रमा उल्लेख भएको शिक्षा सम्बन्धि प्रतिवद्धता जस्ताको त्यस्तै प्रकाशन गरेका छौं ।

- शिक्षामा सबैको मौलिक अधिकार स्थापित गरिने छ । आठ कक्षासम्म शिक्षा सबैलाई अनिवार्य गरिने छ । १२ कक्षासम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिने छ । कर्णाली लगायत पिछडिएका क्षेत्रका बासिन्दा, दलित, सीमान्तकृत र लोपोन्मुख जाति र गरिबीको रेखामुनि रहेका सबैलाई शिक्षा पूर्णरुपले निःशुल्क हुने छ ।

- देशव्यापी साक्षरता अभियान सञ्चालन गरेर पाँच वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गरिने छ ।

- राज्यको कुल वार्षिक बजेटको २० प्रतिशत शिक्षामा लगानी गरिने छ । सार्वजनिक शिक्षाको गुणस्तरमा आएको ह्रासको छानबीन गरी गुणस्तर वृद्धि गर्न प्रभावकारी कदम चालिने छ । शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण र विकृति विसङ्गतिलाई नियन्त्रण गरिने छ ।

- वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तन गरेर कक्षा आठदेखि नै ठाउँ सुहाउँदो सिपमूलक शिक्षा दिइने छ र विद्यालयपछि बहुप्राविधिक (पोलिटेक्निक) र प्राविधिक शिक्षालाई व्यापक बनाइने छ । प्रत्येक निर्वाचन क्षेत्रमा कमसेकम एक बहुप्राविधिक विद्यालय स्थापना गरिने छ ।

- प्रत्येक सङ्घीय प्रदेशमा कमसेकम एक विश्वविद्यालय स्थापना गरिने छ र केन्द्रीय र प्रदेश विश्वविद्यालयको कार्यक्षेत्र स्पष्ट परिभाषित गरिने छ । विश्वविद्यालय शिक्षालाई अनुसन्धानमूलक शिक्षाको रुपमा विकास गरिने छ ।

- विभिन्न कारणले औपचारिक शिक्षाबाट वञ्चित ठुलो सङ्ख्यामा रहेका युवा युवतीहरुलाई उच्च शिक्षाको अवसर प्रदान गर्न खुला विश्वविद्यालय वा दूरशिक्षा विश्वविद्यालयको स्थापनालाई तीव्रता दिइने छ ।

- उच्च शिक्षामा निम्न वर्ग र समुदायको पहुँच स्थापित गर्न विशेष छात्रवृत्ति र छात्रावास सुविधाका साथै सरल र सुलभ शैक्षिक ऋणको व्यवस्था गरिने छ ।

- निजी क्षेत्र समेतको सहभागितामा कृषि तथा वन, इन्जिनियरिङ, मेडिसिन, सूचना प्रविधि, व्यवस्थापन आदि क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका विशिष्ट शिक्षण तथा अनुसन्धान केन्द्रहरु स्थापना गरेर विदेशी विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई समेत आकर्षित गर्ने नीति लिइने छ ।

प्रतिक्रिया