Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

त्रिविमा ८६ प्रतिशत गैरप्राविधिक विषयका विद्यार्थी

आइतबार, ०१ कार्तिक २०७२

त्रिविमा ८६ प्रतिशत गैरप्राविधिक विषयका विद्यार्थी

काठमाडौं १ कात्तिक / त्रिभुवन विश्वविद्यालयमा ८६ प्रतिशतभन्दा बढी विद्यार्थी गैरप्राविधिक विषयमा अध्ययनरत रहेको पाइएको छ । मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता बढ्दै गएको छ । तर, पनि त्रिविमा प्राविधिक विषयमा जनशक्ति बढ्न सकेको छैन ।

त्रिवि योजना महाशाखाका अनुसार ०७१/७२ मा सबै आंगिक क्याम्पसमा गरी एक लाख ७९ हजार आठ सय ६५ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये एक लाख ५५ हजार ५३ अर्थात् ८६ दशमलब २२ प्रतिशत विद्यार्थी गैरप्राविधिक विषय अध्ययनरत छन् । त्रिविका आंगिक क्याम्पसहरूमा २४ हजार सात सय ८२ जनाले मात्र प्राविधिक विषय अध्ययन गरिरहेका छन् । त्रिविका सम्बन्धनप्राप्त सबै क्याम्पसको ०७१/७२ विवरण अझै केन्द्रीय कार्यालयमा आइपुगेको छैन ।

त्रिविले स्नातकदेखि स्नातकोत्तर तहसम्ममा विभिन्न संकाय र अध्ययन संस्थानहरूमा कार्यक्रम सञ्चालन गरेको छ । चिकित्साशास्त्रमा भने प्रमाणपत्र तहमा समेत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
त्रिवि योजना महाशाखाका अनुसार इन्जिनियरिङ विषयमा पाँच हजार चार सय २० जना अध्ययनरत छन् । त्यस्तै, कृषि तथा पशु विज्ञानमा एक हजार दुई सय ६३, चिकित्सामा दुई हजार तीन सय ९३, वन विज्ञानमा ६ सय २९, विज्ञान तथा प्रविधिमा १५ हजार ७७ विद्यार्थी छन् ।

त्रिवि उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढाउने योजनामा आफू रहेको बताए । ‘प्राविधिक विषयका विद्यार्थीको संख्या तल्लो तहदेखि नै बढाउनुपर्ने हुन्छ, हामी यस्ता विद्यार्थी संख्या बढाउने योजनामा छौँ,’ उपकुलपति खनियाँले नयाँ पत्रिकासँग भने । प्राविधिक विषय अध्ययन खर्चिलो छ । यस्ता विषय त्रिवि आफैँले सञ्चालन गर्न नसक्ने अवस्थामा अरूसँग मिलेरसमेत सञ्चालन गर्नसक्ने उनले बताए । उनका अनुसार गैरप्राविधिक विषय पढ्ने अधिकांश जनशक्ति बेरोजगार छन् ।

प्राविधिक पढ्ने छात्रा एकतिहाइ कम

त्रिविका आंगिक क्याम्पसहरूमा प्राविधिक विषय पढ्ने छात्राको संख्या निकै कमी रहेको तथ्यांक सार्वजनिक भएको छ । त्रिविका अनुसार यस्ता विद्यार्थीको संख्या एकतिहाइ पनि छैन । २४ हजार सात सय ८२ मध्ये सात हजार एक सय ५८ मात्र छात्राले प्राविधिक विषय पढ्ने गरेका छन् । छात्रको संख्या १७ हजार ६ सय २४ छ । तर पनि चिकित्सा क्षेत्रमा छात्राहरूको उपस्थिति बलियो देखिएको छ । चिकित्सा क्षेत्रमा दुई हजार तीन सय ९३ विद्यार्थीमध्ये एक हजार सात सय ८२ छात्रा छन् । छात्राहरू इन्जिनियरिङमा ६ सय ६७, कृषि र पशुमा तीन सय ९८, वन विज्ञानमा एक सय ६९ र विज्ञान तथा प्रविधिमा चार हजार एक सय ५२ छन् ।

शिक्षा र मानविकीमा धेरै

गैरप्राविधिकतर्फ शिक्षाशास्त्र तथा व्यवस्थापन संकायमा विद्यार्थीको संख्या धेरै छ । शिक्षा, मानविकी र व्यवस्थापनमा विद्यार्थीको अनुपात उस्तै–उस्तै छ ।

सबैभन्दा बढी विद्यार्थी शिक्षाशास्त्रमा छन् । शिक्षामा ५२ हजार ९०, मानविकीमा ५१ हजार दुई सय ८४, व्यवस्थापनमा ४७ हजार तीन सय १५ र कानुनमा चार हजार तीन सय ९४ विद्यार्थी छन् । शिक्षाशास्त्र संकायमा छात्राहरूको संख्या धेरै छ । शिक्षामा ५२ हजार ९० मध्ये २६ हजार नौ सय ६२ छात्रा र २५ हजार एक सय २८ छात्र छन् । त्यस्तै, मानविकीमा ५१ हजार दुई सय ८४ मध्ये छात्रा १८ हजार पाँच सय ६९ र छात्र ३२ हजार सात सय १५ छन् । व्यवस्थापनमा २० हजार एक सय ३८ छात्रा र २७ हजार एक सय ७७ छात्र छन् । कानुन संकायमा एक हजार तीन सय ९५ छात्रा र दुई हजार नौ सय ९९ छात्र छन् ।

कुल विद्यार्थीको झन्डै ९० प्रतिशत भार त्रिविले धानेको छ । ०७०/७१ मा कुल चार लाख पाँच हजार तीन सय ४१ विद्यार्थी रहेकामा आंगिकमा एक लाख ४८ हजार एक सय ४१ र सम्बन्धनमा दुई लाख ५७ हजार दुई सय रहेका थिए । यो वर्ष आंगिक क्याम्पसमा २० हजार विद्यार्थी बढेका छन् ।

जनशक्ति धेरै, रोजगारी कम

त्रिभुवन विश्वविद्यालयले एकै वर्षमा ६१ हजार सात सय १६ जनशक्ति उत्पादन गरेको छ । शिक्षाशास्त्र संकायमा सबैभन्दा बढी २४ हजार ६ सय ५७ जनशक्ति उत्पादन भएको छ । १८ जेठ ०७१ देखि १७ जेठ ०७२ सम्ममा ट्रान्सक्रिप्ट लिइसकेका स्नातकदेखि पिएचडीसम्मका विद्यार्थीको ग्रेसलिस्ट त्रिवि सभाले पारित गरिसकेको छ । त्रिविबाट जनशक्ति उत्पादनको क्रम बढे पनि खपतको अवस्था भने छैन ।

मानविकी तथा सामाजिकशास्त्र संकायमा ११ हजार आठ सय ७२, कानुन संकायमा सात सय ७०, व्यवस्थापन संकायमा १६ हजार १९, विज्ञान तथा प्रविधि अध्ययन संस्थामा पाँच हजार ८६, वनविज्ञान अध्ययन संस्थानमा एक सय ५३, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा दुई सय ६९, चिकित्साशास्त्र अध्ययन संस्थानमा नौ सय ९९ विद्यार्थी ५३ ग्रेसलिस्टमा समावेश भएका छन् ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया