Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शिक्षामा फड्को मार्दै थबाङ

आइतबार, ०१ कार्तिक २०७२

काठमाडौं १ कात्तिक / रोल्पाको थबाङ जिल्लाकै उत्तरतर्फको अन्तिम, दुर्गम गाविस हो । यहाँ मगर समुदायको बसोवास छ । खासगरी १० वर्षे माओवादी द्वन्द्वको समयमा थबाङ निकै चर्चित बन्यो । त्यति मात्र होइन, पञ्चायत शासनकै वेला पनि थबाङबाट संघर्षको उद्घोष भएको थियो । देशको विशेष–विशेष परिस्थितिमा आफ्नो छुट्टै भूमिका प्रदर्शन गर्दै आएको थबाङ पछिल्लो सात वर्षयता शिक्षा क्षेत्रमा पनि नयाँ अभ्यास गर्दै छ ।

लामो समयसम्म थबाङवासीले उच्च शिक्षा हासिल गर्न पाएनन् । मैला कपडा लगाएर, च्यतिइसकेका किताब र कापी बोकेर बालबालिका विद्यालय जान्थे । उनीहरूको समस्या राज्यले कहिल्यै सुनेन । तर, अहिले परिस्थिति फेरिएको छ ।

थबाङका बालबालिका अहिले सुकिलो पोसाकमा विद्यालय जान्छन् । त्यति मात्र होइन, दुर्गम गाउँका बालबालिका सहरका बोर्डिङमा जस्तै टाइसहितको विद्यालय पोसाक लगाउँछन् । उनीहरू अंग्रेजी माध्यमबाट पढ्छन् । वीरबलभद्र उमाविले जिल्लामै पहिलोपटक अंग्रेजी माध्यमको पढाइ सञ्चालन गरेर थबाङले रोल्पाको शिक्षाको नेतृत्व गरेको छ ।

वीरबलभद्र उमाविमा साना नानीबाबु ‘गुडमर्निङ सर’, ‘गुड मर्निङ म्याडम’ भनेर अंग्रेजी बोलचालको अभ्यास गर्दै छन् । कक्षा सातसम्मका विद्यार्थी अंग्रेजी माध्यमबाट पढिरहेका छन् । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्ने वीरबलभद्र जिल्लाकै पहिलो विद्यालय हो ।

स्वास्थ्य, यातायात, सञ्चारजस्ता विकासका पूर्वाधारबाट पछि परेको थबाङ शिक्षामा भने अघि बढ्न थालेको भन्दै प्रशंसा हुन थालेको छ । ०३५ सालमा मावि हुँदा वीरबलभद्रलगायत जिल्लामा तीनवटा मात्र माध्यमिक तह पढाइ हुने विद्यालय थिए । तर, भौगोलिक विकटता, राज्यको विभेदपूर्ण व्यवहार, सामाजिक चेतना आदिको कारण विद्यालयले त्यति राम्रो प्रतिफल दिन सकेन ।

माओवादी द्वन्द्वको समयमा त विद्यालय प्राय: सुनसान नै हुने गरेको थियो । ‘सैनिक अप्रेसन’का वेला थबाङ गाविसका विद्यालय नै बन्द भए । समग्रमा थबाङको विकास नै ठप्प भएको थियो । तर, मुलुकमा शान्तिप्रक्रिया सुरु भएपछि पनि यहाँ राज्यको दृष्टि पुग्न सकेन । थबाङबासी आफैँले बालबालिकाको उज्यालो भविष्यका लागि पहल थालेका छन् ।

प्रौढदेखि बालकसम्म मगर खाम भाषा मात्रै बोलिने थबाङमा अहिले त्यहाँका बालबालिका नेपालीसँगै अंग्रेजी खररर बोल्नसमेत अब्बल भएका छन् । पहिले अंग्रेजी माध्यमबाट पढाइ नहुँदा अंग्रेजी विषयमा विद्यार्थी कमजोर थिए । ‘अंग्ेरजीमा खुब फेल हुन्थे,’ एक स्थानीय अभिभावकले भने, ‘अब त्यो समस्या हुन्न भन्ने आशा लिएका छौँ, तल्लो कक्षामा विद्यार्थीले अंग्रेजीमा राम्रो गरिरहेका छन् ।’

यसरी सुरु भयो अंग्रेजीमा अध्यापन

१० वर्षे माओवादी द्वन्द्वको समयमा गाउँ नै युद्धमा होमियो । तत्कालीन राज्य व्यवस्था परिवर्तन गरी जनपक्षीय राज्य सत्ता स्थापना गर्न थबाङी जनता अग्रपंक्तिमा उभिए । त्यतिवेला बुर्जुवा शिक्षाको अन्त्य गरी वैज्ञानिक, व्यावहारिक जनवादी शिक्षा हुनुपर्छ भन्दै थबाङका युवा जुर्मुराए ।

तर, शान्तिप्रक्रिया सुरु भएसँगै थबाङबासीमा निराशा छायो । आफूले चाहेको व्यवस्था नआएको र शिक्षामा पनि आफूहरू पछि परेको महसुस भएपछि उनीहरूले अंग्रेजी माध्यमको पढाइ सुरु गर्न छलफल थाले । तर, केही युवाले बोर्डिङ स्कुल स्थापना गरेर गाउँमा दुई प्रकारको शिक्षा दिनुहुन्न भनेर विरोध गरे ।

गाउँमा निजी विद्यालय दर्ता भई सञ्चालनमा आएपछि पहिले निजी विद्यालयको विरोध गर्नेहरू सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाउने तयारीमा लागे । बोर्डिङले गाउँमा पनि दुईवटा वर्ग जन्माएपछि सामुदायिकलाई पनि बोर्डिङजस्तै बनाएको स्थानीय जयप्रकाश रोका बताउँछन् ।

स्थानीय अगुवा प्रताप बुढाको अगुवाइमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु भएको हो । ‘बोर्डिङ स्कुलले समाजलाई विभाजित गराई हीनताबोध र प्रतिस्पर्धाको भावना सिर्जना गर्ने भएकाले शिक्षामा रूपान्तरण गर्नुपर्छ भन्ने मनसायले सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पढाउने प्रस्ताव ल्याएको हुँ,’ उनले भने ।

माओवादी र गरिबका छोराछोरी पढ्ने भन्दै द्वन्द्वकालमा सहिद स्मृति नमुना विद्यालय स्थापना गरिएको थियो । तर, शान्तिप्रक्रियापछि विद्यालयको व्यवस्थापनबाट पार्टीले हात झिकेपछि स्थानीयले त्यसलाई बचाउन प्रयास गरे । त्यही पनि त्यो सम्भव नभएको बुढाले बताए । ‘सो विद्यालयका विद्यार्थी कता पठाउने भन्ने भयो,’ उनले भने, ‘त्यसैलाई समायोजन गरेर १० वर्षभित्र उमाविमा नै अंग्रेजी माध्यम बनाउने छलफल र उद्देश्यसहित विद्यालयमा अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको हो ।’

बोर्डिङ छाडेर सामुदायिकमा

अंग्रेजी माध्यमबाट अध्यापन भएपछि बोर्डिङ र सामुदायिक विद्यालयमा फरक नहुने कुरा समाजमा स्थापित हुँदै गएको थबाङका स्थानीय बताउँछन् । बोर्डिङ छाडेर सामुदायिकमा विद्यार्थी आउन थालेका छन् । विद्यालयले राम्रा विद्यार्थी उत्पादन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीले बताए । उनका अनुसार यहाँका विद्यार्थीले बुढानीलकण्ठमा छात्रवृत्तिमा नाम निकालेर पढिरहेका छन् ।

समुदायले चाहेको खण्डमा पढाइको गुणस्तर राम्रो बनाउन सकिने विश्वास बढेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष घर्तीले बताए । व्यवस्थापन समिति र समुदायको सहकार्य भएकाले विद्यालयप्रति समुदायको अपनत्व र जिम्मेवारीबोध पैदा भएको उनको भनाइ छ ।

तालिम प्राप्त र अनुभवी शिक्षक व्यवस्थापनमा राज्यको पनि सहयोग र नियन्त्रण हुनुपर्ने उनले बताए । तर, पूर्वाधारदेखि विद्यालय व्यवस्थापनसम्ममा राज्यले खासै चासो नदिएको घर्तीले गुनासो गरे ।

आधुनिक प्रविधिको प्रयोग

विद्यालयमा दुईवटा प्रोजेक्टर छन् । प्रोजेक्टरबाट पनि पढाइ हुने गरेको विद्यालयले जनाएको छ । अन्य आधुनिक प्रविधि र शैक्षिक प्रणालीको प्रयोगलाई पनि बढाउँदै जाने विद्यालयको भनाइ छ ।
वीरबलभद्र विद्यालयमा अंग्रेजी माध्यमको पढाइ र अन्य व्यवस्थापकीय पक्षले विद्यार्थी र अभिभावकको आकर्षण ह्वात्तै बढेको छ । छिमेकी रुकुमबाट समेत विद्यालयमा विद्यार्थी आउने गरेका छन् । रुकुमको महत, काँक्री, मैकोटलगायतबाट आउने विद्यार्थीको संख्या निकै ठूलो रहेको विद्यालयले जनाएको छ ।

नियमित अतिरिक्त क्रियाकलाप पनि नियमित हुने गरेको छ । नृत्य शिक्षक पनि राखिएको छ । दैनिक सांगीतिक कक्षा, वाद्यवादनदेखि नृत्य कक्षा पनि सञ्चालन हुन्छ ।

आवासको समेत व्यवस्था

विद्यालयमा मुनाफरहित बोडर्सको पनि व्यवस्था छ । ६० जना बोडर्स विद्यार्थी छन् । बोडर्स बसिसकेपछि जम्मा खर्चको रेकर्ड राखेर प्रत्येक महिनाको अन्तिममा हिसाब हुने गरेको व्यवस्थापन समितिका एक सदस्यले बताए ।

घरबाट आलु, रोटी, खाजा, पिठो, मकै, भटमास, सिमी, दाउरा लगेपछि त्यसको मूल्यअनुसार मासिक विद्यालयमा होस्टेल फी कम हुन्छ । कहिलेकाहीँ उल्टो विद्यार्थीले पैसा पाउने गरेको विद्यालयले जनाएको छ । पैसा नै दिन नसक्नेले घरमा जे हुन्छ त्यही लगे पनि होस्टेल फी कटाउने व्यवस्था छ ।

खेलकुद क्षेत्रमा पनि विकास र स्तरवृद्धि गर्ने योजना विद्यालयको छ । शारीरिक कसरतका लागि मार्सलआर्ट खेल सिकाउने विद्यालयले योजना बनाइरहेको छ । कम्प्युटर शिक्षा कोर्समै कक्षा ८ सम्म राख्ने विद्यालयको योजना छ । वैकल्पिक ऊर्जामार्फत सोलारको व्यवस्था गरेर कम्प्युटर शिक्षा नीजिबाटै भए पनि विद्यालयमा कम्प्युटर शिक्षक व्यवस्था गर्ने योजना रहेको व्यवस्थापन समिति अध्यक्ष घर्तीले बताए । प्रयोगमा जाँदा समुदाय, अभिभाव, शिक्षक र व्यवस्थापन समितिले चाहेमा धेरै गर्न सकिन्छ भन्ने प्रमाणित भएको स्थानीय मौसम रोकाले बताए । तर, त्यहीअनुसारको आर्थिक व्यवस्थापन गर्न नसक्दा समयानुकूल शिक्षामा परिमार्जन र प्रविधीकरण गर्न चुनौती भएको उनको भनाइ छ ।

समुदायले चाहे परिवर्तन सम्भव छ

अजय घर्ती, अध्यक्ष
विद्यालय व्यवस्थापन समिति

नेपालको शिक्षा प्रणाली, संरचना र नीतिमा भएको गम्भीर कमजोरीको सिकार थबाङको विद्यालय पनि भएको छ । राज्यले शिक्षामा ठूलो रकम लगानी गरे पनि सामुदायिक विद्यालयको स्तरवृद्धि, विकास र गुणस्तर कत्ति पनि चित्त बुझ्दो छैन ।

विद्यालयमा सातजना निजी स्रोतबाट शिक्षकहरू राखेका छौँ । ती शिक्षकलाई मासिक ९० हजारभन्दा बढी तलब खुवाउनुपर्छ । विद्यालयलाई आर्थिक व्यवस्थापन गर्न फलामको चिउरा चपाउनभन्दा गाह्रो भएको छ ।
विद्यालयको जग्गा भाडा लगाएबापत आएको रकमले केही राहत भएको छ । धूपी सल्लाको बिरुवा १५ वर्ष पहिले वृक्षरोपण गरेका थियौँ । अहिले तिनै रूखहरू काठका रूपमा बिक्री गरेर, घाँस बेचेर र बाँकी विशेष सहयोग अभियानबाट रकम जुटाउने गरेका छौँ । स्थानीय समुदाय, अभिभावकलगायतबाट सहयोग जुटाएर विद्यालय चलाइरहेका छौँ ।

तत्कालका लागि आर्थिक समस्याको विल्कप खोजिए पनि यसले दीर्घकालीन रूपमा समस्या समाधान गर्दैन । दीर्घकालीन आर्थिक स्रोत व्यवस्थापनका लागि विद्यालयले दुई वर्षयता अलैँचीखेती पनि सुरुवात गरेको छ । पलमिया रूख १० वर्षमै काठका रूपमा उत्पादन दिने र प्राकृतिक सौन्दर्यका लागि पनि हुने भएकाले वृक्षरोपणको योजना पनि छ । त्यसले १० वर्षपछि केही राहत हुन्छ ।

विद्यालयको भौतिक संरचना पनि अपुग छ । विद्यार्थीको चापअनुसार कक्षा कोठा छैन । भूकम्पले तीनवटा कोठा भत्कियो । अहिले पनि १५ लाखभन्दा बढी ऋण छ ।

नयाँ पत्रिकामा मनीषा श्रेष्ठले लेखेकी छन् ।

 

प्रतिक्रिया