Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

अक्षर

शुक्रबार, २९ असोज २०७२

- तुलसी दिवस / आशावादिता र सुनौला भविष्यमा पूर्ण पत्यार हुने साहित्यक रचना गर्ने कवि हुन् । जीवनलाई केन्द्रीय विषयवस्तुको क्षेत्र बनाएर यथार्थलाई विभिन्न कोणबाट हेर्ने उनलाई केही समालोचकहरुले बुद्धिवादी कवि पनि भनेका छन् । २०४० सालमा प्रकाशित तुलसी दिवसका कविता संग्रहमा रहेको अक्षर यो साताको शिक्षा साहित्य श्रृखलामा :

अक्षरहरु त बीउ हुन् तिमी यिनलाई छर !
कोदालीले धरतीको पाना सम्याउनुपरे
आफ्ना पाखुरा र दश नङ्ग्रा म दिन्छु,
अक्षरहरु त बीउ हुन्, तिमी यिनलाई छर !

बीउहरु त अक्षर हुन्, तिमी यिनलाई लेख !
तल माथि केही नमिले अरु पसीनाले पुछ,
खेतको आली पनि त धुलौटे पाटी हो,
हलो जोतेर कलमको, बरु डीक म मिलाईदिन्छु,
बीउहरु त अक्षर हुन्, तिमी यिनलाई पढ !

गोडाहरु चोबलेर हिलोको मसीमा म रोपाइँ गाउँछु,
असारे भाकामा शब्दहरु गोड्दै तिमी रोपाइँ गर,
शब्दहरु टिपेर बाक्यमा मूठा पार्दै म दाइँ गाउँछु,
अर्थहरु पढेर पाकेको बालीमा तिमि दाइँ गर,
मियो बनेर आलीको माझमा म गोलसिमल बोलाउँछु,
हरियो गोबरले लिपेर भकारी,

अक्षर पाकेका बालि तिमि भर !

अक्षरहरु त बीउ हुन् तिमि यीनलाई छर !
कोदालीले धरतीको पाना सम्याउन परे
आफ्ना पाखुरा र दश नङ्ग्रा म दिन्छु,
अक्षरहरु त बीउ हुन्, तिमी यिनलाई छर !
बीउहरु त अक्षरहरु हुन्, तिमी यिनलाई लेख !
बीउहरु त अक्षर हुन्, तिमी यिनलाई पढ !

प्रतिक्रिया