Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

शिक्षकको भोगाई : विज्ञान पढ्दा र पढाउँदा

शुक्रबार, २९ असोज २०७२

- विकास देसार / आफू स्कुल छँदा विज्ञान पढियो तर आज आफूले पढाउँदा  विज्ञान बुझ्न थालेको छु । विज्ञानमा जहिले पनि उच्च अङ्क हासिल गर्ने म, आज आफ्ना विद्यार्थीको विज्ञान बुझाइ देख्दा आफू विज्ञानमा धेरै पछि रहेको महशुस गर्न थालेको छु । टिच फर नेपालबाट नवलपुर माध्यामिक विद्यालय सिन्धुपाल्चोकमा मैले पढाएको लगभग डेढ वर्ष पुरा हुँदा मैले जति मेरा विद्यार्थीलाई विज्ञान बुझाएँ ,त्यति नै मात्रामा मेरा विद्यार्थीले मलाई विज्ञान बुझाएका छन् ।

टिच फर नेपालबाट विज्ञान पढाँउछु र बुझाउँछु भनी हिँडेको प्रज्ञार्थी म आज स्वंयम विज्ञान बुझ्दै छु,विज्ञान सिक्दै छु र विज्ञानमा रम्न थालेको छु ।

मैले अध्ययन स्थानीय सहकारी विद्यालय (ज्योतिदय सहकारी माध्यमिक विद्यालय) मा भएको हो । स्कुल पश्चात आफ्नो टिचिङ करियर पनि सोहि स्कुलबाट सुरु गरेँ । स्कुल पढ्दा विज्ञान विषयलाई घोकन्ते विषयको रुपमा बुझाइयो र सोहि अनुसार घोकेर नै पढियो । कहिले काहिँ स्कुलबाट अरु स्कुलमा भइरहेको विज्ञान प्रर्दशनी हेर्न लगिन्थ्यो । त्यति बेला प्रर्दशनीमा देखाइएका हरेक सामाग्रीहरु कसरी बनाइएको होला भनि मनमा जिज्ञासा उठ्थ्यो । तर ती सामाग्रीहरु किन चाहियोर भनि वास्ता गरिन्नथ्यो ।

त्यति बेलाको मेरो मानसिकता घोकन्ते विद्यामा केन्द्रित भएकै कारण त्यस्तो विचार आउँथ्यो, सायद । स्कुल र कलेज भरी विज्ञानलाई मैले घोकेरै पढँे र उच्च अङ्क पनि ल्याँए तर हिजो आज विज्ञान कत्तिको बुझेँ भनी आशंका लाग्छ । मेरो स्कुल जीवनभर मैले कहिल्यै पनि विज्ञानका सिद्धान्त प्रयोग हुने सामाग्रीहरु बनाईन । तर, मेरा विद्यार्थी विद्युतीय गाडिहरु, विद्युतीय डुङ्गाहरु, बेलुन, रबर र चुम्बकबाट चल्ने गाडिहरु, केबल कारको नमूना, हाइड्रोलिक शहरको नमूना जस्ता विज्ञानका सिद्धान्त प्रयोग गर्दै सामाग्रीहरु तयार पार्छन् म मेरो स्कुले जीवन सम्झन्छु ।

मैले पढाउन थालेको लगभग ६ वर्ष भयो । सुरुको ४ वर्ष मैले विद्यार्थीलाई पास गराउने र परीक्षामा धेरै अङ्क ल्याउने हिसाबले मात्र पढाएँ । टिच फर नेपालमा आबद्ध भएपछि मैले परीक्षामा उत्तीर्ण गराउनुको साथ साथै विद्यार्थीको विज्ञान बुझाई र दैनिक जीवनलाई विज्ञानसँग जोड्न थालेँ ।

हिजोआज विज्ञान कक्षामा विद्यार्थी अभिनय गर्दै पढ्छन्, एक अर्कासँग अन्र्तवार्ता लिँदै पढ्छन्, गीत गाउँदै पढ्छन्, स्वयंम शिक्षक वा शिक्षिका भई कक्षा सञ्चालन गर्दै पढ्छन्, साथी शिक्षक भई एकले अर्कालाई सिकाउँदै पढ्छन् र विभिन्न प्रयोग तथा प्रोजेक्टहरु गर्दै पढ्छन् । म कक्षामा विद्यार्थीलाई विज्ञानका सिद्धान्तहरु पढाउँछु, ती सिद्धान्तहरुका केहि प्रयोगहरु देखाउँछु, अन्तराष्ट्रिय जगतमा भएका विभिन्न प्रोजेक्टहरु देखाउछु र मेरा विद्यार्थी ती प्रोजेक्टहरु कक्षामा ल्याई मलाई बुझाउँछन् । यसरी मैले पढेको र पढाएका सिद्धान्तहरु मेरा विद्यार्थी, आफैले बनाएका प्रोजेक्टहरु मार्फत अझ प्रष्ट बुझाइदिन्छन् ।

आफूले विज्ञान घोकेर पढियो र विज्ञान  घोक्नै पर्ने विषय लाग्थ्यो । विज्ञान घोक्नै पर्ने विषय हो कि होइन भन्ने विषयमा सबको आ आफ्नो तर्क होला । यहाँ घोक्नुको अर्थ याद गर्नु हो । थुप्रै प्रज्ञार्थी साथीहरुले घोकाउनु नराम्रोे भन्छन् तर मेरो अनुभवमा कोहि विद्यार्थी घोकेर बुझ्छन् त कोहि बुझेर घोक्छन् । निष्कर्ष यो हो कि विद्यार्थीले बुझ्नु चाहिँ पर्छ ।

टिच फर नेपालबाट नवलपुर स्कुलमा पढाउन सुरु गरे देखि मैले विद्यार्थीलाई बुझाउँदै घोकाउने गरेको छु । विृद्यार्थीले बुझेर कुनै कुरा याद गर्दा त्यो दिर्घकालीन भएको मैले अनुभव गरेको छु । ५ दिन अघि जब म विज्ञान प्रर्दशनीको तयारी गर्दै थिएँ तब कक्षा ७ का मेरा विद्यार्थी निखिल श्रेष्ठले चुम्बकबाट गुड्ने गाडिको नमूना देखाउन थाले । मैले उनीहरुलाई बेलुनबाट र रबरबाट गुड्ने गाडि बनाउन सिकाएको थिएँ तर चुम्बकबाट गुड्ने सिकाएको थिइन । मैले चुम्बकका गुणहरु निखिललाई कक्षा ६ हुदाँ पढाएको थिएँ र उनले त्यहि सम्झेर चुम्बकबाट गुड्ने गाडि बनाएका रहेछन् । उनलाई मैले त्यो गाडि चुम्बकको कुन गुणले गर्दा गुडेको सोधेँ उनले भन्न सकेनन् तर त्यो गुणको प्रयोग चाँहि गरे । भाषामा उनलाई त्यो गुण भन्न नआए पनि ब्यवहारमा प्रयोग गर्न आएछ, अर्थात उनले विज्ञान बुझेका रहेछन् ।

मेरा विद्यार्थी सिकाईका भोका छन् । विभिन्न किसिमका विज्ञानसँग सम्बन्धित सामाग्रीहरु बनाउन रुचाँछन् । मेरा विद्यार्थाी कहिले पानी घट्ट बनाउँछन् त कहिले जल विद्युतको नमूना, कहिले क्रेन  बनाउँछन् त कहिले ज्वालामुखी विष्फोट गरेर देखाउँछन् । कहिले मादल बनाएर ल्याउँछन् त कहिले आँफैले बनाएको गितार बोक्दै आउँछन् । यी सामाग्रीहरु कक्षामा पुग्दा विद्यार्थीमा कौतुहलता अनि सकरात्मक प्रतिष्प्रर्धाको भावना विकास हँुदो रहेछ ।

उनीहरुको विज्ञानप्रति चासो बढ्दो रहेछ ।  त्यसै कारण होला शायद, स्कुल छँदा आफूले नसिकेका कुराहरु, प्रयासनै नगरेका कुराहरु आज शिक्षक भई सिक्न थालेको छु । आज भोली म गाडिहरु बनाउँदै बस्छु, विभिन्न किसिमका डुङ्गाहरु कसरी बनाउने सिक्दै बस्छु । विज्ञानका परिभाषाहरुलाई गीत बनाउँदै बस्छु र अन्तर्राष्ट्रिय शिक्षाविदहरुको विचारहरु सुन्दै बस्छु ।
विद्यार्थीलाई सिकाउने वहानामा आफैँपनि धेरै कुरा सिक्दै छु, विज्ञानलाई अझ गहिराईसम्म बुझी विज्ञानमा रमाउन थालेको छु ।

(देसार टिच फर नेपालका फेलो हुन् । सन् २०१३ देखि ललितपुरका सामुदायिक विद्यालयबाट शुरु भएको टिच फर नेपालको अभियान सामुदायिक विद्यालयको शिक्षण सिकाई सुधारमा केन्द्रित छ ।  ललितपुर र  सिन्धुपाल्चोकका २५ विद्यालयमा ४९ जना स्वयम सेवक (संस्थाको भाषामा प्रज्ञार्थी) शिक्षणमा क्रियाशिल छन् । र, यही वर्षबाट धनुषाका विभिन्न विद्यालयमा २१ जना युवाले शिक्षण गरिरहेका छन् ।- सं.)

प्रतिक्रिया