Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

विदेशी सम्बन्धनमा सञ्चालित स्कूलमा नपढाउन आग्रह

शुक्रबार, २९ असोज २०७२

काठमाडौं २९ असोज / शिक्षा मन्त्रालयले विदेशी मुलुकका शैक्षिक संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । भारत लगायत अन्य मुलुकको कार्यक्रम ल्याएर नेपालमा शिक्षा मन्त्रालय र मातहतको निकायबाट स्वीकृति नलिई सञ्चालन गरेको पाइएपछि यस्ता विद्यालयमा भर्ना नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन (सीबीएसई) बोर्डको कार्यक्रमलाई नेपालका एक दर्जन भन्दा बढी विद्यालयले विना स्वीकृति सञ्चालन गरिरहेका छन् । यस्ता विद्यालयमा अध्ययन गरेका विद्यार्थीको प्रमाणपत्र समेत मन्त्रालयले प्रामाणिकरण नगरेपछि उच्च शिक्षा अध्यययन गर्न पाएका छैनन् । सीबीएससी कार्यक्रम सञ्चालन गरेका विद्यालय समेत दर्ताको प्रक्रियामा नआएपछि मन्त्रालयले अझ कडाई गर्न लागेको हो ।

यस्ता संस्थामा अध्ययन गरेका विद्यार्थी प्रमाणपत्र प्रमाणिकरणका लागि शिक्षा मन्त्रालयमा आएपछि मन्त्रालयले अभिभावकलाई छोराछोरी भर्ना नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै यस्ता विद्यालयमा छोराछोरी भर्ना नगर्न आग्रह गरेको छ । सूचनामा भनिएको छ,‘अभिभावहरुले आफ्ना छोराछोरीहरुलाई पढाउनका लागि भर्ना गर्नु भन्दा पहिले उक्त संस्था प्रचलित ऐन कानुन बमोजिम दर्ता भएको हो वा होइन र यस्ता संस्था विदेशी मुलुकमा सञ्चालन भएको कार्यक्रम नेपालमा सञ्चालन गर्न शिक्षा मन्त्रालयबाट स्वीकृति लिएको छ वा छैन सोको एकिन गरेर मात्र भर्ना गर्नुहुन अनुरोध गरिन्छ ।’
दर्ता नगरी वा विदेशी मुृलुकमा सञ्चालन भएको कार्यक्रम नेपालमा सञ्चालन गर्ने अनुमति नलिई सञ्चालन भएका संस्थाबाट उतिर्ण हुने विद्यालयहरुको प्रमाणपत्र प्रमाणिकरण समेत नगर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

विदेशी मुलुकमा सञ्चालन भएको कुनै शैक्षिक कार्यक्रम नेपालमा कुनै संस्थाले गर्न चाहेमा उक्त कार्यक्तम सञ्चालन गर्न चाहने संस्थाले नेपाल सरकारबाट अनुमति प्राप्त गरेको हुनुपर्छ ।

स्वीकृत प्राप्त संस्थाले विदेशी मुलुकमा सञ्चालन भएको कार्यक्रम कुन तहसम्मको सञ्चालन  गर्न चाहेको हो त्यो तहसम्मको अनुमति नेपाल सरकारबाट लिनुपर्छ । मन्त्रालयबाट शैक्षिक संस्था सञ्चालनको स्वीकृति नलिई वा एउटा तहसम्मको मात्रै स्वीकृत लिई विदेशी मुलुकमा सञ्चालन भएको पाइए पछि कडाई गरेको हो ।

प्रतिक्रिया