Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शिक्षकले दशैं मनाउने कसरी ?

शुक्रबार, २९ असोज २०७२

काठमाडौं २९ असोज / स्थानीय समुदायले आफ्नै लगानीमा सञ्चालन गरेको दक्षिणी प्यूठानमा रहेको एक उच्च माविमा शिक्षकलाई दिने तलब नहुँदा समस्या आएको छ ।

दशैंको समयमा शिक्षकलाई दिनुपर्ने तलब नहुँदा विद्यालय सञ्चालनमा समेत समस्या भएको विद्यालयले जनाएको छ । हंसपुर–६ चाँजामा रहेको सरस्वती उच्च माविका ६ जना शिक्षकका लागि समुदायबाटै तलब दिने गरेकामा यसपटक आर्थिक सङ्कलन नहुँदा समस्या भएको हो ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोपालबहादुर केसीले विद्यालय स्थापना गर्दा समुदायले रु २४ लाख सङ्कलन गरेका थिए । “विभिन्न क्षेत्रबाट तलबका लागि लगातार आर्थिक सङ्कलन गरे पनि यसपटक नहुँदा समस्या भयो” उहाँले भन्नुभयो ।

विद्यालय सञ्चालनमा स्थानीय दशवटा सामुदायिक वन समूहले समेत रु १० लाख आर्थिक सङ्कलन गरेका थिए । “निम्न माध्यमिक तहसम्मको अनुमति पाए पनि विद्यालयले समुदायकै पहलमा उच्च मावि सञ्चालन गरेको छ,” विद्यालयका प्राचार्य खेमराज शर्माले भन्नुभयो, “समुदायले सञ्चालन गरेको विद्यालयमा जिल्लाले पनि खासै सहयोग गर्दैन । शिक्षकको दरबन्दी पनि न्यून छ । सबै समस्या समाधान गर्दा आर्थिक चाहिन्छ । हरेक पटक समुदायबाटै आर्थिक सङ्कलन गर्दा स्थानीयवासीसमेत निष्क्रिय भएका छन् ।”

विद्यालयमा मावि, उच्चमावि र पुस्तकालय तथा लेखाका छजना शिक्षकलाई दसँैमा चौमासिक तलबस्वरुप दिनुपर्ने रु पाँच लाख ६० हजार तलब दिनुपर्ने छ । तर विद्यालयमा अहिले रु ८० हजार मात्रै आर्थिक स्रोत रहेको छ ।

दिनुपर्ने तलबको न्यून रुपैयाँ मात्र हँुदा विद्यालय सञ्चालनमै समस्या भएको विद्यालयले जनाएको छ । आर्थिक स्रोत नहँुदा मावि सम्ममा निःशुल्क शिक्षा दिनुपर्ने भए पनि अहिले विद्यार्र्थीसँग भर्ना, परीक्षा तथा अतिरिक्त शुल्क भन्दै विद्यालयले प्रतिविद्यार्थी रु दुई हजारसम्म वार्षिक आर्थिक सहयोग लिने गरेको लेखा समिति सदस्य वेदराज शर्माले बताउनुभयो ।

“विद्यालय सञ्चालनमा समस्या भएको छ”, शर्माले भन्नुभयो, “विद्यार्थीको चाप अत्यधिक छ । त्यसमाथि छिमेकी गाविसका विद्यार्थी पनि यही आउँछन् । तर विद्यालय सञ्चालनमा दिगो आर्थिक स्रोत र जिल्लाबाट सहयोग नहँुदा समस्या भएको छ ।”

स्थानीयवासीले सञ्चालन गरेको विद्यालयको व्यवस्थापनका लागि जिल्ला स्तरबाट सहयोग नपाएको भन्दै गुनासो गरेका छन् । विद्यालय स्थापनादेखि नै विद्यालयका लागि हंसपुर गाविसले आर्थिक सहयोग गर्दै आएको भए पनि अहिले गाविसमा पनि सहयोगका लागि स्रोत नहुँदा समस्या आएको गाविस सचिव मुक्ति खनालले बताउनुभयो ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया