Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

तलब निकासा ढिला हुँदा शिक्षकलाई समस्या

शुक्रबार, २९ असोज २०७२

काठमाडौं २९ असोज / भदौ मसान्तभित्रमा माग फारम पुर्‍याइसक्नुपर्नेमा पाँचथर जिल्लाका कतिपय विद्यालयले तोकिएको समयमा फारम बुझाउन नसक्दा तलब निकासामा समस्या भएको छ । बिदा सुरु हुनै लाग्दा हतारहतार जिल्ला शिक्षा कार्यालयमा माग फारम बुझाएकाले कतिपय विद्यालयमा तलब निकासा गर्न समस्या भएको शिक्षा कार्यालयले जनाएको छ ।

समयमा सूचना गर्दा पनि विद्यालयले माग फारम ढिलो गरी ल्याउँदा निकासामा ढिलाइ भएको हो । विद्यालयले फारम नै ढिलो पठाउँदा जिल्ला शिक्षा कार्यालयले ढिलो गरी निकासाका लागि प्रक्रिया सुरु गरेको थियो । जिल्ला शिक्षा कार्यालय पाँचथरमा एक सातायता शिक्षकहरूको घुइँचो बढेको छ । जिल्लाभरका शिक्षक एकैचोटि कार्यालयमा भेला हुँदा कार्यालयको नियमित कामसमेत प्रभावित भएको छ ।

जिल्लामा नेपाल बैंक लिमिटेडमा पनि शिक्षकको उपस्थितिले नियमित काम प्रभावित भएको छ । बिहानबाट लाइन बसेका शिक्षकले दिनभरमा मात्रै भुक्तानी पाएका छन् । सबै विद्यालयले माग फारम पेस नगरेको भन्दै शिक्षा कार्यालयले शिक्षक र विद्यालयका कर्मचारीको निकासा पठाउन ढिलाइ गरेको थियो ।

कार्यालयले भदौ मसान्तभित्रै माग फारम ल्याउन शिक्षकहरूलाई सूचना गरे पनि आउन ढिलाइ गर्दा निकासामा ढिलाइ भएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले जानकारी दिए । कार्यालयको लेखा प्रणाली सफ्टवेयरमार्फत सञ्चालन हुने भएकाले एकैपटक भुक्तानी पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

केही विद्यालयले माग फारम नल्याए पनि सबै विद्यालयको निकासा रोकेर कार्यालयले आफूहरूलाई अन्याय गरेको शिक्षकले गुनासो गरेका छन् । उत्तरी पाँचथरको सिदिनस्थित थोकपन निमाविका शिक्षक जसबहादुर राईले एउटा विद्यालयका कारण सबैलाई असर परेको बताए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया