Edukhabar
शुक्रबार, ०७ मंसिर २०८१
खबर/फिचर

शिक्षा दिवस : समय प्रति प्रधानमन्त्रीबाटै खेलवाड, रिसाए विद्यार्थी !

शनिबार, २३ भदौ २०७५

काठमाडौं - शिक्षा दिवसका अवसरमा आफ्नो विद्यालय पुरस्कृत हुने कुराले उत्साहित हुँदै आएका विद्यार्थी कार्यक्रम सकेर प्रज्ञा भवन कमलादीको हलबाट बाहिरिदाँ प्रधानमन्त्रीसँग रिसाए ! 

यो रिसको कारण हो – समय प्रति प्रधानमन्त्रीबाटै भएको खेलवाड ! 

शनिबार आयोजित ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसको प्रमुख अतिथीका रुपमा विद्यार्थीले प्रधानमन्त्री केपी ओलीको प्रतिक्षा गर्नु पर्दा उनीहरुको धैर्यको बाँध टुटेको हो । समृद्ध मूलुक बनाउन आफूसँग धेरै समय नभएकोले फटाफट काम गर्नु पर्ने प्रधानमन्त्रीको भाषण सुन्दै आएकी विश्व निकेतन मावि त्रिपुरेश्वरकी विद्यार्थी अनुष्का श्रेष्ठ (परिवर्तित नाम) त्यतिखेर अचम्ममा परिन् जतिखेर २ घण्टा प्रधानमन्त्रीलाई कुर्नु पर्यो !

टिभी, अनलाईन र पत्रिकामा प्रधानमन्त्रीको भाषणको खबर सुन्दा, हेर्दा र पढ्दा छुट्टै चित्र बनाएकी श्रेष्ठ प्रधानमन्त्रीबाट यो हद सम्म समयको वेवास्ता हुन्छ होला भन्ने कल्पना नगरेको बताउँछिन् । 

'उहाँ त समृद्ध देश बनाउँछु भन्नु हुन्छ, मलाई पनि निकै आशा लागेको थियो, तर यसरी समयको ख्यालै नगर्ने प्रधानमन्त्रीले कसरी देश बनाउनु होला म त छक्क परेँ' उनले भनिन्, 'यतिका मान्छेको २ घण्टा विना काम उहाँलाई कुरेरै बस्नु पर्दा कति हानी भयो भन्ने कुरा बुझ्नु भएको छ की छैन होला ? भनेर सोध्न मन छ ।' 

पछिल्लो समय प्रधानमन्त्री कुनै पनि कार्यक्रममा समयमा नपुग्ने भन्दै बढ्न थालेको गुनासोको पुष्टि शनिबारको उक्त कार्यक्रम पनि हुन पुग्यो । मन्त्रीपरिषद् बैठकमा समेत उनले मन्त्रीहरुलाई कम्तिमा डेढ २ घण्टा कुराउँछन् भन्ने गुनासो यस अघि नै सार्वजनिक भई्सकेको छ ।  

शनिबार दिउँसो १ बजेका लागि तोकिएको समय भन्दा ठिक २ घण्टा ढिलो २ बजेर ५९ मिनेटमा 'जम्ला हात गर्दै' ओली हल भित्र प्रवेश गरेका थिए ! 

श्रेष्ठको यो गुनासो कार्यक्रममा उपस्थित संयौं विद्यार्थीको प्रतिनिधि गुनासो हो । 

प्रधानमन्त्री कुर्न विताएको २ घण्टा सहित कार्यक्रम सम्पन्न हुँदा सम्मको गरी झण्डै ५ घण्टाको समय विताएर बाहिरिएका बज्रबाराही मावि चापागाउँका विद्यार्थी रमेश महर्जन (परिवर्तिन नाम) पनि प्रधानमन्त्री सँग रिसाए । 

'१ बजेको कार्यक्रम भनेर हामी साढे १२ बजे नै आएका थियौं, प्रधानमन्त्रीलाई कुर्दैमा २ घण्टा वित्यो, कार्यक्रम सकिँदा त अरु तीन घण्टा सम्म न पानी खान पायौं न त पिसाव फेर्न नै' कार्यक्रम सकेर ट्वाईलेट जान हतारिएका उनले भने, 'ट्वाईलेट जान्छु भन्दा गेटमा बसेका पुलिसले बाहिर जान समेत दिएनन् ।'

कार्यक्रममा उपस्थित शिक्षकहरु पनि विद्यार्थीलाई समयको महत्व पढाउँदा के भन्ने भन्दै चिन्ता मिश्रित स्वरमा ब्यङ्य गरिरहेका थिए । 

हलमा यो सम्बाददाताको पछिल्तिर बसेका शिक्षकहरु एक आपसमा खासखुस गर्दै थिए – समयको महत्व पढाउँदा विद्यार्थीले उल्टै प्रधानमन्त्रीकै उदाहरण दिए भने के भन्ने होला ? 

अर्का शिक्षकले उपाय सुझाए – शिक्षा मन्त्रालयले नै प्रधानमन्त्रीको समय भन्दा पहिला हामीलाई बोलाएको रहेछ भन्दिउँ न ! 

तर, आयोजक शिक्षा मन्त्रालयले प्रधानमन्त्रीसँग छलफल गरी दिउँसो १ बजेका लागि कार्यक्रम तय गरेको थियो । 

'हामीले त उहाँबाट पाएकै समयमा कार्यक्रम तय गरेका हौं, आधा घण्टा ढिलो गरी प्रधानमन्त्री आउने त्यो भन्दा पहिला सबै उपस्थितहरुलाई हलमा छिराई सक्ने गरी तय गरेका हौं, तर साह्रै नै ढिलो गरी कार्यक्रम गर्नु पर्दा विद्यार्थी र उपस्थितलाई अप्ठ्यारो पर्नु स्वभाविक हो, हाम्रो वश भन्दा बाहिरको परिस्थितीमा हामी के भन्न सक्छौं र !' मन्त्रालयका एक जना सहसचिवले भने, 'प्रधानमन्त्रीको सचिवालयले चुस्त संयोजन गर्न नसक्दा विद्यार्थीका अघिल्तिर प्रधानमन्त्रीकै छविमा आँच आयो ।' 

प्रधानमन्त्री आउनासाथ राट्रिय गान बजाईयो, शिक्षा सचिव खगराज बरालले स्वागत भाषण गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पारे । त्यस लगत्तै पानसमा बत्ति बालेर प्रधानमन्त्रीले कार्यक्रम उद्घाटन गरे । यस बर्ष पुरस्कृत विभिन्न विद्यालयहरुलाई ध्वजा सहित नगद र प्रमाणपत्र प्रदान गरे ।  

पुरस्कृत विद्यालयहरुका बारेमा यो खबर पढ्नुहोस् : देशभरबाट पुरस्कृत विद्यालयको नाम सार्वजनिक

पुरस्कार वितरण सक्दा ३ बजेर ४० मिनेट गएको थियो । 

त्यसपछि ३५ मिनेट उद्घाटन भाषण गरेका प्रधानमन्त्रीले कुर्दा कुर्दा आजित भएका तिनै विद्यार्थीलाई शुरुमै सम्बाधेन गरे । 

'यहाँ आएका साना भाईबैनीलाई बधाई र शुभकामना छ, तपाईले प्राप्त गर्ने शिक्षा तपाईका लागि, समाजका लागि, देशका लागि र समग्र मानव जातिका लागि सेवा पुर्याउने खालको उपयोगी र प्रतिष्पर्धि हुन सकोस् शुभकामना' उनले भने । 

नेपालको गौरवपूर्ण ईतिहास स्मरण गर्न आवश्यक रहेको बताउँदै उनले न्यूटन भन्दा ६ सय बर्ष अघि भाष्कराचार्यले गुरुत्वार्कषणको सिद्धान्त प्रतिपादन गरेको दावि गर्दै प्रचार गर्न नसक्दा हाम्रो सभ्यता पछि परेको कुरा नयाँ पिढिले हेक्का राख्नु पर्ने बताए । 

'अहिले मंगलग्रहमा पानी फेला पर्यो भन्दै छन्, यो भन्दा संयौं बर्ष पहिले हाम्रा ज्योतिषि र गणितज्ञहरुले तारा गन्ती गरिसकेका थिए' उनले भने, 'बालबालिकाले बुझ्नु पर्छ, हाम्रा पूर्वज विद्धान थिए, अन्वेषक खोजकर्ता, प्रयोग परक्षिण गर्ने असाधारण थिए हाम्रा पुर्खा ।'

यस्ता विद्धान पुर्खाको डिएनए र जीन भएका नेपाली निरक्षर हुनै नसक्ने बताउँदै उनले २ बर्ष पछि निधारमा लागेको निरक्षरताको दागलाई 'सावुन पानी' ले धोईदिने उद्घोष पनि गरे । 

'यो पुस्ता भाग्यमानी पुस्ता हो, हामीले जस्तो लडाई गर्नु पर्दैन, जायज कुरा, विकासको कुरा गर्न नपाईने युग समाप्त भयो' उनले भने, 'अब दक्ष, योग्य र स्वच्छ जनशक्ति आवश्यक छ, जुन शिक्षाबाट प्राप्त हुन्छ ।' 

आफूले देशका लागि काम गर्दा विपक्षीहरुले विरोधका लागि विरोध गरेको बताउँदै उनले चीन सँग नेपालले गर्न लागेको सम्झौता पछि नेपाल 'वान कन्ट्रि लक्ड' बाट मुक्त हुने पनि बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले अर्को बर्ष देखि डुवान नहुने गरी सहमती गरेको पनि उनले बताए । २  बर्ष भित्र धुलो रहित काठमाडौं बनाउने, बराबर अधिकार र बराबर अवसरको सुनिश्चित गर्ने, मेलम्चीको पानी ल्याउने लगायतका प्रचारमुखि राजनीतिक योजनाको भाषण गरेका थिए । 

यस अघि उनले प्रज्ञाभवनको प्रेक्षालयमा आयोजित साक्षरता सम्बन्धि शैक्षिक सामग्री प्रदर्शनीको उद्घाटन गरेका थिए । 

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सुधारमा आफूले यस अघिनै प्रस्तुत गरेको मार्ग चित्र अनुसार नै नीतिगत कार्य अघि बढेको बताए ।

उनले शुक्रबारै घोषणा गरेको प्राथमिकतालाई प्रस्तुत गरेका थिए । 

उक्त खबर पढ्नुहोस् : शिक्षा दिवसका अवसरमा ५ प्राथमिकता सार्वजनिक

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले देश प्रेमको भाव जगाउने साँस्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया