काठमाडौं - यस बर्षको शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पाँच प्राथमिकता सार्वजनिक गरेका छन् । दिवसमा अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले
सार्वजनिक शिक्षाको रुपान्तरण, वातावरणमैत्री हरित शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, साक्षर नेपाल बर्ष र ज्ञानमा आधारित समाज निर्माणका केन्द्रित उच्च शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।
सार्वजनिक संस्थाबाट प्रदान गरिने शिक्षाप्रति जनताको विश्वास कमजोर देखिएको विद्यमान अवस्थामा यसको लागि रुपान्तरणको खाका ल्याउनुपर्ने आवश्यकता औल्याउँदै मन्त्री पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको घोषणा गर्नु परेको जनाएका छन् । संघ, प्रदेश र स्थानीय तहका सहकार्यमा विद्यालय तथा विश्वविद्यालय तहको सार्वजनिक शिक्षाप्रतिको जनविश्वासलाई
पुनर्जिवित गर्नु प्राथमिकताको विषय रहेको उनले बताए । यस्तै यसबर्षको शिक्षा दिवसको अवसरमा सम्पूर्ण शैक्षिक संस्थाहरुलाई वातावरणमैत्री बनाउने दिशामा अघि बढ्न आग्रह गरिरहेको बताउँदै उनले विद्यालय तथा क्याम्पसमा वृक्षरोपण, फुलबारी निर्माण, सरसफाइ, हरीत इको क्लब गठन जस्ता कार्यहरु सञ्चालन गरेर सम्पूर्ण शैक्षिक संस्थाहरुलाई हरीत संस्थाको रुपमा विकास गरिने बताए ।
यसैगरी प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदायक संस्थाहरुको विस्तार, शिक्षाको गुणस्तर सुधार, सार्वजनिक पोलिटेक्निकहरुको निर्माण गर्दै प्राविधिक तथा व्यावसायिक धारको शिक्षा विस्तार गर्ने आफ्नो योजना रहेको बताउँदै उनले समग्र शिक्षा प्रणालीमा जीवनोपयोगी सीपको एकीकरणमार्फत सीपयुक्त जनशक्ति विकासमा केन्द्रित गरिने उनले बताए । आगामी २०७६ साललाई “साक्षर नेपाल बर्ष” का रुपमा मनाउन मन्त्रालयले तयारी गरिरहेको बताउँदै उनले हालसम्म ४७ जिल्ला साक्षर घोषणा भैसकेका र बाँकी ३० जिल्लालाई साक्षर घोषणा गरी सिङ्गो मुलुकलाई नै साक्षर घोषणा गर्नका लागि साक्षर नेपाल बर्षले मद्दत गर्ने विश्वास लिएको उल्लेख गरे ।
उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन तथा खोजमा आधारित बनाई ज्ञान उत्पादनको स्रोतको रुपमा विकास गर्नुपर्ने बताउँदै उनले यसका लागि सबै विश्वविद्यालयहरुले आफ्ना संस्थाहरुमार्फत ज्ञानको उत्पादन गर्दै ज्ञानमा आधारित समाज निर्माणमा योगदान गर्न उच्च शिक्षा प्रदायकहरुलाई गम्भीर भएर लाग्न मनत्री पोखरेलको अनुरोध छ ।
समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने नाराका साथ शनिबार ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाईदै छ । दिवसका अवसरमा राष्ट्रपतिले राष्ट्रपति कार्यालयमा विभिन्न विद्यार्थीलाई विद्याभुषण प्रदान कार्यक्रम छ ।
यस्तै दिउसो १ बजे मूल प्रधानमन्त्रीको आतिथ्यतामा प्रज्ञा प्रतिष्ठानमा मूल कार्यक्रम हुने मन्त्री पोखरेलले जानकारी दिए ।
विद्याभुषण प्राप्त गर्ने विद्यार्थी र पुरस्कृत विद्यालयको नाम थाह पाउन यो खबर पढ्नुहोस् : ३ सय ८४ विद्यार्थीलाई पदक, धेरै संख्या विद्यावारिधिको
प्रतिक्रिया