Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शिक्षक/कर्मचारीले चैत देखि तलब पाएनन्

विहीबार, २८ असोज २०७२

काठमाडौं २८ असोज / स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठ व्यवस्थापन समिति र शिक्षकको विवादका कारण बन्द हुने अवस्थामा पुगेको छ।
 
विवादकै कारण ६ दशक लामो इतिहास बोकेको उक्त विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीले गत चैत महिनादेखि तलब पाएका छैनन्। विद्यार्थी संख्या घटेपछि स्कुलमा नियमित पठनपाठन हुन सकेको छैन।
व्यवस्थापन समितिले आफू अनुकूल काम नगरेको भन्दै प्रधानाध्यापकलाई मनपरी रूपमा हटाउने र गोप्य रूपमा नियुक्त गर्न थालेपछि विवाद उत्कर्षमा पुगेको छ। गत वर्षको साउन २९ गते आफैंले नियुक्त गरेको प्रधानाध्यापक सुरिस्मा शाक्यलाई हटाउने विषयमा विवाद भएपछि अहिले स्कुल समस्यामा परेको छ।
 
साउनमा प्रधानाध्यापक नियुक्त भएकी शाक्यलाई व्यवस्थापन समितिले जानकारी नै नगराई पुसमा सूचना टाँसेर अर्का प्रधानाध्यापक नियुक्तिका लागि सूचना टाँसेको थियो। आफूलाई जानकारी नगराई प्रअ नियुक्त गर्न लागिएको भन्दै शाक्यले सर्वोच्च अदालतमा रिट हालेकी थिइन्।
 
उनको रिटको आधारमा सर्वोच्चले नयाँ प्रअ नियुक्ति प्रक्रिया तत्कालका लागि स्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले आदेश दिए पनि व्यवस्थापन समितिले आफूलाई विद्यालय सञ्चालनमा असहयोग गरेको प्रअ शाक्यको गुनासो छ।
 
 व्यवस्थापन समितिले शिक्षकको नयाँ हाजिरी बनाएर प्रअ कक्षमा रहेको पुरानो हाजिरपुस्तिकााई मान्यता नदिएको, प्रअ शाक्य र लेखापालको हस्ताक्षर गर्ने गरी खोलिएको बैंकखाता रद्द गरेर नयाँ खोलेको, आफूलाई प्रअ बनाउने समयमा गरिएको सहमति पालना नगरेको शाक्यको आरोप छ।
 
यही विवादका कारण अहिले स्कुलको बैंक खाता रोक्का छ। नयाँ हस्ताक्षर चल्नेगरी बैंक खाता खोलेको जानकारी पाएपछि प्रअ शाक्यले दिएको निवेदनका आधारमा बैंकले नयाँ हस्ताक्षरबाट कुनै पनि कारोबार गरेको छैन।
 
कारोबार रोक्का भए पनि नयाँ हस्ताक्षरका आधारमा विद्यालयले तलबस्वरूप दिएको चेकको रकम शिक्षकले साट्न पाएका छैनन्। विद्यालयका शिक्षक निरज महर्जनले भने, 'विद्यालयका सहप्रधानाध्यापक र संयोजकको हस्ताक्षर भएको चेक साट्न बैंक गएको थिएँ। खाता रोक्का भएको छ भन्दै साट्न मानेन। चैतदेखि रोकिएको तलब रकममध्ये विद्यालयले ६० प्रतिशत मात्र दिएको थियो।'
 
महर्जनका अनुसार चेकमा हस्ताक्षर गरेका व्यक्तिलाई अहिले विद्यालयमा भेट्न सकिँदैन। प्रधानाध्यापक शाक्यले आफूलाई बिनाजानकारी अन्यायपूर्व हटाइएकाले विद्यालयमा समस्या आएको बताइन्।
 
'मलाइ हटाएको बारेमा व्यवस्थापन समितिले आधिकारिक जानकारी दिएको छैन। तर गोप्य रूपमा मलाई जानकारी नगराई मलाई हटाइएको जसरी गतिविधि सञ्चालन गरिरहेको छ', शाक्यले भनिन्।
 
'शिक्षा मन्त्रालय, विभागलगायतका निकायमा हारगुहार माग्दा पनि समस्या समाधान हुन सकेन।' शाक्यलाई हटाउने समयमा अध्यक्ष रहेका व्यवस्थापन समितिका अध्यक्ष विजयरत्न बज्राचार्यको पदावधि गत असारमा सकिसकेको छ।
 
सार्वजनिक शैक्षिक गुठीका अध्यक्ष धर्ममूर्ति भन्तेले पुरानो समितिसँगको विवादका कारण स्कुल समस्यामा परेको बताए । उनले भने, ‘समस्या समाधानका लागि पहल गरिरहेको छु।' काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमले विद्यालय व्यवस्थापन समिति गठन भइसकेकाले समस्या छिट्टै समाधान हुने बताए।
 
उनले भने, 'विगतको व्यवस्थापन समितिसँगको विवादले समस्या आएको थियो। अब समाधान हुन्छ।' २००८ सालमा भिक्षु अमृतानन्दले स्थापना गरेको यस विद्यापीठमा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुन्छ। सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यापीठमा ६५ विद्यार्थी र १७ जना शिक्षक-कर्मचारी छन् ।

अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया