Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

ऐन मिचेर शिक्षकलाई काज

बुधबार, २७ असोज २०७२

काठमाडौं २७ असोज / राहत दरबन्दीको शिक्षकलाई काजमा पठाउने प्रावधान नै नभए पनि जिल्ला शिक्षा कार्यालय काभ्रेले शिक्षा ऐन मिचेर काजमा पठाइएको तथ्य फेला परेको छ । जिल्लाको महांकालचौर–१, थिङछापमा रहेको श्री धनलक्ष्मीदेवी प्राविका राहत दरबन्दीकी शिक्षिका पासाङमाया लामालाई शिक्षा नियमावलीविपरीत काजमा पठाइएको हो ।

‘स्थायी दरबन्दीको निश्चित अवधि हुन्छ काजको, राहत दरबन्दीलाई काज भन्ने नै हुँदैन,’ विद्यालय स्रोतव्यक्ति रामकुमार हुमागाईं भन्छन् । लामालाई जिल्ला शिक्षा कार्यालयले ०७१ कात्तिकमा श्री भूमिस्थान मावि सिसाखानीमा काजमा पठाएपछि सो विद्यालयको पठन–पाठनमा समस्या भएको छ । काजमा पठाएको भनिएकी शिक्षिका लामा काजमा बसेको डेढ वर्ष भयो । तर, उनको काज सकिएको छैन । यसरी राहत दरबन्दीको शिक्षक काजमा पढाएपछि विद्यालयको पठन–पाठनमा समस्या देखापरेको स्थानीय अभिभावक सुदर्शन केसीले बताए ।

सहायक जिल्ला शिक्षा अधिकारी फटिकबहादुर केसी राहत शिक्षकलाई काजमा राख्न नमिल्ने बताउँछन् । ‘पहिलो कुरा खाली ठाउँ नै हुन्न, त्यसैले सरुवा वा काजमा पठाउन मिल्दैन,’ केसीले भने, ‘भूकम्पले समस्या ल्याएको भए, शारीरिक अशक्त भए वा औचित्यपूर्ण कारणसहित पेस भएमा हुन सक्छ ।’ तर, काजमा बसेकी लामा न त शारीरिक अशक्त हुन्, न त भूकम्पका कारण काजमा बसेकी हुन् । केसीको भनाइअनुसार उनलाई काजमा पठाउनै मिल्दैन ।

तत्कालीन जिल्ला शिक्षा अधिकारी राकेश श्रेष्ठलाई समेत थाहा नदिई विद्यालय प्रशासन अधिकृत तुलबहादुर महत र नेपाल शिक्षक संघका अध्यक्ष अश्विनकुमार चौलागाईंको मिलेमतोमा उनलाई काजमा पठाइएको खुलासा भएको छ ।

लामालाई महतको ठाडो आदेशमा डेढ वर्षअघि काजमा पठाइएको जिल्ला शिक्षा कार्यालय स्रोतले बतायो । विद्यालयकी प्रअ माया तामाङका अनुसार दुईजना शिक्षकमा पनि एकजना शिक्षा नियमावलीविपरीत यसरी काजमा पठाएपछि यतिखेर विद्यालयको पठन–पाठनमा असर परेको छ । विद्यालयको काम लिएर कहीँ जानुपर्‍यो भने विद्यालय बन्द गर्न बाध्य भएको प्रअ तामाङ बताउँछिन् । ‘बैठक, तालिम, गोष्ठी हुँदा विद्यालय नै बन्द गर्न बाध्य छु म,’ तामाङले भनिन्, ‘म प्रअ भएपछि जिल्लामा पनि बारम्बार आउनुपर्ने हुन्छ । कसले सम्हाल्ने विद्यालय ? त्यसैले बन्द गर्नुको विकल्प छैन ।’

विद्यालयकी प्रअ तामाङका अनुसार विद्यालयमा राहत दरबन्दीमा पहिला सुनिता बस्नेत थिइन् । ‘बस्नेतको बिहे भइसकेपछि उनले दिएको राजीनामा स्वीकृत भयो । अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला शिक्षा कार्यालय काभ्रेको अनुमतिमा शिक्षक आवश्यकताको विज्ञापन सार्वजनिक गरेँ,’ उनले भनिन् । तामाङका अनुसार आवदेन दिन आउनेको संख्या पाँचजना भयो । तर, विद्यालय प्रशासन अधिकृत महतले परीक्षाको मिति नै तोक्न मानेनन् ।

उनले शिक्षा सेवा आयोगको परीक्षाफल प्रकाशित भएको कारण देखाउँदै माथिबाट आदेश आएकाले परीक्षा लिन मिल्दैन भने । पासाङमाया लामा श्री भूमिस्थान मावि सिसाखानीको अस्थायी शिक्षिका थिइन् । उनी त्यतिखेर विस्थापितमा परिन् । नेपाली कांग्रेसनिकट लामालाई शिक्षक संघका जिल्ला अध्यक्ष चौलागाईंको आग्रहमा महतले धनलक्ष्मीदेवी प्राविमा राहत शिक्षकका रूपमा पठाइदिएको तामाङको दाबी छ ।

शिक्षक अभावका वेला विद्यालयमा शिक्षक आउँदा कुनै पनि असान्दर्भिक प्रतिक्रिया नदिएको तामाङले बताइन् । ०७१ को दसैँ बिदा हुन तीन दिन मात्र बाँकी भएका वेला लामा विद्यालय पुगेकी थिइन् ।

नयाँ पत्रिकामा राजकुमार गोलेले लेखेका छन् ।

प्रतिक्रिया