Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षक सेवा आयोगको संरचनामा परिवर्तन

मंगलबार, २६ असोज २०७२

काठमाडौं २६ असोज / विशिष्ट श्रेणीको निश्चित अवधिको अनुभव नभएपनि शिक्षक सेवा आयोगको अध्यक्ष हुन मिल्ने प्रावधान तयार भएको छ । विद्यमान ब्यवस्था अनुसार ५ बर्ष विशिष्ट श्रेणीको अनुभव भएको ब्यक्ति मात्रै अध्यक्ष हुने प्रावधान छ । तर, शिक्षा मन्त्रालयले ब्यवस्थापिका संसदमा दर्ता गराएको शिक्षा ऐन आठौं संसोधनमा आयोगको अध्यक्ष हुन सेवा अवधिको कुनै सिमाना तोकिएको छैन । संसदले यही प्रावधान पारित गर्यो भने एक दिन मात्रै सचिव भएर निवृत्त भए पनि सबै पूर्व सचिव अध्यक्ष हुन सक्ने बाटो खुल्ला हुने छ । 

विद्यमान ऐनको दफा ११ ग मा अध्यक्षको लागि नेपाल सरकारको विशिष्ट श्रेणीमा कम्तिमा ५ बर्ष र सदस्यको लागि कानून शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ बर्ष काम गरेको हुनु पर्ने ब्यवस्था छ ।
तर संसोधित ऐनमा बिशिष्ट श्रेणीमा कम्तीमा ५ बर्ष भन्ने शब्दहरुको सट्टा विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको भन्ने शब्द राखिएको छ । सदस्यको योग्यतालाई भने यथास्थितीमै राखिएको छ । छनौटको दायरा फराकिलो बनाउन ऐनमा संसोधन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

यसैगरी संसोधित ऐनमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै आयोगको संरचनामा समेत परिवर्तनको प्रस्ताव गरिएको छ । विद्यमान ब्यवस्थामा अध्यक्ष सहित अन्य २ जना सदस्य रहने प्रावधान भएपनि संसोधित ऐनमा अध्यक्ष र एक जना महिला सहित अन्य २ जना सदस्यहरु रहने उल्लेख छ । 

यस अघि शिक्षकको मात्रै नियुक्ति र बढुवाको सिरफारिस गर्दै आएको आयोगले अव देखि कर्मचारीको समेत नियुक्ति र बढुवा गर्ने भएको छ ।
यो पनि पढ्नुहोस्

नयाँ ऐनमा फेरिएको शिक्षक/कर्मचारी नियुक्तिको प्रावधान

प्रतिक्रिया