उपत्यकाको सडक र ट्राफिक व्यवस्थाबाट आम नागरिक कति प्रताडित छन् भन्ने विषय लेखिरहनु पर्दैन, किनकी यो दिनहुँ भोगिएको विषय हो । धुलो, धुवाँ र घण्टौसम्मको जाम र सवारी साधनको कुराइ उपत्यकाका विशेषता जस्तै भइसके । यो भोगाइको मात्रामा अझ कष्ट त्यति बेला थपिन्छ जब सडकमै अमूक समूहका “कार्यक्रम” सञ्चालन हुन्छन् वा “विशिष्ट व्यक्तिको सवारी” चल्छ । समय समयमा सुनिने र देखिने दुर्घटनाका समाचारले भएको पीडामा अझ नुन चुक छर्कने काम गर्छन् । आम नागरिकले दिनहूँ भोगिरहेका यी र यस्तै कष्टलाई तत्कालमा कम गर्न केहि उपाय होलान कि ?
समस्या सम्बोधनका लागि सडक चौडा पार्ने, आकाशे फ्लाइ ओभर बनाउने, जमीन मुनिबाट अण्डरपास बनाउने, ठूला सवारी साधन सञ्चालन गर्ने वा यस्तै अन्य ठूला काम गर्नुपर्छ भन्ने नसुनेको पनि होइन । आशालाग्दा यस्ता कुरा सुनेको पनि धेरै भइसक्यो तर अवस्थामा सुधारको गति अत्यन्त धिमा छ । सुधार शुरु भए नभएको महसुस गर्न कठिन जस्तै छ ।
उपत्यकाको ट्राफिक व्यवस्थामा सुधार ल्याउन दिर्घकालिन र तत्कालिन रुपमा गर्नुपर्ने कार्यहरु धेरै हुन सक्छन् । आशा गरौं, यातायात व्यवस्थापन सुधारका ठूला ठूला काम पनि यो मुलुकमा कुनै दिन होलान् र ठिक्क अड्कलेको समयमा भनेको स्थानमा पुग्न सकिएला । घरमा रहेको सानो छोराछोरीलाई आमाले समयमै दुध चुसाउन पाउने छिन् । तर हरेक विहान, बेलुका वा दिनमा एक पटक भन्दा बढि यहि सडकबाट विभिन्न ठाँउमा यात्रा गर्नुपर्ने यात्रुका लागि पछि सुधार होला भन्ने विषयले कति अर्थ राख्ला ?
घरमा आमाको दुध खान पर्खि बसेको अवोध बालक वा बालिकालाई भोलि हुन सक्ने सुधारले कति अर्थ राख्ला ? हुन त मानिसको जिन्दगी आशामा अडेको हुन्छ भन्ने गरिन्छ । आशालाई विश्वासमा बदल्न सुधारका संकेत देखिनु पनि पर्छ । यहाँ सुधारको ठूलो कुरा गर्न खोजिएको छैन । साना काममा सुधार गरे अवस्थामा बढोत्तरी आउन सक्छ भन्ने हो । हामी सबैले गरिआएको तर त्यसमा थोरै सुधार गर्ने काम यहाँ उठाउन खोजिएको छ ।
सुधारको शुरुवात नागरिकबाट गर्दा पनि हुन्छ भन्ने सन्देश प्रवाह गर्नमा पनि यो आवश्यक छ । शिक्षालाई व्यवहारिक बनाउनका लागि पनि यस्ता कामहरु जरुरी छन् । यस्ता ससाना काममा नागरिकका तर्फबाट सुधार गर्न शुरु गर्दा यसको असर र प्रभाव सकारात्मक रुपमा फैलिन सक्छ भन्ने सन्देश प्रवाह गरेर सकारात्मक सोचको विकास गर्न पनि आवश्यक छ । साना कामहरु मध्येको एउटा काम नागरिकले सडक प्रयोग गर्दा अपनाउने व्यवहार र संस्कारसँग सम्बन्धित हुन सक्छ ।
प्रतिनिधिमूलक घटनाको रुपमा मैले बानेश्वरको संसद भवनको पश्चिम दिशामा रहेको आकाशे पुल र यसको प्रयोग गर्ने विषय छानेको छु । यस्ता घटना सडकका धेरै स्थानमा भइरहेका हुन सक्छन् जसमा सुधार हुन आवश्यक छ भनिन्छ, तर भइरहेको छैन ।
सडकमा आकाशे पुलको व्यवस्था गर्नु भनेको यात्रुहरुले उक्त पुलको प्रयोग गरुन र सवारी साधन सडकबाट नियमित रुपमा गुड्न पाउन भन्नका लागि होला । यसबाट यात्रुहरुको सुरक्षा र सडकमा सवारी साधनको नियमित प्रवाह दुवै हुन सक्छन् । तर बानेश्वरमा रहेको उक्त आकाशे पुल “किन बनाइयो होला” भन्ने प्रश्न मेरो मनमा निरन्तर उठ्ने गर्दछ । म जति पटक सो बाटो हिड्छु त्यहाँ आकाशे पुलबाट भन्दा सडकबाट बाटो काट्नेको सङ्ख्या बढि हुन्छ । व्यक्तिहरुले आकाशे पुलको प्रयोग शायद गर्दैनन् । बिरामी, घुडाँ दुख्नेलाई त पुलमा जान समस्या भयो होला भन्ने अनुमान गर्न सकिएला, तर वयस्कहरु निर्वाध रुपमा बाटो काटेको देखिन्छ । कति हाते साङ्लो बनाइ बाटो काटिरहेका हुन्छन् । सडकमा गुड्ने सवारी साधनको हिसाबले अति व्यस्त मानिने उक्त सडकमा यात्रुले ठूलो जोखिम मोलेर सडकबाट बाटो काटिरहेको महशुस हुन्छ । कतिपय अवस्थामा ट्राफिक प्रहरीले पुलबाट बाटो काट्न यात्रुहरुलाई संकेत गरेको पनि देखिन्छ तर यात्रुहरुले उक्त अनुरोधलाई पालना गरेको पाइदैन । अन्तत उक्त प्रहरी नै सडकबाट बाटो काट्ने यात्रुहरुलाई सहयोग गर्न पुगेको जस्तो देखिन्छ ।
अनुमान गर्न सकिन्छ, आकाशे पुल मुनिबाट बाटो काट्ने मध्येका धेरै जना पढे लेखेकै छन् । अझ कतिका त एकभन्दा बढि डिग्री पनि हुन सक्छन् । ती कुनै पनि प्रमाणपत्रले काम गरेको अनुभव त्यहाँ हुदैन । पढाइ र उमेरका हिसाबले हामी वयस्कहरुको व्यवहारबाट बालबालिकाले के सिके होलान् ? हामीलाई यस बारेमा सोच्ने फूर्सद कहाँ छ र ? हामी सबैलाई छिटो पुग्नु छ, अरुलाई उछिन्नु छ, सफल बन्नु छ । हरेकलाई लाग्दो हो, मलाई हतार भएर पो यहाँबाट हिडेको ? मैले सधै नियम मानेकै थिएँ आज हतार भएर त हो नि भन्ने लाग्न सक्छ । त्यहाँ बाटो काट्ने मध्ये सबै जसोलाई नियम थाहा छ, नियम मान्नु पर्छ भन्ने पनि थाहा छ । तर व्यवहारमा के गरिरहेका छौं भन्दा जिम्मेवारी र दायित्वबोध लिने कमै भेटिन्छन् । संस्कार नै यस्तै बन्दै गइरहेछ ।
शिक्षाको क्षेत्रमा नै काम गरिरहेको भएर हो कि कलेज वा विद्यालय पोशाकमा रहेका विद्यार्थी आकाशे पुल प्रयोग नगरेर सडकबाट बाटो काटिरहेको देख्दा मेरो मन अझ चसक्क घोच्न पुग्छ । मनमा अनेक कुराहरु खेल्न थाल्छन् । कतै पाठ्यक्रममा यस्ता विषय समावेश गरिएको छैन कि भनेर सोच्छु । हाम्रा सामाजिक मूल्य, मान्यता र संस्कारका बारेमा सोच्न पुग्छु । पूर्वीय सभ्यता, मूल्य मान्यता र संस्कारका बारेमा सोच्न पुग्छु । सामाजिक नियम, आचरण र सामाजिक व्यवहार सम्झन पुग्छु । सामाजिक शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तकमा समावेश गरिएका विषयवस्तु सम्झन पुग्छु । पत्रपत्रिका र सामाजिक सञ्जालमा छाएका उपदेश सम्झन पुग्छु । घरपरिवार र समाजमा समय समयमा भएका र हुने गरेका छलफल एवम् अन्तरक्रियाका बारेमा अनुमान गर्छु । किनकी हरेक घरपरिवारले आफ्ना छोराछोरीलाई दुर्घटना प्रति सचेत बनाएकै हुन्छन् होला । यतिका व्यवस्था हुदाँहुदैँ पनि विद्यार्थी आफैले किन आकाशे पुल प्रयोग नगरी सडकबाट बाटो काटेका होलान त ?
विद्यालय र कलेजका विद्यार्थीले आकाशे पुलमुनिबाट निर्वाध ढँगबाट हतार हतारमा बाटो काटिरहदाँ हेर्ने र देख्ने व्यक्तिलाई विद्यार्थीलाई सम्झाउन फूसर्द छैन ? विद्यालयको माथिल्लो कक्षा वा कलेजमा पढ्ने तीनै विद्यार्थीलाई यो आकाशे पुल किन बनायो होला भनेर सोच्ने ज्ञान कहाँ गयो होला ? लाग्छ यीनलाई पनि वयस्कलाई जस्तै हतार छ, अरुलाई उछिन्न छ । अर्काको कमजोरीमात्र देख्ने बानी परेका हामी धेरै “अर्गनाइजेशन सिटिजनसीप विहेभिअर” पढ्ने वा पढाउने गर्छौँ तर आफैले व्यवहारमा प्रयोग गर्न भने कन्जुस्याइ गर्छाैँ ।
कहिले काँहि त म आफै बाटोमा उभिएर विद्यार्थीलाई आकाशे पुलबाट बाटो काट्नु पर्छ भनेर भनौं जस्तो लाग्छ । तिमीहरुले कक्षाका पढेनौ कि पढेर पनि प्रयोग नगरेको भनेर सोधौं कि जस्तो लाग्छ ? तिमीहरुलाई शिक्षक वा प्राध्यापकले के पढाउनु भयो ? भनेर सोध्न मन लाग्छ ! किन किन म यो काम गर्न सक्दिन । सरकारी कर्मचारी भएर हिँड्ने म जस्ताका केहि विवशता अगाडि तेर्सिन आइपुग्छन् । यदि म त्यहाँ बाटोमा ओर्लेर पुलबाट बाटो काटौं न भनेर अनुरोध गर्ने हो भनि मैले व्यहोर्नु पर्ने पहिलो प्रश्न आफू सरकारी गाडि चढेर हिड्ने अरुलाई आर्दश सिकाउने भन्ने हुन सक्छ ! वा आफू हिरो बन्नका लागि यसो गरिरहेछ भन्ने पनि हुनसक्छ ! प्रहरीले गर्नुपर्ने काम यसले कति दिन गर्न सक्ला र भन्ने पनि हुन सक्छ ! यस्तै यस्तै अन्य थुप्रै प्रश्न पनि म तर्फ सोझिन सक्छन् जुन मेरो हैसियतले थाम्न नसक्ने हुन्छ होला, अनुमान मात्र गर्छु ।
मन जति हुँडुलिए पनि मैले केहि गर्न सकिरहेको छैन । शायद मलाई जस्तै हुटहुटी अन्यलाई पनि लागिरहेको हुनुपर्छ, फेरी मनमनै सोच्छु । फेरी सोच्छु शुरुवात त कसै न कसैले गर्नै पर्छ होला ? हरेक सुधारका पछाडि “कस्ट” लागेको हुन्छ भन्ने मैले पनि पढेँ तर उक्त “कस्ट” ब्यहोर्ने सामथ्र्य म मा देखिएन । म सोच्छु कसै न कसैले त यो “कस्ट” बहन गर्न शुरु गरेर सुधारका कार्य थाल्छ कि ? कसैले शुरु गरे म पनि जोडिन सक्छु भन्ने सोच ममा आउन थाल्छ । हरेक विकासमा नागरिकको योगदान चाहिन्छ भन्ने म र मजस्ता धेरैलाई थाहा छ, तर व्यवहारमा मैले पनि अरु नै अगाडि आएको देख्न चाँहे । फेरी मनमा तुवाँलो उठ्छ, हामी विकासका लागि योगदान दिन तयार हुनुपर्छ । शायद पहिलो योगदान आफूलाई तोकिएको जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने वाक्य सम्झिएर तत्काल उक्त सडकबाट पन्छिन खोज्छु ।
मैले यो लेखमा यस्तो विषय उठाइरहदाँ कतिपयलाई शिक्षा नीति नै खराब भएर यस्तो अवस्था सृजना भएको हो भन्ने पनि लाग्न सक्छ । शिक्षामा काम गर्नेले शिक्षा नीतिमा सुधार गर्नतिर नलागी यो के रोइलो गरेको भन्ने प्रश्न पनि म तर्फ तेर्सिन सक्छ !
अनि मन मनै सोच्छु, आकाशे पुल मुनिबाट बाटो काट्ने मध्ये धेरै विद्यार्थीले सामाजिक शिक्षामा “ए”ग्रेड ल्याएका हुन सक्छन् । त्यस्तै अवस्था कलेज पढ्ने विद्यार्थीको हुनसक्छ । सामाजिक शिक्षामा सोधिएका प्रश्नमा उत्तर लेखेर उच्च ग्रेड ल्याउने तर त्यहि विषय व्यवहारमा प्रयोग गर्न नसक्ने किन होला ? उक्त विषय पढाउने शिक्षक वा प्राध्यापकलाई यो प्रश्न सोध्न मन लाग्छ । यस्तै शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन र विद्यालयका विविध पक्षहरुमा अध्ययन अवलोकन गरी सुझाव दिनुपर्ने विद्यालय निरीक्षक र स्रोत व्यक्तिलाई सोध्न मन लाग्छ ।
यहि क्रममा पूर्वीय दर्शनका चाणक्य, द्रोणाचार्य, शुक्रराज आदिलाई सम्झन पुग्छु, उनीहरुले आफ्ना चेलामा हासिल गराएको ज्ञान र सीपको मात्रा सम्झेर म आफै नतमस्तक बन्न पुग्छु । मनमनै सोध्छु, यो प्रश्नको उत्तर त पाठ्यक्रम विकास केन्द्र, शिक्षा विभाग, शिक्षा मन्त्रालय र यसका पदाधिकारीले पनि दिनुपर्छ होला । म आफै पनि यसमा जिम्मेवार छु जस्तो लाग्छ । अनि मन मनै सोध्छु मेरो जिम्मामा जति आउँछ म आफूले पनि व्यहोर्नुपर्छ । अनि पुन आफैलाई प्रश्न गर्छु आखिर के कमजोरी अर्थात् कहाँ भएको कमजोरीले यस्तो अवस्था सृजना गरिरहेछ ? आत्मबोध किन भइरहेको छैन वा भएर पनि केहि गर्न किन सकिएन ? विद्यालय तहमा काम गर्नेले माथिको कमजोरीका कारण यस्तो भइरहेछ र माथिल्लो तहमा काम गर्नेले विद्यालयमा काम गर्नेको कमजोरीले यस्तो भइरहेछ भनेर कति दिन बस्ने ? उत्तर म सँग पनि भए जस्तो लागेन । तर सुधारका काम आफूबाट शुरु गर्नुपर्छ भन्नेमा म आफू चाँहि विश्वस्त छु ।
हरेक वर्षको माध्यमिक शिक्षा परीक्षाको नतिजा पश्चात विद्यालयहरु अझ खासगरी निजी विद्यालयले पत्रिकामा प्रकाशित गर्ने विज्ञापन सम्झन पुग्छु । नयाँ भर्ना हुन आउने विद्यार्थीलाई आकर्षित गर्नका लागि मेरा विद्यार्थीले यस्तो ग्रेड ल्याए, उस्तो ग्रेड ल्याए भनेर रंगिन विज्ञापन आउने गर्छ । विद्यार्थीले परीक्षामा हासिल गरेको नतिजालाई अन्य नयाँ विद्यार्थी आर्कषण गर्नमा प्रयोग गर्ने विद्यालयहरुले विद्यार्थीले गर्ने व्यवहारको जिम्मा लिन पर्दैन र ? यीनै विद्यालयलाई कतै तपाईंका विद्यार्थीले आकाशे पुल छोडेर सडकबाट बाटो काटिरहेका त छैनन् भनेर सोध्न मन लाग्छ ? उत्तर शायद यस्तै आउँछ होला, “शिक्षा नीति” नै खत्तम छ ।
जिम्मेवारी लिने र दायित्व बोध भन्ने विषय त हामी भन्दा धेरै टाढा भएजस्तो लाग्छ । सबैलाई छिटो छिटो कमाउन र सुख सुविधा उपभोग गर्नमा हतारो छ । पहिला आफ्नो बारेमा सोचौं अनि अरुलाई हेरांैला भन्ने मानसिकतामा हामी छौं । आखिर किन यस्तो ? अर्कालाई मात्र दोष थोपरेर उन्मूक्ति लिने प्रवृत्ति कति दिन सम्म राख्ने ? सामाजिक शिक्षाको पाठ्यक्रममा भएको उपलब्धि विद्यार्थीमा हासिल गराउने दायित्व शिक्षक र विद्यालयको होइन र ? के यो पनि अरुको कमजोरी हो ? कहिले काँही त मलाई समग्र शिक्षा प्रणाली भित्र भन्दा पनि हाम्रो आफ्नो संस्कारमा नै कमजोरी छ जस्तो लाग्छ । कतै शिक्षक, शिक्षाका कर्मचारी वा प्राध्यापक नै जेब्रा क्रसिँग वा आकाशे पुल प्रयोग नगरेर व्यस्त सडकमा जथाभावी रुपमा बाटो काटिरहेका त छैनौं ? अनि हामीले भन्ने अनुशासनलाई विद्यार्थी र आम नागरिकले के कसरी लिएका होलान ? कतै हामी भन्न जान्ने व्यवहारमा प्रयोग गर्न नसक्ने वा नजान्ने वर्गको रुपमा त देखिएका छैनौं समाजमा ?
हरेक मुलुकको विकास त्यहिँका नागरिकको योगदानबाट हुने हो । बाहिरबाट आएर कसैले पनि मुलुकको विकास गरिदिने छैन । विकास भनेको ससाना समस्या तथा मुद्दाहरुको सम्बोधन गर्दै जादाँ हासिल हुने अवस्था पनि हो । यो आफैमा एउटा प्रकृया र विशिष्ट अवस्था पनि हो । विकास केवल भौतिक विकास मात्र होइन । विकास भनेर एकै पटक ठूला काम हुने पनि होइनन् । हजार माइलको यात्रा पहिलो पाइलाबाट शुरु हुन्छ भने जस्तै हरेक व्यक्तिले गर्ने सानो सुधारबाट नै विकासको थालनी हुन्छ । अर्काले के गरेन भन्दा पनि मैले के गर्न सकेँ भन्ने नागरिक संस्कारबाट विकासमा अन्य ढोकाहरु खुल्ने हुन । एक छिन सोचौं त ? विद्यालय एवम कलेज तहमा अध्ययन गर्ने लगभग ८० लाख विद्यार्थीले एउटा सानो काममा सुधार गरे भने एकै पटक कति ठूलो उपलब्धि हासिल हुन्छ होला ?
विद्यार्थीबाट ट्राफिक नियमको पालना गर्न शुरु गर्ने हो भने नागरिक सचेतनाको विकासमा कति सहयोग पुग्ला ? यसलाई कुनै ठूलो काम गर्न पर्दैन । आजकै दिनबाट विद्यालय र कलेजका कक्षा कोठामा जेब्रा क्रसिंङ् भन्दा अन्यत्रबाट बाटो नकाट्ने व्यवहार विकास गर्न सहयोग पुग्ने क्रियाकलाप शुरु गर्न सकिन्छ । विद्यालयले तोकिएको ठाँउ भन्दा अन्यत्रबाट बाटो काट्यौ भनेर सोध्ने र त्यसलाइ कम गर्नेतिर लाग्न सक्छ । यसका असरका बारेमा बुझाउन सक्छ । यी काम गर्न अहिलेको शिक्षा नीतिले रोक्दैन, भएको नीतिमा थप पनि आवश्यक पर्दैन, थप स्रोतको आवश्यकता पनि पर्दैन, व्यवहारिक शिक्षा भएन भन्न पनि पर्दैन । शिक्षाका विषयवस्तु आफै व्यवहारिक हुने पनि होइनन् । सैद्धान्तिक अवधारणालाई प्रयोग गर्न गराउन सके व्यवहारिकता त्यहिँबाट हासिल हुन्छ ।
हामी मध्ये कतिलाई लाग्दो हो विद्यार्थीलाई आकाशे पुलबाट हिँड्न लगाउने काम त ट्राफिक प्रहरीको हो । प्रहरीले सडक सप्ताह वा यस्तै यस्तै अवसरमा विद्यार्थीलाई यी कुरा सिकाइ हाल्छन नि भन्ने गरिएला । हामीले कक्षा कोठामा पनि पढाएकै छौं भन्ने पनि लाग्ला । हामी यसमा किन लाग्ने भन्ने पनि हुनसक्छ ! हाम्रो यहि अवधारणामा आजबाट नै परिवर्तन चाहिएको छ । सामाजिक लाभ सृजना गर्ने विषय सबै नागरिकको दायित्व भित्र पर्छन् । यस्त कार्यमा हामी सबैको दायित्व छ भनेर बुझने बुझाउने गर्नु आवश्यक छ । यदि विद्यार्थीलाई सडक अनुशासनका विषयहरु बुझाउने र सोको परिपालना गराउन सकेमा सुधारको पहिलो पाइला यँहिबाट शुरु हुन्छ । तसर्थ आउनुहोस् हातेमालो गरौं । हाम्रा विद्यार्थीलाई सडक अनुशासन वा व्यवहारमा परिवर्तनबाट समाजका यस्तै ससाना समस्याहरु समाधान गर्नमा लगाउँ ।
ठूला ठूला विज्ञापन गर्ने विद्यालयहरुलाई पनि मेरो अनुरोध छ कि मेरा विद्यार्थी सडकमा जेब्रा क्रसिङ्बाट मात्र बाटो काट्छन् वा आकाशे पुलबाट मात्र हिड्छन् भनेर घोषणा गर्ने कार्य शुरु गरौं । आकाशे पुल भन्दा अन्यत्रबाट मेरा विद्यार्थी हिँड्दैनन् भनेर घोषणा गर्ने कार्य शहरका विद्यालयहरुले आजबाट नै शुरु गर्न सक्छन् । संसारका विश्व प्रसिद्ध र उच्च हैसियतमा रहेका शैक्षिक संस्थाहरुले विद्यार्थीमा ज्ञान मात्र प्रदान नगरेर संस्कारको पनि विकास गरेका हुन्छन् भन्ने गरिन्छ । सो को नक्कल हामीले किन नगर्ने ? हाम्रा विद्यालयले किन नगर्ने ? हाम्रा विद्यालयहरुले पनि विद्यार्थीहरुमा संस्कार र गुण विकास गर्नमा प्रतिष्पर्धा गर्न सक्छन् । हेर्दा साना देखिने तर गर्नै पर्ने कार्यहरुमा ध्यान दिन सक्छन् । सुधार गरेका विषयहरुलाई विज्ञापनको रुपमा प्रयोग गरेर प्रचार प्रसार गर्न सक्छन । र त्यसमा गर्व गर्न सक्छन् ।
भएको अवस्थामा सुधार ल्याउनका लागि हामी सबैले आ आफ्नो ठाँउबाट केहि न केहि योगदान त गर्नै पर्छ । विकसित मुलुक बनेका त्यहिँका नागरिकको योगदान र प्रयासबाट हो भन्ने पनि हामीले सम्झनु पर्छ । विकसित मुलुक आज त्यहाँ छन् किनकी हिजोका दिनमा त्यहाँका नागरिकहरुले योगदान दिए, त्यसैको प्रतिफल आजका नागरिकले लिएका हुन् । तर हामीले आजका दिनमा केहि न केहि सुधारका काम गर्नुपर्ने छ । हामी विकास सम्बन्धी ठूला कुरा गर्ने संस्कारबाट बाहिर आउन जरुरी छ । सर्वप्रथम आफ्नो जिम्मेवारी पुरा गर्नु पर्नेछ । ससानो काममा सुधार गर्दै गए पछि मात्र त्यसको असर र प्रभाव ठूलो हुन्छ भन्ने सिक्न र सिकाउन बाँकी छ ।
सुधारका थुप्रै काम हामीबाट हुन बाँकी छ ।
हाम्रै प्रयासबाट धेरै काम हुन सक्छन् ।
आज हामी विद्यालय र कलेजका विद्यार्थीलाई जेब्रा क्रसिङ्बाट बाटो काट्ने वा आकाशे पुलबाट मात्र हिँडने संस्कार विकास गर्नमा सामूहिक रुपमा लागौं । एकले अर्कोलाई दोष लगाउने भन्दा पनि सबैले हातेमालो गरौं । आज हाम्रा विद्यार्थीमा विकास गरेको संस्कार, बानी र व्यवहार यीनीहरुले आफूले प्रयोग गर्दै भोलिका पुस्तामा स्वतः स्थानान्तरण गर्न सक्छन् । जब यो पुरा हुन्छ अनि अर्को सामाजिक समस्या समाधानमा लागौला । यस्तै कार्यबाट समाज र शिक्षामा सुधार देखिन सक्छ । र समाजले शिक्षाबाट खोजेको पनि यस्तै यस्तै सुधारका काम हो ।
व्यवहार परिमार्जन र परिष्कृत हुदैँ गए पछि अन्य समस्यासँग जुध्ने र समाधान गर्ने शैली त्यहिँबाट सृजना हुन सक्छ । ससाना कामबाट ठूलो समस्या समाधान गर्न सकिन्छ । अनि शिक्षा व्यवहारिक भएन भन्नेलाई पनि उत्तर मिल्छ ।
(लम्साल शिक्षा मन्त्रालयका सहसचिव हुन् ।)
प्रतिक्रिया