Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

त्रिविको शैक्षिक तालिका अस्तव्यस्त

मंगलबार, २६ असोज २०७२

काठमाडौं २६ असोज / भूकम्प र तराईमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालयको शैक्षिक तालिका अस्तव्यस्त बनेको छ । त्रिविले असोज ३ देखि २१ गतेसम्म स्नातक तह पहिलो वर्षको परीक्षा लिए पनि तराईका आठ जिल्लाका २२ केन्द्रमा भने सञ्चालन हुन सकेको छैन । ‘तराई आन्दोलनले परीक्षा हुनुअगावै ती जिल्लाका केन्द्राध्यक्षले जाँच लिन नसक्ने जनाए,’ परीक्षा नियन्त्रक केशव बास्तोलाले भने, ‘ती केन्द्रमा स्थगित गरेर अन्यत्रको सञ्चालन गरेका छौं । अब अनुकूल समयमा त्यहाँ पनि लिनेछौं ।’ २२ केन्द्रमा करिब १२ हजार परीक्षार्थी छन् ।

स्नातक तहमा देशभर २ लाख २२ हजार परीक्षार्थी छन् । एक विद्यार्थी बराबर ५ विषयको उत्तरपुस्तिका हुन्छन् । कम्तीमा १२ लाख उत्तरपुस्तिका बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा रुजु हुनुपर्छ । तराई आन्दोलन र इन्धन अभावका कारण देशभरबाट उत्तरपुस्तिका संकलन गरी राजधानी केन्द्रमा ल्याउन बाँकी छ । रुजु भएका उत्तरपुस्तिकालाई कोडिङ गरिनेछ । कोडिङपछि देशभरका विभिन्न परीक्षण केन्द्रमा पठाउनुपर्ने छ । सबै उत्तरपुस्तिका परीक्षण राजधानीमा सम्भव नभएकाले पूर्वमा इलामदेखि पश्चिम कैलालीसम्मका केन्द्रमा पठाउनुपर्छ । उत्तरपुस्तिका जाँच्न ढिलाइ हुने भएपछि नतिजा प्रकाशनसमेत धकेलिने निश्चित छ ।

उत्तरपुस्तिका संकलन भए पनि तत्काल परीक्षण केन्द्रमा पुर्‍याउन सम्भव नरहेको नियन्त्रक बाँस्तालाले बताए । ‘आजैबाट तराईको अवस्था सहज बने पनि कार्यतालिका २ महिना पछाडि धकेलिइसकेको छ,’ उनले भने, ‘मंसिरमा लिनुपर्ने स्नातकोत्तर प्रथम वर्षको परीक्षा फाराम तराईमा भराउन सकिएको छैन ।’ त्यसनिम्ति बिदाका दिनमा समेत काम गरेको बास्तोलाले बताए ।

अर्कातर्फ उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को नतिजा दुई साता ढिलो प्रकाशन गरेकाले स्नातक प्रथम वर्षको भर्ना प्रवेश परीक्षा तालिका पनि सार्नुपरेको छ । इन्धन अभावले विश्वविद्यालयले कुनै पनि काम सुचारु गर्न सकेको छैन । ‘यी सबै समस्या एकैचोटि शृंखलाबद्ध असरका रूपमा जेलिएर आएका छन्,’ केन्द्रबाट मात्र समस्या समाधान गर्न सक्ने स्थिति नरहेको उल्लेख गर्दै बास्तोलाले भने, ‘नियमित परीक्षाको नतिजा प्रकाशन, त्यसपछि हुने पूरक परीक्षा सञ्चालन एकले अर्कोलाई ढिलाइ गराएका छन् ।’

त्रिविको शैक्षिक तालिका सुधारका निम्ति नियन्त्रण कार्यालयको प्रयासले मात्र सम्भव नरहेको विश्वविद्यालयको भनाइ छ । त्रिवि उपकुलपति तीर्थराज खनियाँले देशको राजनीतिक परिस्थितिबाट विश्वविद्यालय अलग रहन नसकेको बताए । ‘विश्वविद्यालय सुधारका निम्ति अब कस्तो खाले कार्यतालिका र क्यालेन्डर बनाउने भन्नेबारे गृहकार्य गर्दैछौं,’ उनले भने, ‘तत्कालै यसो गर्छु भनेर बोल्ने अवस्था छैन । तैपनि चाँडै सुधारको बाटो पहिल्याउनेछौं ।’

कान्तिपुरमा गणेश राईले लेखेका छन् ।

प्रतिक्रिया