Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

विनाकारण भारतमा रोकिए विद्यार्थीका पासपोर्ट

आइतबार, २४ असोज २०७२

विनाकारण भारतमा रोकिए विद्यार्थीका पासपोर्ट

काठमाडौं २४ असोज / विदेश अध्ययनका लागि भारतमा रहेका विभिन्न देशका दूतावासहरूमा भिसा आवेदन गरेका नेपाली विद्यार्थीको पासपोर्ट भारतबाट नेपाल नआउँदा विद्यार्थीलाई समस्या सिर्जना गरेको छ ।
भर्नाको समय सकिन लाग्दा पनि पासपोर्ट नआएपछि विद्यार्थीसमेत अन्योलमा परेका छन् । शैक्षिक परामर्शदाताहरूको संस्था इन्टरनेसनल एजुकेसन रिप्रिजेन्टेटिभ इनिसिइटिभ्स अफ नेपाल (आइरिन)ले भिएफएस इन्डियाबाट नेपाली विद्यार्थीको पासपोर्ट आउन विनाकारण अत्यधिक ढिलाइ भएको भन्दै चासो व्यक्त गरेको छ ।

भिसाका लागि हजारौँ नेपाली विद्यार्थीले भारतस्थित क्यानडा, इटाली, फ्रान्स र युकेका दूतावासमा भिसा आवेदन दिएका थिए । तर, यी दूतावासहरूबाट पासपोर्ट वितरणमा अनुमति नदिइएको आइरिनले जनाएको छ ।
आइरिनका अध्यक्ष प्रेम पाण्डेले पासपोर्ट किन नपठाएको विषयमा जानकारी नै नभएको बताए । पाण्डेले यी राजदूतावासमा लगभग १५ सयदेखि दुई हजारसम्म विद्यार्थीको पासपोर्ट रहेको बताए ।
सेम्टेम्बर अक्टोबर सेसनमा भर्ना हुन आवेदन दिएका थिए । कतिपय देशका कलेजमा यो सेसनमा कक्षा समेत सुरु भएको छ ।

आइरिनका अध्यक्ष प्रेम पाण्डेको नाममा जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसले विद्यार्थीको सेप्टेम्बर–अक्टोबर सेसन प्रभावित भएको छ, विद्यार्थी सही समयमा विश्वविद्यालय पुग्नुपर्छ, यदि त्यो नभएमा अहिलेको भिसासमेत रद्द हुन सक्छ, यसले विद्यार्थीलाई ठूलो क्षति पुग्छ ।’ आइरिनले सम्बन्धित दूतावासहरू, भिएफएस तथा सरकारी निकायलाई तत्काल यो विषयलाई सम्बोधन गर्न आग्रह गरेको छ ।
नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया