Edukhabar
शनिबार, ०८ मंसिर २०८१
विचार / विमर्श

बदलिँदो स्वरुपमा सिकाइ, शिक्षकबाटै तरिका फेर्न जरुरी

आइतबार, १३ साउन २०७५

बिषय वस्तुको उठान

देश संघीय स्वरुप कार्यान्वयनको संक्रमणमा छ । शिक्षामा पुन संरचना के हो र कस्तो हुन पर्छ ? 

यो प्रश्नको उत्तर  खोज्ने क्रममा केही दिन यताका सामाजिक सञ्जाल र पत्रिकाहरुमा शिक्षा सम्बन्धी केही कथनले ध्यान आकृष्ट गर्यो । 

'शिक्षकको सम्मान गरौँ, सार्वजनिक शिक्षाको स्तर उकासौं ।' 

'राज्यको पुनःसंरचना हुँदा शिक्षकको भूमिकाको गन्तव्यबाट विचलन हुने परिवेश र सम्भावना देखिन्छ ।'

'राज्यको पुनसंरचनामा शिक्षाको पुनसंरचनालई शुक्ष्म भएर हेर्न सकिएन कि ?' 

'पढाउनेलाई पढाउने वातावरण खलबल्याउने कि मिलाउने ?'  

'शिक्षाको गहिराइ राजनीति गर्नेले बुझ्न नसक्ने भए ।' 

'हामीले पुनः संरचना व्यवाहार र स्रस्कृतिमा खोजेनौँ,  संगठन र सिद्धान्तको पुनःसंरचनाले शिक्षामा परिवर्तन गाह्रो छ ।'

'हामीले त आउने पुस्ता प्रति अन्याय त गर्दै छैनौं ।' आदि.....

शिक्षामा हामीले परिवर्तनको गम्भिरता कसरी पहिल्याउने ? हाम्रै घरेलु नमूना कसरी विकास गर्ने ? 

विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण 

नेपालमा सन् २०११ मा गरिएको विदार्थी उपलब्धिको राष्ट्रिय परीक्षण सम्बन्धी बृहत अध्ययनले ४८ बर्ष उमेर पुगेका र सो भन्दा बढी उमेर भएका शिक्षकले पढाएका विद्यार्थीको औसत उपलब्धि तुलनात्मक रुपमा कम देखियो । किन त्यसो भयो ?  नहुन पर्ने भन्ने परिकल्पनाका आधारमा पुरक अध्ययन गरियो । कुरा सत्य सावित भयो । 

त्यस्ता शिक्षकहरुलाई विद्यार्थीले रुचाउँदा रहेनछन् । विद्यार्थीको गुनासो थियो “त्यो शिक्षकले मेरो कुरा सुन्दैन,  मैले जानेको कुरालाई महत्व दिँदैन भन्ने उनीहरुको गुनासो हुँदो रहेछ । मोबाइल चलाउन पनि कम आउँछ । मोबाइल र इण्टरनेटको सहायताले त्यस्ता शिक्षकले पढाउँदैनन् । विद्यार्थीले लिएको मोवाइल प्रति घृणा गर्छन् तर आँफै राम्रो प्रयोग गर्दैनन् । मोबाइलमा पढ्ने ताजा र कति राम्रा कुराहरु पाइन्छन् । तर ती शिक्षकहरुलाई पत्यार लाग्दैन । हामीले ल्याएको कुरालाई आत्मसात पनि गर्दैनन्“ विद्यार्थीहरुले गुनोस भरिएको प्रतिकृया दिँदा रहेछन् ।

आफैं हारेको अनुभव

वि.सं. २०६२।६३ तिरको कुरा हो, धेरै साथी भाइले मोबाइल फोन लिई सकेका थिए । म विद्यावारिधि अध्ययनको क्रममा विद्यार्थी थिएँ । मेरा सोध पत्रका मूल गुरु प्रा. विद्या सरले मलाई त्यो ठाँणो किन चाहियो ? भन्ने गरे जस्तो लाग्छ । 

उहासँग मोवाइल थिएन । धेरै साथी, दौतरी र आफन्तले मोबाइल बोक्दा मसँग थिएन । विद्या सरको प्रभाव र डर पनि होला, अर्को कारण विश्वविद्यालयको चर्को फिस साथै घर व्यवस्थापन गर्न गाह्रो परेर पनि होला त्यो अवस्था आएको । त्यतिवेला अहिले जस्तो सस्तो मुल्यमा मोवाइल पाउन पनि गाह्रो थियो । तर समयको गतिसँग नचली सुखै भएन । 

मैले रु ११५०० हालेर मोवाइल किनें !

मोवाइल विगार्छन् भनेर मैले छोरा छोरीलाई पटक्कै चलाउन दिन्थिन । तर म पनि गतिलो सँग चलाउन नजान्ने ! साथीहरुसँग सिक्न थालेँ । विहान वेलुकी र विदाको दिन घरमै सिक्ने गर्थेँ । बच्चाहरुले त्यही मौका पारेर चलाउँथे । 

एक दिन छोराले सधैँ झैँ सोध्नासाथ समाधान पनि सहजै गरिदिए तथापि मलाई उनले अलि खिज्याएको अनुभव भयो । “उनको मनले कस्तो मान्छे होला यति पनि जान्दैन“ भनेको होला जस्तो चस्को पर्यो । 

अर्को दिन मेरो समस्या छोरीलाई सोधेँ । उनले झन् सहजै समाधान गरेर हाँसिन् । उनीहरुले जानेकोमा  र मलाई सिकाउन सकेकोमा खुसी लाग्थ्यो । तथापि मनमा कता कता आफै सँग रिस  रठ्ने र लघुताभासको अनुभव हुन्थ्यो । 

यिनले जान्ने मैले नजान्ने किन ? 

म संग २४ सै घण्टा हुन्छ । उनीहरु आक्कल झुक्कल, मलाई झुक्याएर मात्र चलाउँछन् । यो के दशा हो । उनीहरुभन्दा जान्ने हुन्छु भनेर निकै प्रयत्न गरेँ मैले सकिन ।  त्यो अवस्था अहिले पनि छ । म त्यतिवेला भन्दा धेरै जान्ने भै सकेको छु । तर मरो प्रगति गणितको जोडीय आधारमा भए उनीहरुको गुणात्मक आधारमा प्रगति छ । मैले बुझिसकें अव म उनीहरुसँग कुनै हालतमा पनि प्रतिस्पर्धा गर्न सक्दिन ।  

गुरु–गरुआमासँगको अन्तरक्रिया

२०६५ सालको शुरु तिरको कुरा हो पाँचथरमा जिल्ला शिक्षा अधिकारी थिएँ । अपर्झट केही कक्षा अवलोकन गरेँ । कक्षा कोठामा प्रायः शान्त, विद्यार्थी चुपचाप¸ शिक्षक बोलेको बोलेइ गर्ने प्रवृत्ति पाएँ । चित्त बुझेन । केही, कहीकही टिपोट गरेर समेत छाडेँ । त्यसले कामै गरेन । १८ वटै स्रोत केन्द्रमा पुगेर जिल्लाका सबै प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेँ । अन्तरक्रियाको एउटा विषय मोवाइल चलाउन कसरी सिकियो ? भन्ने थियो । अहिले त सबै सँग मोवाइल हुन्छ । त्यती वेला ८५ प्रतिशत त्यस जिल्लाका प्र.अ. हरुसँग मोवाईल फोन भएको तथ्य भेटियो । प्रश्न तपाइले मोवाइल कसरी सिक्नु भयो ? को उत्तर सहज थिएन । वहाँहरुवाट स्पष्ट आएन पनि । कसैले गर्दै सिक्दै आदि इत्यादि वताउनु हुन्थ्यो । प्राय सबै अन्तरक्रियामा उत्तरको प्रकृति उस्तै ।

मैले माथि उल्लेख गरेको मेरो कथा र सकस जब उहाँहरुलाई वताउँथेँ अनि अन्तरक्रिया रमाइलो हुन्थ्यो । मलाई धेरै जसो भाइले,  मलाई वहिनीले, मलाई छोराले, छोरीले आदि आदि । 

अनौठो पक्ष के भने,  कुनै एक जना ब्यक्तिले पनि आफू भन्दा उमेरले जेठोले सिकायो भनेनन् । अनि म मेरो उद्देश्य को निचोड निकाल्न तिर लाग्थेँ । वच्चा हामीभन्दा जान्ने भै सकेका छन् । उनीहरुलाई पढाउने तरिकामा फरक गर्न पर्यो । पढाउने होइन, जानेको कुरालाई अझ जान्न उत्प्रेरित गर्ने, प्रोत्साहन गर्ने आदि । 

कक्षाकोठा अवलोकन गर्दाको रोचक अनुभव

२०५५ सालतिर काठमाडौँ विश्वविद्यालयमा एम.फिल. पढ्दै गर्दा आदरणीय गुरुहरु मन प्रसाद वाग्ले, केदार नाथ श्रेष्ठ, विजय थापा र क्याथरिन मुमा (अमेरिक नाम) जस्ता धुरन्धरले कक्षा लिनुहुन्थ्यो । काठमाण्डौं विश्वविद्यालयको पहिलो व्याज भएर पनि होला पढाइ रोचक र निकै मिहेनत गर्न पर्ने हुन्थ्यो । मलाई पहिलो महिनामा यस्तो छाप पर्यो । हामी जस्तो शिक्षामा काम गर्नेहरुका लागि मूल कुरा बच्चा रहेछ । बच्चाको पठनपाठन कसरी राम्रो गराउने हाम्रो ध्येय हुनु पर्दछ । त्यसैले नपढाएको ब्यक्ति शिक्षा विज्ञ, प्रशिक्षक, नीति निर्माता, शिक्षाकर्मी हुन सक्दैन । 

एक छात्राको अनौठो प्रतिक्रिया

काठमाडौँ जिल्लाको काँठ तिरको एउटा माध्यमिक विद्यालयमा पुगेँ । जाँदै गर्दा बच्चाहरु बाटामा भेट भए । गन्थन गरेँ । को शिक्षक राम्रो आदि । धेरै जसोले फलानो मिसले पढाएको राम्रो बुझिन्छ भने । मनमा आयो तिनै गुरुमाको कक्षामा बस्छु केही सिकिएला । कक्षामा बसेँ । विज्ञानको पाठ । शान्त वातावरणमा पठनपाठन भयो । एक जना छात्राले खसाङ्ग खुसुङ्ग गरिन् । प्रश्न सोध्ने खोजे जस्तो लाग्यो । तर ती शिक्षिकाले नसोध्न संकेत गरे जस्तो लाग्यो । मलाई लक्षित गरेर चुप रहन संकेत गरेको अमुक र साँकेतिक भाष मैले बुझेँ । कक्षा सकिए पछि ती शिक्षिकालाई धन्यवाद दिएँ । उनको कक्षा नराम्रो थिएन । औसत भन्दा उच्च नै थियो । 

मैले ती खसाङ्ग खुसाङ्ग गर्ने विद्यार्थीलाई सोधेँ । उनले भनिन् मैले जोग्राफिकल च्यानलमा हेरेको र मिसले पढाएको नमिले जस्तो लाग्यो । मलाई ती छात्राले दङ्ग पारनि । कुन दिन, कुन बारमा त्यो च्यानलमा के आउँछ तिनलाई थाहा रहेछ । 

उनका बारेमा भसझ्दा थाह भयो, उनको परिवार नुवाकोट तिरका तामाङ्ग थरका । बुबा सधै नसामा । जति कमाउम्छन रक्सी खाएर सक्ने । घरमा वितण्डा मच्चाउने उनको काम । ती छत्राले उनकी आमालाई “एउटा टि.भि.किनिदिनु मेरो पढाइमा सहयोग हुन्छ“ भनिछन् । आमाको पेशा इट्टा ओसार्ने ज्यामीको काम रहेछ । उनले दिनको एक सय रुपियाँ जम्मा गर्ने सर्तमा सहकारीबाट रकम सापटी लिएर एउटा टि.भि. किनिदिएकी रहिछन् । 

म पुनः ती असल शिक्षिकासंग गन्थन गर्न पुगें । जोग्राफिकल च्यानलको बारेमा के कस्तो जानकारी छ, भनेर जान्ने प्रयास गरेँ । “सुनेको छु । कहिले काही हेर्छु“ भन्नु भयो । म जस्तो उहाँ पनि उस्तै लाग्यो । तर ती छात्रा जस्तो होइन । ती छात्रा र ती गुरुआमा बीचको ठूलो ज्ञानको अन्तर छ । सिक्ने तारिकामा अचम्मको भिन्नता छ । मलाई अनुभूति भयो । त्यो विषय क्षेत्रमा ती छात्रा जत्तिको सिपालु¸  ती शिक्षिका कहिले पनि हुन सक्दिनन् । यो त ती विद्यार्थीले रुचाएकी¸ राम्रो शिक्षकाको कुरा हो । अरुको कुरा अझै फरक होला । 

'मुन्द्रे विद्यार्थी' को अस्वभाविक प्रतिकृया 

एक दिन त्यस्तै अर्को सामुदायिक विद्यालयको कक्षा अवलोकन गर्न पुगेँ । जनसंख्या शिक्षा सम्बन्धी पाठ थियो । शिक्षकले पढाउँदै हुनु हुन्थ्यो । कक्षाको एउटा झ्यापुल्ले (कपाल लामो गरी पालेको) विद्यार्थीले हात उठाएर तपाईले पढाएको मिलेन भनेर रुखो भाषामा अस्वभाविक तरिकाले भन्यो । ती शिक्षकले निकै लघुताभाष महशुस गरे । 

के मिलेन के ठिक त ? भनेर प्रश्न पनि गरेनन् । 

जेनतेन कक्षा समाप्त गरे । 

त्यो प्रश्न सोध्ने केटा ज्याङ्गो थियो । हातमा वाला लगाएको कानमा मुन्द्रा लगाएको । मान्छे भेटे कुट्ला जस्तो । ती विद्यार्थीसँग मलाई कुरा गर्न मन लाग्यो । 

“त्यो विद्यार्थी देख्दा जति अस्वभाविक (वहाँको भाषामा अड) जस्तो देखिन्छ । त्यस्तो छैन । तर आज अलि उत्ताउलो किसिमले प्रस्तुत भयो ।“ भनेर उ प्रति सकरात्मक धारणा प्रस्तुत गरे । मलाई ऊ सँग कुरा गर्न साहस वढ्यो । उनको नजिक गएर नम्र बनेर कुरा गर्न सुरु गरेँ । 

तिमीले के मिलेन भनेको ? भनी सोधेँ । ओल्ड (इमि) कुरा भनेर भन्यो । शाब्दावली प्रयोग गर्यो वाक्य पुरा गर्दैन । के ओल्ड कुरा भनेँ,  त्यो पपुलेसन ग्रोथ रेट (जनसङ्ख्या वृद्धि दर) त पुरानो भै सक्यो । 

कुरा मैले बुझेँ । सन् २००१ को जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धि दर २.१ प्रतिशत रहेछ । पुस्तकमा पनि त्यही रहेछ । शिक्षकले त्यही पढाएका रहेछन् । तर सन् २०११ सालको जनगणना अनुसार १.३५ प्रतिशत रहेछ । ती विद्यार्थीले मलाई त्यो कुरा जानकारी गराए । मैले उनलाई फेरि प्रश्न गरेँ । तिमीले कसरी यो कुरा थाहा पायौ भनेर । 

उसले उस्तै शब्दावलीमा मात्र उत्तर दियो गुगलबाट । ऊ धेरै बोल्दैन वाक्य पुरा गर्दैन । यो घटना सन् २०१३ को कुरा हो, त्यतिवेला वाइफाइ र इन्टरनेटको सुविधा अहिले जस्तो छ्यासछ्यास्ती भै सकेको थिएन । साइवरहरु मौलाएका थिए । उनलाई मैले सोधेँ घरमा नेटको सुविधा छ ? उनले मलाई हकारेका स्वरमा भने छैन, हामी जस्तो गरिव र यो ढङ्गको मान्छेसँग नेट हुन्छ । उनले साइवर गएर त्यो कुरा हेरेका रहेछन् । ती विद्यार्थीको सानैमा आमा वितेकी रहिछन् । अरु सवै घरपरिवार अर्की आमा तिरका छन् रे । त्यसैले होला अलि अस्वभाविक देखिएका । त्यति जानकारी पाए पछि उनी प्रतिको मेरो दृष्टिकोणमा पुरै परिवर्तन भयो । दंग परेर फेरि उनै शिक्षककोमा पुगेँ । 

शिक्षकलाई सोधेँ इमेल प्रयोग गर्नुहुन्छ ? पहिला त गर्छु भन्नु भयो । इमेल आइ.डि. माग्दा भन्न सक्नु भएन । एक पटक खोलेको रहेछ । तर त्यति प्रयोगमा आए जस्तो लागेन । मैले ती विद्यार्थीलाई जस्तै शिक्षकसँग पनि जिज्ञासा राखेँ– गुगलको कुरा, नेटको कुरा, साइवरको कुरा, आदि । ती विद्यार्थी जति अहिलेको नयाँ प्रविधिमा ती शिक्षक कहिले हुन सक्दैनन् । सक्दै सक्दैनन् । भन्ने अनुभूति लिएर अमिलो मनले आफ्नो बाटो लागें । 

त्रिपक्षीय अन्तरक्रियावाट सिकाइ 

वि.सं २०७२ तिर म गुल्मीको जिल्ला शिक्षा अधिकारी थिएँ । शिक्षक र प्र. अ. जो शिक्षका राष्ट्रिय नीति कार्यान्वयन गर्छन् उनीहरुसगँ कुरा गर्यो नकरात्मक कुरा बढी । शिक्षा नीति खतम भन्ने । शिक्षामा राजतिनिकरण भयो । त्यसैले खतम भयो आदि इत्यादि । उच्च तहका कर्मचारी र ओहोदामा मानिससगँ कुरा गर्यो , शिक्षक र तलका कर्मचारीले काम गरेन भन्ने । विज्ञसगँ सम्पर्क गर्यो अरुलाई दोष लगाउने । राजनीतिक मान्छे र कर्मचारी खत्तम भन्ने । हामीले यस विषयलाई जिल्ला शिक्षा कार्यालयका स्टाफ विचमा निकै मन्थन गर्यौं । विमर्श केही दिन भयो । अनि हामीले सल्लाह गयौं¸ एउटा त्रिपक्षीय गोष्ठि राखौं । विज्ञहरु¸ नीति निर्माताहरु र कार्यान्वयनकर्ता सँगै राखेर मन्थन गरौं । त्यसवाट केही सिकाइ त होला । 

संयुक्त राष्ट्रसघंका पूर्व महासचिब डा. कुलचन्द्र गौतमलाई पुरै तिन दिन हाम्रो कार्यक्रममा वस्दिन आग्रह गर्यौं । उहाँले सहस्र स्वीकार्नु भयो । श्रदेय गुरु मन प्रसाद वाग्ले र विद्यानाथ कोइरालाको उपस्थितिलाई मैले गर्वको रुपमा लिएको थिएँ । मन सरको विशेष काम परेछ,  विद्या सर पुग्नु भयो । मिहिनेत गरिदिनुभयो । विज्ञहरु कुलचन्द्र सर, सुशन आचार्य, लगायतको उपस्थितिले हामीलाई उत्साहित बनायो । 

तीन दिनमध्ये पहिलो दिनमा कार्य क्षेत्र (Field Level) का सरोकारवालको कुरामात्र सन्ने प्रयत्न गर्यौं । हामी जस्ता फिल्डकर्मी र स्थानीय सरोकारवलाका मात्र कुरामा मन्थन गर्यौं । दोस्रो दिन राजनिति र नीति विज्ञका कुरा सुन्ने प्रयन्न गर्यौं । तेस्रो दिन विगत दुई दिनका कुरा समेत विज्ञका धारणा खोज्यौं । विज्ञहरुको विमर्शवाट अघिल्ला दिनका कुरा समेत मथेर  २१ बुँदे घोषणा तयार गर्यौं । त्यसको एउटै मूल विषय थियो 'विद्यार्थीलाई पढ्ने शिक्षकनै असल शिक्षक' हुन । त्रिपक्षीय गोष्ठिको सार त्यही निस्क्यो ।  

त्यसलाई हामीले व्यापक रुपमा प्रचार प्रसार गर्यौं । जिल्लाको जिल्लास्तरीय शैक्षिक योजनामा समेत संलग्न गरयौं । राजनीतिक व्यक्तिसमेतको भेलाबाट जिल्ला परिषदबाट पास गराई  कार्यान्वयनमा लग्ने प्रयास गर्यौं । 

धेरैले त्यो वाक्यांश विद्यार्थीलाई पढ्ने शिक्षक भन्ने कुरा नै गल्ती भएछ । पढ्ने त विद्यार्थी हुनुपर्छ भनेर सुझाव दिए । विद्यार्थीलाई पढ्ने शिक्षक भनेको कुरालाई सरल र सहज तरिकाले बुझाउने बारेमा समेत व्यापक छलफल गरियो । 

विद्यार्थीको घर¸ उमेर¸ सिकाइ रुची¸ क्षमता¸ विशेष रुची आदि सवै कुरा जान्नु पर्छ । शिक्षकले उसले पढाउने सवै विद्यार्थीका बारेमा जसरी जस्तो प्रश्न सोधे पनि शतप्रतिशत मिलाउन सकेर १०० मा १०० नै नम्बर ल्याएमा उ असल शिक्षक हुन्छ । सच्चा विद्यार्थीलाई

पढने शिक्षक हुन्छ । यसलाई हामीले शिक्षक तालिम¸ अन्तरक्रियाहरु आदि सवै शैक्षिक कार्यक्रमहरुमा अभिन्न अंगको रुपमा  अवलम्बन गर्न शुरु गरेका थियौं ।

स्थानीय चुनाव पछिको अन्तरक्रिया र अनुभूति

अहिले मुलुक संघीयतामा व्यवस्थापन हुन गैरहेको छ ।  विद्यालय शिक्षाका धेरै अधिकार स्थानीय तह अन्र्तगत छ ।

सबैको ध्यान बालबालिकाको पठनपाठनमा हुन पर्नेमा अन्यत्रै मोडिएको पाइन्छ ।  शिक्षक, स्रोत ब्यक्ति, विद्यालय निरीक्षक, जन प्रतिनिधिहरुको ध्यान संरचनामा छ ।  वच्चामा छैन । हामी जस्ताकर्मी र अरुको ध्यान जता गए पनि केही नहुँदो रहेछ । शिक्षकहरु अब हामीलाई शासन कस्ले गर्ने हो भन्ने बारेमा चिन्तित देखिन्छन् । हाम्रो अधिकारमा कटौती हुनेत त होइन भन्ने त्रासमा । अब राज्यको नजिकको निकायवाट सहयोग पाइने भयो भन्ने कुरामा वहाँहरुमा कत्ति विश्वास छैन । 

जनप्रतिनिधिहरु झन् अलमलमा भएको पाइन्छ । अलिअलि चासो शिक्षक नियुक्तिमा देखिन्छ । बालबालिकाको पठनपाठनका विषय छलफलका क्रमामा शायदै उब्जिन्छ । ध्यान अन्यत्रै मोडिएको छ । शिक्षकको ध्यान विचलन हुँदा, हाम्रा वालवच्चाको भविष्य के हुने ?

राज्यको पुनः संरचनाले पठन पाठनमा पुनःसंरचना होलाकी भन्ने विश्वास र आशा सही सावित नहुने संकेत देखिँदै छ । यसको असर पुस्तौनी हुन्छ । शिक्षा छुन नसकिने नरम (Software / Intangible) कुरा हो । वोधगम्य हुन्छ । तर स्थिति लटपटाएको छ ।

शिक्षाको पुनर्संरचनाले विद्यार्थीलाई पढ्ने शिक्षक तयार गर्ने विषयमा विमर्श गर्न पर्नेमा ध्यान अरु क्षेत्र तर्फ मोडिनु चिन्ताको विषय हो । 

निचोड

राज्य पुनःसंरचनाले त शिक्षकलाई उचित सम्मान गर्दै सिकारुको उत्प्रेरकको रुपमा विकास गर्न सक्नु पथ्र्यो । हिजो ज्ञान र जानकारीको स्रोत कम थियो । 

(१) गुरु 

(२) पुराना (जेठाबाठा) मान्छे 

(३) पुस्तक । 

पछिल्लो सीमित ब्यक्तिको पहुँचमा हुन्थ्यो । दोस्रो सीमित ज्ञानको लागि मात्र कामयावी हुन्थ्यो । पहिलो ज्ञानको स्रोत नै मूल आधार थियो । 

तर अहिले त बच्चाले हिँड्दा हिँड्दै, सुत्दा सुत्दै, खाँदा खाँदै जानकारी र ज्ञान लिन्छ । हिजो ज्ञानको स्रोत गुरु थिए । अहिले गुगल छ । गुगल मैत्री गुरु भन्दा बढी चेलो छ । गुरुको भूमिका बदल्न वाध्यात्मक छ, अनिवार्य छ । हिजो ज्ञानको स्रोत गुरुमात्र जस्तो थियो भने आज यत्रतत्र सर्वत्र भएको छ ।  

माथिका उदाहरणले पुष्टि गरे । जेष्ठ भन्दा कनिष्ट गुरु राम्रा भए । 

म मेरा बच्चासंग हारें । 

प्र.अ. हरुले युवा पुस्ता सूचना तथा संचारमा अघिल्लो पंतिमा परेको कुरा स्वीकार गरे । 

कक्षा अवलोकनका दुई घटनाले पनि विद्यार्थी जति सूचनामूलक हुन शिक्षक नसक्ने रहेछ भन्ने देखियो । 

पुनर्संरचनाका हरेक पक्षले यसलाई सम्वोधन गर्न पर्नेमा विचलनको परिवेशलाई कसरी सम्हाल्ने ?

गुरु–गुरुआमाको भूमिकालाई कसरी विद्यार्थीसँग सँगै सिक्ने, कसरी सहजीकरण गर्ने, कसरी उनीहरुसँग भएको अथाह सूचनालाई सही रुपमा उपयोग गर्न उत्प्रेरक र प्रोत्साहन कर्ताको रुपमा विकसित हुने, र गर्ने ? यस विषयको गहिराइ तर्फ  हामी सवै घोत्लिन पर्ने अवस्था छ । 

अहिले सरकारले उच्च शिक्षा आयोग गठन गरेको छ । उच्च शिक्षा आयोगले शिक्षामा अन्तरनिहीत यस प्रकारको चुरो कूरोमा ध्यान दिन पर्ने जस्तो लाग्छ । उसका लागि व्यापक बहस गरी कसरी सम्बोधन गर्ने भन्ने महत्वपूर्ण काम यो हुन पर्छ । यस विषयलाई अभियानको रुपमा कसरी सम्बोधन गर्ने ? हरेक सरोकारवालाले आपनत्व लिने कसरी गराउने ? अझ शिक्षक र अभिभावकले अत्मसाथ गर्ने कसरी बनाउने ? 

यही कुराको राम्रोसँग सम्बोधन र समाधान गर्न सकेमात्र पनि शिक्षा जगवाट नै सुधार हुँदै समृद्ध नेपाल बन्ने कुराको आधार बन्न सक्छ । शिक्षा आयोगको ध्यान यस तर्फ आकृष्ट होस । 

काफ्ले क्षेत्रीय शिक्षा निर्देशनालय कास्किका निर्देशक हुन्

प्रतिक्रिया