Edukhabar
शनिबार, ०५ असोज २०८१
विचार / विमर्श

के – के चाहिन्छ देश हुन ?

शनिबार, २३ असोज २०७२

- बुद्धिसागर चपाईं / आफ्नो समयलाई सरल भाषामा उतार्ने खुबी भएका कबि हुन् । उनका आख्यानहरुमा पनि यहि मूल्य र मान्यता फेला पर्छन् । २०६४ सालमा प्रकाशित उनको कविता संग्रह 'हजारौं पृथ्वी हजारौं आकाश' मा समाबेश भएको के – के चाहिन्छ देश हुन ? शिर्षक कविता शिक्षकलाई मास्टरसाप सम्बोधन गर्दै देश चिनाउन लेखिएको कविता हो । वर्तमान परिवेशमा उक्त कविताको मर्म अझै सान्दर्भिक हुने ठहर सहित सोही कविता यो साताको शिक्षा साहित्यमा ...  


मास्टरसा'प
देश हुनलाई के के चाहिन्छ ?

राष्ट्रिय झण्डा ?
राष्ट्रिय गीत ?
राष्ट्रिय भाषा ?
अनि संविधान ?

–    संविधानको झ्याङमा फर्फराइरहेको
यो सानी नानीको जामा किन यत्ति रातो
संविधानका काँडाहरु किन यत्ति तीखा ?

हो मास्टरसा'प
नानीको पैतालामा खिल जमेर निलो भएको छ दाग
हाम्रै झण्डाको किनार

यो देश भनेको केहो
सिङ्गो पृथ्वीको अंशवण्डा ?

त्यो जून, त्यो डाडाँमाथि टुकुटुकु हिँड्छ
र, जान्छ कहाँ ?
त्यो सानो तारा ल्वाङ्गफुलीझैं चिमिक्क गर्छ
र, पुग्छ कहाँ ?
त्यो नौरङ्गी डाँफे भुर्र उड्छ आकाशको डिलैडिल भएर
र, लुक्छ कहाँ ? 

मास्टरसा'प
यसैबेला देश कहाँ हुन्छ ?

मेरा बाबा विहानै जानुहुन्छ खेत
फुटाल्नुहुन्छ माटो
च्यात्नुहुन्छ पृथ्वीको छाती
र, बगाउनुहुन्छ पसिनाका उलेकलाग्दा झरीहरु
उम्लिन्छ भकभकी माटो

मास्टरसा'प
के माटोसंगै देश पनि पाक्छ ?

एउटा आफ्नै लिपिमा कोरिएको कानुन
आफ्नै विद्रोही अनुहारहरु
आफ्नै जाती र गोत्रका सालिकहरु
आफ्नै लयको एउटा राष्ट्रियगान
र, सीमा छुट्याईएको एउटा मधुरो धर्को

–    भन्नुस् न मास्टरसा'प
देश हुनलाई के यत्ति भए पुग्छ ?

घोप्टियो भने समुन्द्र– देश कहाँ जान्छ ?
टुक्रियो भने पृथ्वी– देश कहाँ जान्छ ?
सल्कियो भने सूर्य – देश कहाँ जान्छ ?

बोल्नुस् न मास्टरसा'प
जानुपर्यो भने देश– कहाँ जान्छ ?

आरीका आरी हामीसित गीतहरु छन्
ठेकीका ठेकी हामीसित दुःखहरु छन्
आँखाभरी आँसुका मूलहरु छन्
गालाभरी दुःखका नदीहरु छन् ।

जब– –
हाम्रो बख्खुभित्रको छाती चिरा पर्छ
तब– –
देश रुन्छ कि रुँदैन ?

मास्टरसा'प
किन आज सम्म पनि
यत्ति बिरानो बनेका देश र हामीहरु

प्रतिक्रिया