Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

मान्द्रोले बारेको स्कुल मुलुककै उत्कृष्ट

शुक्रबार, २२ असोज २०७२

काठमाडौं २२ असोज / वर्षौंअघि दाताले बनाइदिएको भवन यस पालिको भूकम्पले काम नलाग्ने भएको छ । गत जेठमा दाताले बनाइदिएको अस्थायी सिकाइ केन्द्र (टीएलसी) को वरिपरिको बारबेर च्यातिइसकेको छ । दाताले मान्द्रोको बार लगाएर ६ कोठाको टीएलसी बनाइदिएको थियो । छड्के पानी पर्‍यो भने सीधै भित्र छिर्छ । हावा चले कक्षा धुलाम्मे हुन्छ । अर्कातिर, सरकारले मावि शिक्षकमा जम्मा दुइटा दरबन्दी मात्रै दिएको छ । निजी स्रोतमा ल्याइएका र तल्लो तहका शिक्षकलाई माथिल्लो कक्षामा पढाउने जिम्मेवारी दिइएको छ ।

यो कुनै दुर्गम भेगको विद्यालयको लेखाजोखा होइन, मुलुकको राजधानीमा रहेको माविको यथार्थ हो । अर्को यथार्थ के हो भने, यस वर्षको माध्यमिक विद्यालय राष्ट्रिय पुुरस्कार यसैले पाएको छ । अर्थात्, काठमाडौंको सीतापाइलास्थित  युवा सहभागिता माविले । रिङ रोडबाट पाँच सय मिटर दूरीमा पर्ने यो विद्यालय यसअघि चर्चामा थिएन । जब यस वर्ष मुलुककै उत्कृष्ट भएपछि सबैको ध्यान तानेको छ । शिक्षा मन्त्रालयले शिक्षा दिवसको दिन माध्यमिक विद्यालय राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरेको थियो । मन्त्रालय र विभागका अधिकारीहरू भन्छन्– ‘यस्तो विद्यालयमा हाम्रो ध्यान पुग्नै सकेको रहेनछ ।’ मन्त्रालयका माध्यमिक शिक्षा शाखाका उपसचिव बद्री पाठकले कम स्रोतसाधनमा सुधार गर्न चाहे सकिने उदाहरण यो विद्यालयले प्रस्तुत गरेको बताए ।

यो विद्यालय कसरी उत्कृष्ट भयो भन्ने सबैको चासो बनेको छ । उत्कृष्ट विद्यालय मापनको एउटा सूचक एसएलसीको नतिजा पनि हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो विद्यालयले २०६९ मा ९६.२३, ०७० मा ९१.३८ र २०७१ मा सतप्रतिशत नतिजा ल्याएको थियो । माध्यमिक विद्यालय छनोट गर्दा सुगम क्षेत्रको विद्यालयले कम्तीमा ४५ जना एसएलसीमा समावेश गराएको हुनुपर्छ । यो विद्यालयले सूचक मात्रै पूरा गरेन । २०७१ को एसएलसीमा ५४ ले परीक्षा दिएकोमा तीनजना विशिष्ट, ४१ जना पहिलो श्रेणी र एकजना दोस्रो श्रेणीमा उत्तीर्ण भए ।

यो नतिजा मासिक कम्तीमा पाँच हजार शुल्क तिरेर पढाउने निजी विद्यालयको भन्दा कम छैन । २०४१ सालमा स्थापना भएको विद्यालयले हजारौं विद्यालयलाई कसरी पछि पार्‍यो ? सबैको चासोको विषय छ । ‘राज्यले उपलब्ध गराएको स्रोतसाधनको प्रयोग गरेको हो । अभिभावक, विद्यार्थी शिक्षकको मिहिनेत नै सफलताको सूत्र हो,’ विद्यालयका प्रधानाध्यापक कमलप्रसाद रिमाल भन्छन्, ‘शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयचाहिँ हुनुपर्छ ।’

अरू विद्यालयमा जस्तै नियमित पढाइ हुन्छ । यहाँ फरक यति हो, प्रत्येक साता शनिबार परीक्षा हुन्छ । अरू विद्यालय सातामा छ दिन मुस्किलले खुलाउँछन् । तर, यो विद्यालयमा चाहिँ साताभरि पढाइएको पाठको परीक्षा शनिबार बिहान ७ देखि १० बजे परीक्षा हुन्छ । एसएलसी दिने विद्यार्थीले साप्ताहिकबाहेक ११ पटक थप अरू परीक्षा दिन्छन् । ‘बारम्बार परीक्षामा सहभागी भएपछि विद्यार्थीलाई कुनै प्रश्न नयाँ लाग्दैन,’ उनले भने, ‘परीक्षा भन्नेबित्तिकै डराउँदैनन् । बरु उत्साहित हुन्छन् ।’

नतिजा लिन अभिभावक अनिवार्य विद्यालयमा आउनुपर्ने हुन्छ । यसले आफ्नो छोराछोरीको पढाइ कस्तो छ ? भन्ने प्रष्ट हुन्छ । राम्रो विद्यार्थीको नतिजा बिग्रिएमा कसरी यस्तो भयो भन्दै अभिभावक र कक्षा शिक्षकको छलफल हुन्छ ।

भूकम्पले भवन भत्किएपछि जग्गा भाडामा लिएर अस्थायी सिकाइ केन्द्र बनाइएको छ । सबै कक्षा एकैपटक सञ्चालन गर्न नसक्ने भएपछि ६ देखि १० सम्मको कक्षा बिहान हुने गरेको छ । विद्यालयमा ५ सय ११ विद्यार्थी छन् ।

प्रधानाध्यापक रिमाल अहिलेको अवस्थालाई २०४१ जस्तै सम्झन्छन् । त्यस बेला पनि विद्यालय भवन छाप्रो मात्रै थियो । एसएलसी दिएर बसेका रिमालले सम्हालेको यो विद्यालय २०५२ मा निमावि भयो । २०६० मा माध्यमिक विद्यालय बन्यो । विद्यालयको यो अवस्था ३१ वर्षको मिहिनेत भएको उनको ठम्याइ छ । बीकम र एमएड गरेका उनी प्रावि तहका स्थायी शिक्षक हुन् । विद्यालयको तह बढ्दै गएसँगै नेतृत्व पनि उनैले सम्हाले । गतवर्षदेखि मावि दरबन्दीका शिक्षक आएपछि प्रधानाध्यापकको जिम्मेवारी सुम्पिँदा पनि अरूले लिन नचाहेको उनले बताए ।

‘प्राविको शिक्षक हुँ, अर्को हेडमास्टर पठाइदेऊ भन्दा पनि शिक्षा कार्यालयले नपठाएपछि मैले सम्हाल्दै आएको छु,’ उनले भने ।

सरकारले विद्यालय सञ्चालन गर्न हस्तक्षेप नगर्ने हो भने सामुदायिक विद्यालय सुधार गर्न सकिने उनको अनुभव छ ।

विद्यालयमा प्राविको आठजना, निमाविको ५ जना र माविको २ जना स्थायी दरबन्दी छ । त्यस्तै २ जना राहत दरबन्दीका शिक्षक छन् । विद्यालयले निमावि तहका २ र मावि तहका २ जना निजी स्रोतका चारजना शिक्षक राखेका छन् ।

रिमालले विद्यालय सफलताको सूत्र निजी स्रोतको शिक्षकलाई पनि लिन्छन् । गणित, अंग्रेजी र विज्ञान बिषयका शिक्षक निजी स्रोतका हुन् । ‘हाम्रो भन्दा पनि राम्रो शिक्षक छानेर राखेपछि नतिजा सुधार गर्न गाह्रो पर्दैन,’ उनले भने, ‘आयोग लडेर आएका शिक्षकले प्रअलाई नै गन्दैनन् । म त आयोग पास भएको भन्ने दम्भ हुन्छ । निजी स्रोतबाट राख्दा नराम्रो गरे निकाल्न सकिन्छ ।’ शिक्षा कार्यालयले गत मंसिरदेखि मात्रै विज्ञान विषयको शिक्षक पठाएको उनले बताए ।

सरकारले दिएको स्रोत साधनले विद्यालयलाई सुधार गर्न सकिने उनले बताए । ‘चाहना भयो भने राम्रो नतिजा ल्याउन सकिन्छ,’ उनले भने, ‘तर, राजनीतिबाट टाढा राख्नुपर्छ ।’ विद्यालय सुधार गर्न शिक्षक राजनीतिक दलका झन्डा बोक्न छाड्नुपर्ने उनको सुझाव छ । आफ्ना कुनै पनि शिक्षकले पार्टीको कार्यक्रम भन्दै कक्षा छाड्ने, राजनीतिको बहस गर्ने, संघ संगठन पछि नलागेकै कारण विद्यालय सुधार गर्न सहज भएको उनको तर्क छ । ‘शिक्षकले १० देखि ४ बजेसम्म मात्रै होइन, दिनमा थप दुई घन्टा दिने हो भने सुधार गर्न कठिन छैन,’ उनले भने ।

विद्यार्थीको निगरानी
पहिलो कक्षामा हाजिर हुन्छ । जुन विद्यार्थी अनुपस्थिति हुन्छ । त्यसको विवरण कक्षा शिक्षकले प्रधानाध्यापकलाई जानकारी गराउँछन् । अनि प्रअ रिमालको काम विद्यालय नआउने विद्यार्थीको अभिभावकलाई फोन गर्ने हुन्छ ।

रिमालको सबै शिक्षकलाई एउटै निर्देशन छ, ‘कुनै कक्षा खाली हुनु हुँदैन ।’ कुनै शिक्षक अनुपस्थित हुने बित्तिकै अर्को शिक्षकले कक्षा लिन्छन् । कक्षा १० को कोर्स दसैंअघि अनिवार्य सकाउनुपर्ने अर्को नियम छ । यसपालि भने भूकम्पले गर्दा केही विषयको बाँकी रहेको उनले बताए ।

यसपालि मुलुककै उत्कृष्ट विद्यालयको पुरस्कार पाएपछि थप चुनौती थपिएको उनको बुझाइ छ ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया