Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

मन्त्रीको दबाबमा नर्सिङ कलेज सम्बन्धन दिइँदै

शुक्रबार, २२ असोज २०७२

काठमाण्डौं २२ असोज / माथेमा आयोगले बुझाएको प्रतिवेदनको मर्म विपरीत शिक्षा मन्त्री चित्रलेखा यादवको दबाबमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीले शुक्रबार नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी अघि बढाएको छ ।

सीटीइभीटीका पदाधिकारी र कर्मचारीलाई बिहीबार मन्त्रालयमै बोलाएर सम्बन्धन दिने कलेजको फाइल तयार गर्न उनले निर्देशन दिएको स्रोतले जनाएको छ । यादवले सीटीइभीटीका उपाध्यक्ष, सदस्य सचिव, सम्बन्धन महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख लगायतलाई मन्त्रालयमा बोलाएर दबाब दिएको स्रोतले उल्लेख गरेको छ ।

'शैक्षिक सत्र सुरु भइसक्यो अब सम्बन्धन दिनु हुदैन भन्दा पनि मन्त्रीले ढिपी गरेपछि शुक्रबार बैठक राखेर दिने तयारी भइरहेको छ,'सीटीइभीटी स्रोतले भन्यो,'मन्त्रीले दबाब दिएकाले हामी चेपुवामा परेका छौं ।'
सितापाइलाको सुभेच्छा, लर्डबुद्ध, चितवन मेडिकल कलेज, लाइफगार्ड लगायतको कलजेलाई सम्बन्धन दिने तयारी भएको स्रोतले जनाएको छ । सीटीइभीटीका केही पदाधिकारीसमेत मन्त्री यादवसित मिलेकाले कुन कुन कलेजलाई सम्बन्धन दिइँदैछ भन्ने जानकारी बाहिर ल्याउन चाहेका छैनन् ।

सम्बन्धनको बिषयमा मन्त्री यादवसंग प्रतिक्रिया लिन खोज्दा कुरा गर्न चाहिनन । फोन सम्पर्कमा नर्सिङको सम्बन्धन दिदै हो ? भन्ने प्रश्न गर्ने बित्तिकै उनले कुनै प्रतिक्रिया नदिई फोन सम्पर्क बिच्छेद भइन । त्यसपछि बारम्बार फोन गर्दा पनि सम्पर्कमा आउन चाहिनन् ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया