- लवदेव भट्ट / स्वस्फुर्त रुपमा परिवर्तनका लागि राजि नहुने र राजनीतिमा लागेका केही शिक्षकका कारण शिक्षण पेशा प्रति वितृष्णा र गुनासाहरु बढ्दो छ । यसलाई थप सघाएका छन् सहकर्मी साथिहरुको सहकार्यलाई महत्व नदिने, पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न नसक्ने र शिक्षण सिकाइको वातावरणलाई प्रभावकारी वनाउन नसकेको जस्ता कुराले । यति हुँदा हुँदै पनि समग्रतामा अपेक्षित वातावरण सिर्जना गर्न सक्दा यो पेशाको महत्व उच्च नै छ ।
नेपालमा शिक्षकलाइ केन्द्रित गरेर धेरै पर्वहरु मनाउने गरेको पाइन्छ । कुन दिन दिवसको रुपमा मनाउन सवै भन्दा उपयुक्त होला ? शिक्षक दिवस किन मनाउने ? कसरी मनाउने ? यो आलेखलाई त्यसमै केन्द्रित गरिएको छ ।
नेपालमा प्रत्येक वर्ष हिन्दुहरुका दुई ठुला पर्व दशै र तिहारको छाँयामा परेर त्यति चर्चामा नआएको अक्टुवर पाँच अर्थात विश्व शिक्षक दिवस शिक्षकहरुको मुक्तिको इतिहास सित जोडिएको एक महत्तपुर्ण दिनको रुपमा लिने गरिन्छ । यो दिवसलाइ विश्वमा करिव एक सय भन्दा वढी देशहरुले भव्यताका साथ विभिन्न कार्यक्रमहरु गर्दै मनाउने गरेको पाइन्छ । सन १९६६ अक्टुवर पाँचमा फ्रान्सको राजधानि पेरिसमा गैरसरकारी स्तरमा शिक्षकहरुको अवस्थाका वारेमा छलफल गर्न एउटा भेला आयोजना गरिएको थियो । उक्त भेलाले शिक्षकका सेवा सुविधाका सन्दर्भमा केहि सिफारिसहरु गरेको थियो । उक्त सिफारिसमा युनेस्को र अन्तराष्ट्रिय मजदुर संगठनका प्रतिनिधिले समेत हस्ताक्षर गरेका कारण यसकोअर्थ बेग्लै छ । वैधानिक रुपमा यसलाइ मनाउने प्रचलनको सुरुवात भने सन १९९४ अक्टुवर पाँच देखि नै युनेस्को अग्रसरतामा भएको पाइन्छ ।
विश्वका प्राय सवै देशहरुले वर्षमा एक दिन शिक्षक दिवसको रुपमा मनाउने प्रचलन रहे पनि तिथि भने आ—आफनै अवसरको आधारमा तय गरेको देखिन्छ । यसै सन्दर्भमा भारतमा सेप्टेम्वर १५ मा दोस्रो राष्ट्रपति राधा किसनको जन्मदिन पारेर, चिनमा र ताइवानमा सेप्टेम्वर १० मा कन्फ्युसियसको जन्मदिन पारेर, मे २ मा भुटानको आधुनिक शिक्षाको विकास गर्ने तेस्रो राजाको जन्मदिनको अवसर पारेर शिक्षक दिवस मनाउने गरेको पाइन्छ ।
नेपालको सन्दर्भमा भने गुरु पुर्णिमाको अवसर पारेर सामान्य कार्यक्रमहरु गरेर शिक्षक दिवस मनाउने र कतिपय विद्यालयहरुले यो अवसरमा विदा दिने प्रचलन रहेको पाइन्छ । त्यस्तै शिक्षक निकटका केहि संघ संगठनहरुले चैत्र २९ गतेलाइ समेत शिक्षक दिवसको रुपमा सम्झने चलन छ । सवै पेशामा आवद्ध मानिसहरुले वर्षमा एक पटक आफ्नो पेशागत दिवस मान्ने संसारभरकै प्रचलन हो ।
सरकारी र गैरसरकारी शिक्षण सस्थाहरुमा गरेर करिव दश लाख व्यक्तिहरु शिक्षण पेशामा आवद्ध भएको पाइन्छ । यसले नेपालको सन्दर्भमा सवै भन्दा धेरै पेशाकर्मि भएको पेशा शिक्षण हो भनेर सहजै अनुमान गर्न सकिन्छ । विडम्वना शिक्षकहरुकै लागि भनेर कुनै खास दिनलाइ सरकारी तवरवाट शिक्षक दिवसको रुपमा मनाउने चलन भने अझै सुरुवात हुन वाँकी नै छ । शिक्षा क्षेत्रमा सरस्वति पुजा, साक्षरता दिवस, वालदिवस, गुरुपुर्णिमा जस्ता थुप्र्रै पर्वहरु मनाउने गरिन्छ । उक्त अवसरहरुमा सरकारले विदा दिने पनि गरेको छ । यि पर्वहरु मनाउँदा शिक्षकमा खासै उत्साहित हुने अवस्था आएको देखिदैन । यसो भनि रहदा किन अहिले सम्म पनि शिक्षक दिवसलाई भब्यताका साथ मनाउन सकिएको छैन ? यो सोचनीय प्रश्न छ । हरेक दोषमा सरकारलाइ धारे हात लगाउने हाम्रो संस्कृति नै वनि सकेको छ । शिक्षक दिवस घोषणा गर्न नसक्नुमा भने सरकार भन्दा अरुको दोष वढी देखिन्छ । यसमा राजनीतिक पार्टीको सामानान्तर संख्यामा खुल्दै गएका वेलावेलामा पेशागत भन्दा राजनितिक वढी भएको आरोप लाग्ने गरेका शिक्षक संघ संगठनहरुको आपसी विमतिले काम गरेको छ ।
अहिले वर्षको एक दिन शिक्षक दिवस मनाउनु पर्दछ भन्नेमा सवै पक्षहरु सहमते भए पनि दिवस मनाउने तिथिको घोषणाको सन्दर्भमा भने सरोकारवाला विच थुप्रै मतभेदहरु रहेको पाइन्छ । नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतका केहि शिक्षकका संगठनहरुले २०३७ साल देखि नै नेपाल राष्ट्रिय शिक्षक संगठनको दर्ता भएको दिन चैत्र २९ गतेलाइ शिक्षक दिवसको रुपमा मनाइएको पाइन्छ । यो दिनलाइ सवैले मान्दा अरु संगठनहरुले अप्ठयारो मान्न सक्छन् । त्यस्तै पौराणिक काल देखि नै व्यासको जन्मदिनको अवसर पारेर गुरु पुर्णिमालाइ समेत शिक्षक दिवसको रुपमा विद्यार्थीहरुले शिक्षकहरुलाइ गुरुको रुपमा सम्मान गर्दै मनाइदै आएको छ । यो दिनलाइ पनि सवै समुदायका शिक्षकहरुले असल दिनको रुपमा लिन्छन् भन्न सकिदैन ।
यसको साथसाथै युनेस्को लगायतका विश्वका एक सय भन्दा वढी देशहरुमा उत्सवको रुपमा मनाइदै आइरहेको र विश्व भरीका शिक्षकहरुको मुक्तिको इतिहास संग जोडिएको दिन ५ अक्टुवरलाइ शिक्षक दिवसको रुपमा मनाउने प्रचलन पनि नेपालमा आइसकेको छ । त्यसैले वर्षमा पटक पटक मनाइने शिक्षक दिवसहरुको साटो वर्षको कुनै एक दिनलाइ आम सहमतिमा शिक्षक दिवस घोषणा गर्न सक्नु पर्दछ । यसका लागि अक्टुवर पाँच मिलन विन्दु हुन सक्छ ।
दिवस त मनाउने तर कसरी ? शिक्षक दिवस विद्यालय वन्द हुने दिनको रुपमा भने कदापि सुचिकृत नहोस् । त्यस्तै विगतमा शिक्षकहरुको काम भन्दा ठुलावडाको तजविजलाइ आधारमा वितरण गरिने शिक्षा पुरुस्कार जस्तो राजनितिक दलहरुको भागवण्डाको मसला वितरणको प्लेटफर्म पनि नबनोस् । यसले असल शिक्षकलाइ समाजमा परिचित हुने प्रर्याप्त अवसर प्रदान गर्न सक्नु पर्दछ । शिक्षकले गरेको योगदान र क्षमताको आधारमा अभिभावक र विद्यार्थीको सिफारीसमा पुुुरस्कृत हुने प्रर्याप्त अवसर पाउनु पर्दछ । त्यस्तै विद्यार्थी र शिक्षकको विचमा आत्मिय सम्वन्धका आधारमा खुसियाली र मान सम्मान आदान प्रदान गर्ने दिनको रुपमा परिचित गराउनु पर्दछ । वर्षकै सवै भन्दा उत्कृष्ट शिक्षक, विषय शिक्षक, र प्रधानाध्यापकहरुका नामहरुको घोषणा पारदर्शी मापदण्डको आधारमा गर्नु पर्दछ ।
यो दिन हरेक विद्यालयमा भुतपुर्व विद्यार्थी, अभिभावक र शिक्षकहरुको मिलन स्थलको रुपमा विकास गर्न सक्नु पर्दछ । शिक्षकले आफनो जिवनमा अनुभव गरेका महत्वपुर्ण अनुभवहरुलाइ विद्यार्थी समक्ष प्रस्तुत गर्ने दिनको रुपमा, वर्ष भरिको लागि शिक्षण सिकाइलाइ प्रभावकारी वनाउन तयार गरेका योजनाहरु शिक्षक शिक्षक विच आदानप्रदान गर्ने दिनको रुपमा र विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले आफ्ना योजना र अनुभवहरु सहपाठिहरु विच साटासाट गर्न समेत यो दिवसलाइ उपयोग गर्न सकिन्छ । यसो गर्न सकिएमा शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गर्न सकिने छ ।
सवै भन्दा प्रमुख कुरा शिक्षकलाइ समाजले हेर्ने उपेक्षाको दृष्टिकोणमा व्यापक परिवर्तन आएर शिक्षकको आत्म सम्मान वढ्ने छ । यसको साथसाथै समाजमा उच्च सम्मान गर्ने पेशाको रुपमा विकास हुनेछ । सवै शिक्षकहरु एकै प्रकारका छैनन् देशलाइ उत्कृष्ट योगदान दिन सक्ने क्षमता भएका शिक्षकहरु समेत हाम्रो समाजमा छन् भन्ने सन्देश आम जनमानसमा पठाउन सफल हुन सकिन्छ ।
अर्को पाटो शिक्षक स्वयमले पनि आफ्नो निरन्तर अनुगमन भइरहेको महसुस गरी असल सार्वजनिक व्यवहार प्रदर्शन गर्न व्यवहार सुधारमा अग्रसर हुने छन् । त्यस्तै एक पटक समाजले प्रसंसा गरेको शिक्षकले त्यसलाइ कायम राख्न राजनिति र व्युरोक्रेसि प्रति भन्दा समाज र वालवालिका प्रतिको उत्तरदायीत्व वढी महसुस गर्ने छ । यो दिवसमा प्रसंसा नभएकाले अर्को शिक्षक दिवसमा राम्रो शिक्षकको सुचिमा कसरी दर्ज हुने भन्ने चिन्ताका साथ कार्य क्षेत्रमा खटेर अपेक्षित उपलब्धिहरु प्राप्त गर्न तिर ध्यान केन्द्रित गर्ने छन् । यस अर्थमा शिक्षक, अभिभावक, प्रधानाध्यापक र विद्यार्थी सवैको अन्तर सम्वन्ध सुधारमा यो शिक्षक दिवसले पृष्ठपोषकको भुमिका निभाउनु पर्दछ ।
समग्रमा नेपालको वर्तमान शिक्षा प्रणालीका थुप्रै कमजोर पाटाहरु वेलावेलामा छचल्किने गरेको देखिन्छ । त्यसैले निरन्तर रुपान्तरणको लागि विभिन्न समयमा नीतिगत व्यवस्थाहरु पनि भइरहेकै छन् । विडम्वना अझै यो अपेक्षित मार्गमा गतिशिल भएको देखिदैन । यसले शिक्षा र शिक्षणको क्षेत्रमा निरासाको विजारोपण गरेको जस्तो देखिन्छ । केन्द्रियस्तरका नीति निर्माणमा शिक्षकहरु त्यति धेरै सहभागि नभए पनि कार्यन्वयनको पाटोमा भने महत्वपुर्ण हिस्सेदार रहेको देखिन्छ । यस अर्थमा शिक्षा क्षेत्रमा शिक्षकको पाटो स्वस्थ हुनु जरुरि छ । तसर्थ तालिम, विभिन्न मौद्रिक तथा गैर मौद्रिक उत्पे्ररकहरु शिक्षकको पाटोलाइ सुधार गर्ने महत्वपुर्ण साधन हुन सक्छन् । गैरमौद्रिक पाटो भित्र पनि शिक्षक दिवसलाइ अर्थपुर्ण ढंगवाट मनाएर नेपालका शिक्षकहरुमा खस्कदै गएको आत्मसम्मान, उत्साह, जिम्मेवारी वोध, जवाफदेहिता र समाजले शिक्षकलाइ हेर्ने लेन्समा समेत अपेक्षित परिवर्तन ल्याउन कोशेढुङ्गा सावित हुन सक्छ ।
यति हुदाँहुदै पनि सवै पेशामा सफल त्यो व्यक्ति हुन्छ जो संग फिडव्याक कुर्नको लागि समय हुदैन, सफलताको क्रेडिट खोज्दैन, प्रतिवद्धता तोड्दैन, कामवाट पछि हट्दैन, इष्र्या गर्दैन, यो काम मेरो होइन भन्दैन ।
लेखक पुर्व शिक्षक हुन् । उनी शैक्षिक तालिम केन्द्र तनहुँमा कार्यरत छन् ।
प्रतिक्रिया