Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

एसईईमा लापरवाही : बोर्ड अध्यक्ष गर्व साथ भन्छन्- त्रुटि लुकाउन सक्थ्यौं लुकाएनौं !

मंगलबार, १२ असार २०७५

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसईई परीक्षाफल प्रकाशनमा भएको गम्भिर लापरवाहीको ढाकछोप गर्ने प्रयास गरेका छन् । त्रुटि थाह पाउना साथ सच्याउन सकेको कुरालाई 'गर्व' साथ उल्लेख गर्दै उनले यसलाई 'पोजेटिभ' रुपमा बुझिदिनु पर्ने बताए । उक्त त्रुटि सच्याएर विद्यार्थीले जीवनभर कम जीपीएको प्रमाण बोकेर बस्ने अवस्थाको अन्त्य गर्न सफल भएको भन्दै उनले 'आत्मगौरव' समेत ब्यक्त गरे ।

परीक्षा जस्तो सम्बवेदनशील कुरामा भएको लापरवाही प्रति चौतर्फि आलोचना भईरहेको छ ।

पढ्नुहोस् : एसईईमा लापरवाही : अघिल्लो दिन २४ जना, भोलीपल्ट ७४

तर पौडेलले भने त्रुटि सच्याएको कुरालाई सही भन्नु पर्ने तर्क प्रस्तुत गरेका छन् ।

'त्रुटि फेला परेपछि पनि हामीले त्यसलाई पछि ग्रेडसीटमा सच्याईदिउँ न त भनेको भए मिडियामै आउँदैन थ्यो, तर किन त्यतिबेला सम्म कुर्ने भनेर तत्काल सुधार गर्यौं' मंगलबार शिक्षा पत्रकार समूहले गरेको कार्यक्रममा उनले भने, 'विद्यार्थीले पाएको नम्बरलाई चलाएकै छैन, मात्रै सफ्टवेयरमा नयाँ भर्सन अपडेट गर्दा केही नम्बरलाई काउण्ट नै गरेनछ, यो मानवीय त्रुटि हो ।'

परीक्षा नियन्त्रण कार्यालयमा नतिजा प्रकाशनको काममा कार्यरत प्राविधिक अनुपकुमार न्यौपानेको बढुवा सँगै सरुवा भएपछि काममा समस्या भएको कार्यालयका कर्मचारीले बताउँदै आएका थिए

परीक्षा जस्तो अत्यन्त संवेदनशील कुरामा विना दक्ष जनशक्ति काम गरेको एवं समयमा दक्ष कर्मचारीको ब्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भईरहे पनि अध्यक्ष पौडेल आफू अध्यक्ष हुनु अघिकै प्रकृया भन्दै पन्छिए ।

'मेरो नियुक्ति अघिनै सरुवा भएको रहेछ' किन बेलामा कर्मचारीको ब्यवस्थापन नगरेको भन्ने एडुखबरको प्रश्नमा 'लकपके' उत्तर सहित उनले भने 'अर्को जनशक्ति राख्ने अधिकार सरकारकै हुन्छ बोर्डले केही गर्न सक्दैन ।'

कार्यालयले पाठ्यक्रम विकास केन्द्रका प्राविधिक नसिव आचार्य मार्फत् काम गराएको थियो ।

शनिवार सार्वजनिक नतिजामा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले आईतबार फेरी अर्को नतिजा सार्वजनिक गरेको जनाएको थियो । जसका कारण विद्यार्थीले अघिल्लो दिन पाएको जीपीएमा परिवर्तन भएको थियो ।

पढ्नुहोस् : एसईई नतिजामा चरम लापरवाही, एउटै विद्यार्थीको जिपीए फरक फरक

उक्त लापरवाहीको छानवीन गर्न शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाको संयोजकत्वमा छानविन समिति बनाएको छ ।

पढ्नुहोस् : एसईई परीक्षामा लापरवाही : छानविन समिति गठन

उक्त समितिले आफूलाई दोशी ठहर गरे जेल जान परे पनि तयार रहेको पौडेलले बताए ।

समिति बनाएर तल्ला तहका कर्मचारी माथि दोश थोपर्ने नियत हुन सक्ने शंका भईरहेको बेला पौडेलले ईञ्जिनीयरलाई बलिको बोको नबनाउने बरु अब आईन्दा यस्तो त्रुटि हुन नदिने तर्फ सचेत हुने बताए । 

प्रतिक्रिया