निजी विद्यालयमा पढायने आर्थिक हैसियत नभएका अभिभावकले 'मैले अघिल्लो जुनीमा के पाप गरेछु, आफ्नो बच्चालाई बोर्डिङ स्कुलमा पढाउन सकिन' भनेर अलाप गर्दैछन् ।
उनीहरुका दर्द सुने पछि मानवीय पक्षलाई केन्द्रमा राख्ने अथवा कमलो मन भएका मानिस भक्कानो छोडेर रुने विन्दुमा पुग्छन् ।
संविधानले समाजवाद उन्मुख राज्यको कल्पना गरेको छ । सवै राजनीतिक दलका चुनावी घोषणापत्रमा शिक्षालाई मौलिक हकको रुपमा, आधारभूत आवश्यकता र समान अवसर अपलब्ध गराइने उल्लेख छ ।
बहुमतको सरकार सञ्चालन गरिरहेका दलको घोषणा पत्रमा त समानताको पक्षलाई निकै जोड दिईएको छ ।
अहिले नेपालमा समाजवाद सबैको भुनभुनउने विषय बनेको छ । समाजबादमा शिक्षा कस्तो हुन पर्छ ?
उत्तर सरल छ, सवैले पढ्ने समान अवसर पाउने अवस्था भएको शिक्षा पद्दति नै समाजवादमा आधारित शिक्षा पद्दति हो ।
विश्वका अन्य मुलुकको अभ्यास र ब्याख्या विश्लेषण गर्दा कम्तिमा आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क गरी अभिभावकलाई अवसरको मुल्य समेतको व्यवस्था गरिदो रहेछ । पूर्व प्राथमिक शिक्षामा जुन सुकै हालतले पनि सवैलाई समान अवसर हुँदोरहेछ । प्रनरम्भिक शिक्षामा असमान अवसर भन्ने गन्ध नै आउँदो रहेनछ ।
शिक्षा सम्वद्ध ब्यक्ति र राजनीतिक आवरण भएका विज्ञका लेख पढ्दा अनी मन्त्री र राजनीतिकर्मीका भाषण सुन्दा मुलुकमा समाजवादमा आधारित शिक्षा आइपो सकेछ जस्तो लाग्ने ! राष्ट्रिय स्तरका शैक्षिक दस्तावेजहरुमा पनि कुरा त्यस्तै प्रतिविम्वित छन् । त्यस्ता सामग्री पढिसके पछि लाग्छ समाजबाद उन्मुख राज्य व्यवस्था र समावेशी राज्य जस्ता संवैधानिक प्रत्याभुतिलाई हाम्रा व्यवहारले गिज्याउँछ । राजनीतिक वृतमा सस्तो स्यावासी (Popularity) पाउन र ठूला ठालुको चर्चाको विषय बाहेक ती असक्षम अभिभावकहरु जसले अघिल्लो जुनिको कर्मलाई धिक्र्काछन् उनीहरुका लागि यस्ता संवैधानिक र अन्य दस्तावेजमा उल्लेख भएका शव्दावलीको के अर्थ ?
अहिले राजनीतिक घोषणापत्रका निर्जीव अक्षरले खास अर्थ दिइरहेको छैन । तथापि हामी सक्ने जतिले अंग्रेजी र निजी विद्यालयको शिक्षाको दौडमा कस्सिएर भाग लिइ रहेका छौं । नसक्ने हतासिएर अघिल्लो जुनिलाई सराप्नुको विकल्प देखिरहेका छैनौं ।
किन तपाइलाई बोडिङ्ग नै चाहियो ?
अभिभावकको सरल उत्तर हुन्छ - 'त्यहाँ अंग्रेजी पढाइ हुन्छ । पढाइ पनि राम्रो हुन्छ ।'
जसले पढाउन सक्दैनन् पूर्वजुनिको कमाइ भन्नु बाहेक कुनै विकल्प देख्दैनन् । अनी म जस्तो सामान्य मानिसले यो समस्यामा खासै केही गर्न सक्दिन । व्यापारी, उच्च र मध्यम स्तरका नागरिक, कर्मचारी र राजनीतिक कर्मीका सन्तान निजी शिक्षण संस्थामा पढेका छन् त्यसबाट पढ्ने व्यक्ति, अभिभावक, समाज र मुलुकले के पाएको छ ?
यो आलेख अंग्रेजी र निजी विद्यालयमा दिइने शिक्षा ठीक कि वेठीक भन्ने तर्कको बहसमा हैन परन्तु, पाठकलाई आफै अनुभुति गर्ने सूचना प्रदान तथा विषयवस्तुको अवगत गर्न सहजीकरण गर्ने उद्धेश्यमा केन्द्रित छ । मैले भोगेका जानेका र अनुभव गरेका केही टिपोटहरु पाठक समक्ष राख्ने जमर्को गरेको छु ।
अनुभव एक
तीन वर्ष अघि मेरो उत्तर विद्यावारिधि अध्ययन गर्ने क्रममा तयार गरेको सार्वजनिक शिक्षामा राजनीतिक अस्थिरताको असर (The Effect of Political Stability on Public Education Quality) विषयको लेख अमेरिका केन्द्रित एक अन्तराष्ट्रिय पत्रिकामा सबैभन्दा बढी पाठक मैत्री भएछ ।
उनीहरुले सन् २०१४ को अत्यधिक सराहनीय पुरस्कार (2014 Highly Commended Paper Award) प्रदान गर्न अमेरिकाको फिलेडलफियामा बोलाए ।
सो कार्यक्रममा विश्वविद्यालयका एक स्थापित प्राध्यापकले - तिम्रो देशमा सार्वजनिक शिक्षा मात्र होइन निजी विद्यालयको शिक्षाले पनि महत्वपूर्ण स्थान ओगटेको छ । यसको दुरगामी असरका बारेमा एउटा यस्तै खोज हुन सक्छ भनी अध्ययनको सीमितताबाट अर्को अनुसन्धानको विषय औंल्याएका थिए ।
समारोह सकिए पछि २०।२५ दिन घुमघामको समय थियो । त्यही समयमा अमेरिकामा भएका करिब ३० जना जति नेपाली युवाहरुसँग छलफल गर्ने अवसर मिल्यो । मैले सात प्रश्नहरुमा उनीहरुसँ जिज्ञासा राख्ने प्रयास गरें ।
(१) तिमीहरु के काम गर्छौ ?
(२) के पढ्दै छौ ?
(३) कति कमाई छ ?
(४) नेपालमा कुन स्कुल पढियो ?
(५) पढे पछि के गर्ने विचार छ ?
(६) कति पैसा खर्च गरेर यहाँ आएको ?
(७) घर कहिले फर्कने र बा–आमासँग कहिले भेट हुन्छ ?
एउटा प्रश्नको बाहेक अरु कुनै प्रश्नको पनि स्पष्ट उत्तर आएन । कसैबाट पनि आएन । केहीले ICT सम्बन्धी काम गर्छु भने । त्यस्ता युवासँग उनीहरुको कार्यालय जाने र हाकीमसँग पनि भेट गर्ने इच्छा व्यक्त गरियो । हुन्छ त भने तर लग्ने मन पटक्कै गरेनन् ।
कहाँ पढेको भन्ने प्रश्नको उत्तर भने सहज रुपमा आएको थियो बोर्डिङ स्कुलमा । मनमा चिसो पस्यो के काम गरेको, कति कमाउने, के बन्ने, आफ्नो अभिभावक र मातृभूमीमा कहिले जाने जस्ता कुरा निश्चित नभएका हाम्रा युवा ?
अमेरिकावाट फर्कियो अरब मुलुकको जहाज मैदानमा धेरै समय ट्रान्जिट यात्रुको रुपमा बिताउन पर्ने थियो । त्यहाँको एयरपोर्टमा त धेरै नेपाली नै रहेछन् । कोही यात्रु¸ कोही त्यही काम गर्ने, कोही नेपाली बोल्ने, कोही मैथिली, गुरुङ, लिम्बु आदि । ट्रान्जिट बसाइमा धेरै जनासँग गन्थन भयो । अमेरिकामा रहेका नेपाली विद्यार्थीलाई सोधेका प्रश्न यहाँका नेपाली युवालाई पनि सोधेँ ।
के गर्ने दाइ पढ्न सकिएन सरकारी स्कुलमा अलिअलि पढियो खाडी मुलुकमा भास्सियो ।
तर उनीहरुमा कुनै अस्पष्टता थिएन ।
के काम गर्ने ?
कति कमाउने ?
कहिले फर्कने ?
कति खर्च गरेर आएको ?
त्यति बेला नेपाली १० हजार देखि एक लाख ७० हजार सम्म कमाउने नेपाली खाडि मुलुकमा भेटिए । सवै नै सामुदायिक विद्यालयमा पढेका रहेछन् । उनीहरुको रेमिट्यान्समा ठूलै योगदान छ । भन्ने कुरा स्मरणमा लिदै फर्किएँ ।
त्यी अमेरिका गएका र खाडिमुलुकमा काम गरेका बीचको अवस्था मानस पटलमा तुलना भयो । तुलना गर्छु भनेर होइन । आँफै भयो । एउटा मानिस, समाजको पात्र, राज्यको नागरिक र अभिभावकको सन्तान चारै पक्षबाट हेर्दा पहिलो भन्दा दोस्रो मानवीय रुपमा बाँचेको भान भयो । आफुले के गरेको कति कमाएको जस्ता प्रश्नको उत्तर दिन आनाकानी गर्ने भन्दा त थोरै नै कमाउने र ढुक्कले भन्न सक्नु राम्रो होइन र भन्ने मनमा भाव उत्पन्न भयो । ती बोर्डिङ पढेका मध्यम र उच्च हैसियतका अभिभावकको बच्चा अमेरिका र अष्टेलियामा धेरै छन् । न रेमिट्यान्समा ठूलो योगदान छ । अभिभावकको अन्तिम अवस्थाको सहारा पनि हुन सक्दैन । लाखौँ खर्च गरेर तयार गरेको हाम्रो जनशक्ति विकसित मुलुकको एउटा तर्क गर्न नसक्ने संरचना भित्र बसेर उसको फ्रेमवर्कको संयन्त्रमा फसेर दैनिक ज्यालादारीमा काम गर्छ र के काम गरको राम्रोसँग भन्न सक्दैन ।
त्यसै भएर होला छिमेकी मुलुक चिन र भारतले ब्रेन ड्रेनलाई सम्बोधन गर्न ब्रेन गेन¸ ब्रेन सेयरिङ¸ ब्रेन एक्सचेन्ज र विदेशीएका वौद्धिक व्यक्तिलाई फर्काउने विभिन्न प्याकेज ल्याएका छन् ।
मुलुकका उच्च दक्षता भएका नागरिक विदेश तिर भासिँदा उनीहरुको हैसियत त्यहाँ बनेन रे । सधैँ दोस्रो दर्जाका नागरिक भए रे । आफ्नो पहिचान नै गुमाए रे । मेसिन जस्तो काम गर्ने हुँदा मानवीय पक्ष कमजोर भयो रे । मुलुकले पहिचान बनाउन सक्ने गतिला मानिस गुमाउन पर्यो रे । समाज र परिवार पनि लिने र गुमाउने हिसाव गर्दा सम्पूर्णतामा गुमाउने बढी भयो रे ।
अनुभव दुई
गत भदौमा दक्षिण कोरियामा आयोजित सीप प्रतिष्पर्धा सम्बन्धी क्षमता विकास कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । दक्षिण कोरियाले विश्वव्यापी सीप परीक्षणमा ५५ प्रतिशत स्वर्ण पदक एक्लैले जितको रहेछ (सन् १९६६ देखि हालसम्म)
त्यहाँको अधिकांश स्वर्ण पदक विजेताले हामीलाई कक्षा लिए । पढाए । तर अंग्रेजी वोल्न सक्दा रहेनछन् । दोभाषे लिएर आए । ती सवै जसो स्वर्ण पदक विजेता स्वदेशमै सेवा गर्छन् । व्रेनड्रेनको समस्या त्यहाँ छैन ।
१९६० को दशक तिर नेपाल भन्दा गरिव मुलुक दक्षिण कोरिया । त्यतिवेला त्यहाँ नेपालवाट नेपाली उत्पादनको धान जान्थ्योे । हाल विश्वका सम्वृद्ध राष्ट्रको ११ औं पक्तिमा छ ।
हामीले प्रश्न गर्यौं - उनीहरुसँग कसरी यस्तो फड्को मार्यो तिमीहरुको मुलुकले ?
उनीहरुको उत्तर थियो - दक्ष जनशक्ति विदेश पलायन भएनन् ।
उनीहरुले अंग्रेजी नजानेर कहिल्यै लघुताभाष गरेनन् विश्वव्यापी प्रतिष्पर्धामा भाग लिए अरुलाई जिते । आफ्नो सीप देखाए । अंग्रेजी चाहिने मूल्यांकन कर्ताले दोभाषे राख्यो उनीहरुको क्षमता बुझ्यो । हामीलाई अनुभव सुनाउन र पढाउन आएका ती विश्वव्यापी विज्ञले
अंग्रेजी नजानेर आफूसँग दोभाषे ल्याउन पाएकोमा गर्व गर्दै थिए । त्यसो भए अंग्रेजी आवश्यक नै हो त ?
हामी सामुदायिक विद्यालयमा अंग्रेजी पढाउन तम्सियौं । सवैमा अंग्रेजी अनिवार्य भन्यौ । तर अंग्रेजी नजान्ने शिक्षकले पढाएको अंग्रेजी कस्तो होला ?
नेपाली पनि नजान्ने अंग्रेजी पनि नजान्ने भविष्यको जनशक्ति हाम्रो लागि प्रतिउत्पादक त हुँदैन ?
एउटा भाषामा दख्खल भएको व्यक्तिले सजिलै अर्को भाषामा सिक्न सक्छ भन्ने कुरा ख्यालै नगरी हामीले कस्तो जनशक्ति तयार गर्दैछौं ?
अनुभव तीन
डोल्पा जिल्लामा नजिकमा दुई वटा सामुदायिक विद्यालय रहेछन् । एउटाको नजिक निजी विद्यालय खुलेछ । निजी विद्यालयको कारणले विद्यार्थी क्रमश घटेछन् । विद्यार्थी नभएकाले जिल्ला शिक्षा कार्यालयले वन्द गर्ने प्रयास गरेछ । गाउँले भेला भएर त्यो विद्यालय गाउँको प्रतिष्ठाको विषय भएकाले वन्द गर्न नहुने निचोड निकालेछ । अनी निजी विद्यालयलाई त्यसैमा समायोजन गर्ने, सवैलाई अंग्रेजी पढाउने, सवै शिक्षक समेत त्यसै सामुदायिक विद्यालयमा ल्याउने भएछन् । सोही अनुसार सञ्चालन भएछ । सो गभिएको अंग्रजी माध्यममा पढाउने विद्यालयमा एसएलसी लगायतका परीक्षामा पनि परिणाम राम्रै देखिएछ । सवै खुशी भएछन् । एकदिन एकजना युरोपतिरका पाका प्रध्यापक घुम्दै आए छन् ।
जिल्ला शिक्षा अधिकारीले गर्वका साथ त्यो विद्यालयमा लगेर अवलोकन गराए छन् । अर्को नेपाली माध्यममा पढाइ हुने विद्यालयमा पनि पुर्याएछन् । त्यो दिन अंग्रेजी पढाइ हुने विद्यालय साह्रै राम्रो अनुशासित वातावरण थियो रे । अर्को विद्यालयमा अलि लाज लाग्दो वातावरण थियो रे ।
जिशिअ ले ती प्राध्यापकसँग प्रतिक्रिया माग्दा उनको सोचाइ र वुझाइ भन्दा उल्टो धारणा व्यक्त गरेछन् ।
उनले भनेछन् 'म बालमनोविज्ञानसँग सम्बन्धित मान्छे उनीहरुकै बारेमा कुरा गर्न पर्यो, तितो सत्य बोल्न पर्यो, तिमीहरुले बच्चाको Potentiality kill गरेछौ । भविष्यका कर्णधारका लागि तिमीहरु असल पथप्रदर्शक बन्न सकेन छौ भन्ने लाग्छ । अझ मलाई लाग्छ असल बन्न त सकेनौं खराब बाटो पो समातेछौ ।'
अँग्रेजी भाषामा पढाई हुने विद्यालयका विद्यार्थी बोल्दा पनि घोसे मुण्टो लगाउने, बोल्न नजाने शिक्षकको हप्कि दप्कि खाने, नेपाली भाषामा पढ्ने विद्यार्थीको अनुहार हँसिलो । आपसी अन्तरक्रिया राम्रो देखेको उनको टीप्पणी आएछ ।
एउटामा मानवीय पक्ष राम्रो छ, अर्कोमा जवरजस्त देखाइएको छ भनी सिकाइ र बालमनोविज्ञान बिचको सहसम्वन्ध तथा मानवता समेतको त्रिपक्षीय संयोजन सहितको उनको वुझाई व्यक्त भएको ती जिल्ला शिक्षा अधिकारीले हामीलाई सुनाए ।
अनुभव चार
पाँच वर्ष जति पहिलाको कुरा हो । शिक्षा विभागका तत्कालीन महानिर्देशक डा. लवदेव अवस्थीको विशेष प्रयासमा संयुक्त राष्ट्रसँघका पूर्व महासचिब कुलचन्द्र गौतम लागायतका नेपालका गन्यमान्य महानुभावहरुको भेला धुलिखेलमा भएको थियो । सो भेला आवासीय थियो । वेलुका अनौपचारिक गफगाफ र भेटघाट गर्ने । विहान सामान्य योगाभ्यास पछि शैक्षिक अन्तरक्रिया गर्ने ।
विज्ञहरुको भेलामा आफू पनि सहभागी हुन पाएकोमा सिकाइका लागि म निकै उत्साहित र मख्ख थिएँ । अन्तरक्रियामा सवैले मुलुक बनाउने आ–आफ्नो वुद्धि र विचार व्यक्त गरे । आफू पनि दिक्षित हुँदै गए जस्तो लगिरहेको थियो । अन्त्य अन्त्य तिर एक जना अंग्रेजी टोन भएकी महिलाले नेपालीमा भनेको कुराले मलाई अलि बढी प्रभाव पार्यो ।
क्रिस्टिना स्टोन बेलायती नागरिक तर नेपाली माटोमा भिजेको परिचित नाम हो । उनको नाम विद्यालय तहका नेपालका पाठ्यक्रम र पाठ्यपुस्तकहरुमा पनि भेटिन्छ ।
नेपालमा धेरै समयसम्म बसेकी र नेपालका विद्यालयहरु र संस्कतिमा राम्रोसँग भिजेकी ती महिलाले बडो मार्मिक रुपमा भनिन् 'म धेरै पढेको छैन । धेरै सिद्धान्त र दर्शनको कुरा गर्दिन र जान्दिन । मेरो जन्म थलो वेलायत हो । तर कर्म थलो नेपाल हो । म ३५ वर्ष देखि यो भूभिमा बस्दै आएकि छु । नेपालका सवै जसो जिल्ला र गाउँ बस्तिमा पुगेकी छु । नेपालका शिक्षक शिक्षिका मेरो प्राण जस्तो भएका छन् । ३५ वर्षमा नेपालले शिक्षामा धेरै प्रगति गरेको छ । तर मलाई एउटा कुरामा धेरै डर लागेको छ र मैले राम्रोसँग बुझेकि पनि छैन । सरकारले पनि २०७७ सालबाट नेपालका विद्यालयमा अंग्रेजी माध्यम अनिवार्य गर्ने भन्यो रे । विद्यालयहरुमा धमाधम अंग्रेजीमा पढाइ हुन थालेको छ । तर जस्ले अंग्रेजी माध्यम पढाउँछ उसैले अंग्रेजी जानेको छैन । अव बरबाद हुने भयो जस्तो लाग्छ । बच्चाले एउटा भाषामा पनि राम्रोसँग सञ्चार गर्न नसक्ने भयो । कम्तिमा एउटा भाषामा सञ्चार सीप राम्रो भए अर्को भाषा त आफैंले पनि सक्न सक्ने थियो । जस्तो मैले नेपाली सिकें ।'
त्यो भेलामा धेरै विद्वानहरु र विज्ञ थिए । उच्च पदस्थ कर्मचारी पनि थिए । सवैले बोलेको कुरा भ्याए र सकेसम्म टिपोट गरि रहेको थिएँ । तथापि ती महिलाको भनाइले मलाई झस्काइ रह्यो । अहिले पनि झस्काउँछ । त्यस दिनमा अरु विद्वान भन्दा मेरा लागि असल गुरुआमा उनी बनिन् ।
निचोड
शिक्षामा विकास गर्ने हो भने १०० वर्ष पछिको कुरा हेर भन्ने चिनीया उखान मनन् योग्य छ । मैले यहाँ अंग्रेजी माध्यममा पठन पाठन गर्न गराउन ठीक र वेठीक भन्न सकिन । तर बहसको विषय अवश्य हो भन्ने लाग्छ । कम्तिमा बोडिङ्गमा पढाउनै नसक्ने अभिभावकले चिन्तित हुन पर्ने छैन भन्ने कोणबाट काम हुनु जरुरी छ ।
काफ्ले क्षेत्रीय शिक्षा निर्देशनालय कास्किका निर्देशक हुन्
प्रतिक्रिया