Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

एसईई नतिजामा चरम लापरवाही, एउटै विद्यार्थीको जिपीए फरक फरक

आइतबार, १० असार २०७५

काठमाडौं - शनिबार सार्वजनिक एसईई परीक्षाको नतिजामा चरम लापरवाही गरिएको छ । एउटै विद्यार्थीको जिपीए फरक फरक फेला परेपछि परीक्षा नियन्त्रण कार्यालयको लापरवाही सार्वजनिक भएको हो ।
शनिबार सार्वजनिक नतिजामा ईरर देखिएको भन्दै कार्यालयले आफ्नो वेभसाईटमा आईतबार नयाँ डाटा हालेको छ । उक्त तथ्याङ्क हिजोको भन्दा विल्कुल फरक छ ।

उक्त घटनालाई टेक्निकल ईरर भन्दै नियन्त्रक अम्बिका प्रसाद रेग्मीले गैह्र जिम्मेवार उत्तर दिएका छन् ।

'केही प्राविधिक त्रुटि भएछ, त्यसैले हामीले आईतबार उक्त त्रुटि सच्याएर नयाँ डाटा ईण्ट्रि गरेका छौं' उनले भने 'पछिल्लो तथ्याङ्क नै आधिकारिक हो ।'

प्रारम्भिक रुपमा यो संख्या ३ हजार हाराहारी भएको अनुमान गरिए पनि कति विद्यार्थीको नतिजामा फरक आएको हो भन्ने यकिन भईसकेको छैन । यो संख्या निकै ठूलो हुने अनुमान गरिएको कार्यालय श्रोतको भनाई छ ।

बुटवल स्थित एक निजी विद्यालयका प्रिन्सिपल हरी ज्ञवालीले हिजो कार्यालयको वेवसाईटमा राखिएको मार्कसिटको तुलनामा आज सबै विद्यार्थीको जीपीए बढेको बताए ।

'हाम्रो विद्यालयबाट मात्रै ५४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । ती मध्ये ३५ जनाको जिपीए हिजोको तुलनामा आज बढेको छ ' उनले भने ।

विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षाफल जस्तो सम्बेदनशील कुरामा भएको यो हद सम्मको लापरवाही प्रति चौतर्फि विरोध भएको छ ।

परीक्षाको काममा संलग्न प्राविधिक नसिव आचार्य भने यसलाई टेक्निकल ईस्यु भन्दै सामान्य तरिकाले ब्याख्या गर्छन् ।  

'यो कुनै ठूलो ईरर हैन कम्ट्याब्लिटी ईस्यु हो' उनले भने 'हामीले नतिजामा ईरर भएको थाह पाएपछि दिउँसो फरी परीक्षा बोर्डको बैठक बसेर नयाँ डाटा ईन्ट्रि गरिएको छ, अब समाधान भयो ।'

परीक्षाफल प्रकाशन गर्ने दिन शनिवार पनि तोकिएको समय भन्दा झण्डै ५ घण्टा ढिलो नतिजा सार्वजनिक गरेर कार्यालयले गडबडी हुने संकेत दिईसकेको थियो ।

प्राविधिक गडबडीले एसईई नतिजामा ढिलाई

तर त्यस घटनालाई पनि शिक्षा सचिव खगराज बराल सहितका उच्च कर्मचारीले सामान्य प्राविधिक कारणले केही ढिलो भएको भन्दै बचाउ गरेका थिए ।

कस्तो प्राविधिक कारण ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनीहरुले गोलमटोल उत्तर दिएका थिए ।

लामो समय देखि कार्यालयमा परीक्षाको तथ्याङ्को काम गर्दै आएका पूर्व कर्मचारी अनुप न्यौपानेको बढुवा सँगै सरुवा भएपछि पाठ्यक्रम विकास केन्द्रका आचार्य मार्फत् परीक्षाको काम हुँदै आएको थियो ।

एडुखबरमा विभिन्न विद्यार्थीको फरक फरक जिपिए उल्लेख भएको मार्कसिट प्राप्त हुने क्रम जारी छ । त्यस मध्ये उदाहरणका लागि माथि राखिएको फोटोको अर्को विवरण हेर्नुहोस् :

प्रतिक्रिया