Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

प्राविधिक शिक्षाका बारेमा मन्त्रालयले नैतिकता गुमायो : सिटिईभिटि

विहीबार, १७ असार २०७२

काठमाडौं १७ असार / प्राविधिक एसएलसी दिएका विद्यार्थीको पठन पाठनको जिम्मा आफूलाई नदिने शिक्षा मन्त्रालयको तयारी प्रति विरोध जनाउँदै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् सिटिईभिटिले राजननितिक दलहरुको ध्यानाकर्षण गराएको छ । संसदीय समितिले समेत समिति बनाएर ब्यवस्थित गर्न निर्देशन दिएको अवस्थामा मन्त्रालयले मनलाग्दी निर्णय गर्न लागेको भन्दै पत्र लेखेको हो । सत्तारुढ दल नेपाली काँग्रेस, एमाले, एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पत्र लेखेर ध्यानाकर्षण गराएको हो । 

बिहीबार पत्रकार सम्मेलन गर्दै सिटिईभिटिका सदस्य सचिव डा. रामहरी लामिछानेले ऐनमै व्यवस्था नभएको कुरालाई लागू गर्न खोजेर मन्त्रालयले नैतिकता गुमाएको आरोप लगाए । सिटिईभिटिको सदस्य सचिव भए पनि त्यो भन्दा धेरै प्राविधिक शिक्षाको क्षेत्रमा काम गरेको नाताले आफूले प्राविधिक शिक्षा ब्यवस्थित गर्न मन्त्रालय चुकको ठहर गरेको उनले बताए । आफैले प्राविधिक एसएलसी दिएका विद्यार्थी पढाउन निर्देशन दिने अनी आफूैले अहिले हुँदैन भन्नुले मन्त्रालयले नैतिकता गुमाएको छ, उनले भने, प्राविधिक शिक्षाका बारेमा नेपाल सरकार स्पष्ट हुनु पर्यो दोवाटोमा उभिएर कता जाने भनेर अलमल गर्नु हुँदैन ।

प्राविधिक धार तर्फको एसएलसी पछि माथिल्लो तह सञ्चालन सम्बन्धमा अध्ययन गरी सुझाव दिन गठित प्रा.डा. टंकनाथ शर्मा संयोजकत्वको समितिले पनि मन्त्रालयकै दवावमा आफूहरुलाई चित्त नबुझ्ने काम गरेको सिटिईभिटिले जनाएको छ । सिटिईभिटिबाट उक्त समितिमा प्रतिनिधित्व गरेका निर्देशक दोबरलाल सिलाकारले उक्त समितिको प्रतिबेदनमा आफूले हस्ताक्षर नगरेको बताए । मन्त्रालयले जे चाहन्छ त्यहि कुरा लेख्ने काम भयो, त्यसमा हाम्रो कुनै कुराको सुनुवाई नभएपछि मैले हस्ताक्षर गरेको छैन उनले भने सात पटक बैठक बस्यो तर कहिल्यै पनि हाम्रो कुरा सुनिएन । 

विद्यमान नियममा प्राविधिक सञ्चालन गर्ने जिम्मा सिटिईभिटिको भएकोले अन्य निकायलाई उक्त जिम्मा दिने निर्णय भएको १० मिनेटमा मुद्धा हाल्ने तयारीमा रहेको लामिछानेले बताए । 

गत बैशाख २२ गतेको मन्त्री स्तरीय निर्णयबाट सामुदायिक विद्यालयमा प्राविधिक धारको डिप्लोमा कक्षा सञ्चालनको जिम्मा सिटिईभिटिलाई दिने निर्णय भएको थियो । आवश्यक मापदण्ड, प्रकृया, पाठ्यक्रम लगायतका प्राविधिक पक्षहरुको काम शिक्षा विभागको समन्वयमा गर्न मन्त्रालयले जेठ ४ गते पत्राचार गरेको थियो । 

सोहि अनुसार सिटिईभिटिले प्राविधिक धारको डिप्लोमा कक्षा सञ्चालन गर्न विद्यालयहरुसँग प्रस्ताव आह्वान गरिसकेको थियो । सो अनुसार अहिले सम्म करीव एक दर्जन धेरै विद्यालयहरुले निवेदन दिएको लामिछानेले बताए । मन्त्रालयका केही सहसचिवको स्वार्थका कारण आफैंले दिएको निर्देशन आफैंले नियम विपरित काट्न खोजेको देखिन्छ , उनले भने विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत विभागमा भएको ५६ करोड रुपैंया कसको हातमा पार्ने भन्ने खेलले अन्यौल थपिएको हो, हामीलाई त्यो पैसाको लोभ छैन, हामी हाम्रै संरचना अन्र्तगत कक्षा सञ्चालन गर्न सक्षम छौं । 

गत वर्षबाट सरकारले देशका विभिन्न ९९ विद्यालयमा प्राविधिक एसएलसी शुरु गरेको थियो । फर्म भर्ने ३ हजार २ सय ८८ विद्यार्थी मध्ये ३ हजार २ सय ५६ जना परीक्षामा सहभागि थिए । नतिजा अनुसार ए प्लस ग्रेड पाउने विद्यार्थीको संख्या २ सय १५, ए ग्रेडमा ७ सय ७९ वी ग्रेड पाउने २ हजार १ सय ३१ सी ग्रेडमा १ सय २४ र डी मा १ जना २ जनाको परीक्षा स्थगिते ४ जनाको रद्ध भएको थियो । 

प्रतिक्रिया