डा.विद्यानाथ कोइराला /
के हो विदेश ?
विदेश रहर हो । समाजले सिर्जना गरेको । सम्मान दिएको । विदेश बाध्यता हो । सोचेको कुरा भेटिन्छ कि भन्ने । विदेश मोडेल हो । अरुले राम्रै गरे नि कसो मलाई नहोला त भन्ने । विदेश विकल्प हो । यहाँ नभएपछि जान मिल्ने । पढाइ खोज्न । धन खोज्न । मान खोज्न । विदे सागर हो । हराउन मिल्ने । विदेश स्वतन्त्रता हो । सामाजिक बन्धनबाट मुक्त हुन पाइने । विदेश मोजमस्ती हो– मैले कमाएँ – मैले नै खाएँ भन्न मिल्ने । विदेश भन्न मिल्ने । विदेश ज्ञान भण्डार हो– जति पढे पनि पाइने । विदेश सहज स्थल पनि हो । जे लाएपनि हुने । जे खाए पनि हुने । जे गरेपनि हुने । विदेश जिम्मेवारी लिनु नपर्ने ठाउँ पनि हो । बाबुआमालाई एक्लै छाड्दा पनि नरुने । एकल बाबु आमाले पनि यस्तै हो भनेर चित्त बुझाइदिने ।
यस अर्थमा विदेश किन जान्छन् भन्ने प्रश्नको एकल उत्तर छैन । कोही पढ्न गए । कोही कमाउन । कोही हराउन गयौं । कोही एक्लिन । कोही बस्ती सर्न गयौं । कोही परिवारलाई सार्न । कोही सामाजिक लोक लज्जा ढाक्न गयौं । कोही अनुभव गर्न । यस स्थितिमा विदेश के हो भन्दा के होइन र भन्ने जवाफ ठीक देखिन्छ । फेरि पनि प्रश्नै रहन्छ– कस्लाई के हो ?
विदेशिन कस्ले सघायो ?
पहिले नाताले सघाउँथे । अहिले नेता पनि लागे । पहिले बाहिरियाले उत्तेजित बनाउथे । अहिले कम्प्युटरहरु लागे । अन्य मेडिया लागे । निजी स्कुल र कलेजहरु बनाउने । कन्सल्टेन्सी कम्पनीहरु लगे । बाबु आमा लागे । साथीसँगी लागे । हुँदाहुँदै कम्प्युटरले गर्दा युवा आफै लागे । देशको राजनीतिक अस्थिरताले सबैलाई सघायो । असुरक्षाले आगोमा घ्यू थप्यो । खुम्चिदो अर्थतन्त्रले बाहिर धकेल्यो । यसरी स्वदेशमा तान्नेहरु दुर्बल भयौं । राजनीतिले ताने मारकाट र ढुंगा हानाहानमा लाउने । बाबुआमाको मायाले ताने तास जुवामा धाउने ।
न खेती गर्ने न सर्जक आय आर्जनमा लाग्ने । यस अर्थमा युवा विदेशिन सबैले सघायौं । कसैले फकाएर । त्यो काम कन्सल्ट्यान्सीले गर्यौं । कसैले दिक्क पारेर । त्यो कसैले फकाएर । त्यो काम राजनीतिक दलले गर्यौं । कसैले घाँडो पन्छाउन खोज्यौं । त्यो काम अभिभावकले गर्यौं । कसैले रंगीन सपना देखायौं । त्यो काम साथीसँगी र कम्प्युटरवालाले गर्यौं । कसैले विदेशिनुलाई गर्व बनाइदियौं । त्यो काम शिक्षक र शिक्षालयहरुले गर्यौं । कसैले जोखिम लिन खोज्यौं । त्यो काम युवा स्वयंले गर्यौं । यस अर्थमा विदेशिनु सघाउने धेरै छौं । स्वदेशका । विदेशका । घरका । छिमेकका । शिक्षालयका । बजारका ।
विदेशिनु बर्बाद हो त ?
खाँट्टी राष्ट्रवादीले ठान्यौं– विदेशिनु बर्बाद हो । स्वदेशमै काम खोजौं । नाम खोजौं । दाम खोजौं । स्तरीय पढाइ खोजौं । तिनका बुद्धिले युवालाई रोकेर । काम खोज्दा अनुकुलको पाएनन् । नाम खोज्दा खुट्टा तानातान पाए । दाम खोज्दा पहिलो शोषण । त्यहाँबाट उभ्रिए भने राजनीतिक र आपराधिक दलहरुको चन्दा आतंक । पढाइ खोज्दा महँगो शिक्षालय । गच्छेले नधान्ने । त्यो स्थितिमा युवा बबुरा भए । किंकर्तव्यविमुढ । यस स्थितिबाट हेर्दा विदेशिनु आवादै ठहरियो । बर्बाद कसरी भन्ने । घरमा बोलाउने । बाँधेर सिस्नु लाउने । गर्ने के त ?
अर्का अतिवादीले विदेशिनलाई मजा मान्यौं । घरको चर्चा । छिमेकको चर्चा । पहिले छोराछोरी पठाउँने । पछि बाबुआमा जाने । यस अर्थमा घरकै मिलेमतो । यो मिलेमतोले अन्ततोगत्वा विदेशै खोज्यौं । सके आफू पनि विदेशिने । नभए विदेशिएका युवा सन्तानको गाथा गाउदै स्वदेशमै प्राण बिसाउने । यस अर्थमा यो समूहले विदेशिनुलाई विकल्प मान्यौं । एनआरएन भए पनि आफ्नै । स्वदेशी रहे पनि आफ्नै । यो द्व्रैध आफन्तवादले विदेशिनुलाई मजा मान्यो । बर्बाद रहेन ।
विदेशिदाँ कोही मरे । कोही लुटिए । कोही ठगिए । तिन र तिनका सन्ततीले विदेशिनुलाई नमिठो माने । उनका बुद्धिमा यतै भए केही हुन्थ्यो कि ? अब त घाँडै हरायो । चिण्डै हरायो । मन त गए । सकिए । लुटिने र ठगिनेले पनि स्वदेशमा आएर आज केही गरे । आत्मरतिजन्य काम । यस्ताहरुलाई पत्रिकाले स्याबास भन्यो । उनीहरु मख्ख परे । विदेशलाई ‘तीतो पुराण’ माने । स्वाद पनि लिन नपाएको । भन्नु पनि परेको । विदेशिनुको खट्टामिठा ।
विदेशिने कोही असफल भए । यहाँ पुल्पुलिएका त्यहाँ असफल । यहाँ अल्छी । त्यहाँ बेकामे । त्यस्ताहरुले विदेश चाखे । कोही यहाँ आएर सुध्रिए । पश्चातापले । अहिले । देखाउने रहरले । मनोवैज्ञानिक क्षतिपूर्ति । कोही घर न घाटका भए । अभिभावकका बोझ । तिनलाई के भन्ने ? हिजोको घाँडो । आजको डांडो ।
भाग्यमानी अर्को समूह रहे । जो विदेशमा जन्मे । डा.उपेन्द्र महतो जस्ता । स्वदेशमा पनि महकिए । त्यस्ताहरु आदर्श भए । विदेशिनेका आदर्श । विदेश्याउन आदर्श । किनकि तिनले सबै चिज ल्याए । धन । मान । पढाइ । स्वतन्त्र जीवन । उतै बस्नेले पनि बेलाबखतमा रकम पठाए । खाडी क्षेत्रकाले त घर किने । जग्गा किने । यसरी हेर्दा यही जमात आदर्श हो । सिने ड्रेसको आदर्शजस्तो । त्यो समूहको सालनाल स्वदेशमै रह्यो । ज्यान विदेशमै । यो समूहले धन ल्यायो । बुद्धि ल्यायो । सीप ल्यायो । मानलाई संस्थागत ग¥यो । विदेशिनुको गल्ती हो त ?
के गर्ने त ?
जाने त गइगो गइगो । चिठी आएन । यो गीतको बोल हो । यसैमा उत्तर खोजे हुन्छ । के गर्ने त भन्ने ? कुराको उत्तर । मेरो अर्थ हो– जानेलाई रोक्ने, एउटै औषधि छैन । एकसाथ सर्वौषधि चाहिन्छ । राजनीतिक औषधिले युवालाई पौरखमा लान सन्देश दिऊँ । ढुंगा हान्नु अपराध हो भनौं । ज्यान मार्दा महान कार्य नभनौं । बिकल्प खोज ज्यानको । भत्काउदा भनौं निर्माण गर्न विकल्प । जापानी र कोरियनले रिस उठे एउटैमात्र जुत्ता बनाइदिने बिकल्प । अर्को जुत्ता बनाउन बजारमा जानसक्ने । लानसक्ने ।
अर्थबित्तले कामको सम्भावना देखाउ । सालको के के बिक्छ– बजार कहाँ कहाँ छ ? बोक्राले रंग बनाउन मिल्छ । प्लाइउड हुनसक्छ । दाउराको ब्रिकेट बन्न सक्छ । चुरोले औषधि । बीचको काठले फर्निचर । लेबर । काठ । पातले हुने टपरी । त्यसको बजार र सम्भावना देखाइदिए पुग्छ । अर्थबित्त त्यसतर्फ लगाउँ । शिक्षाबिद्लाई बिज्ञता केन्द्र (सेन्टर अफ एक्सेलेन्सी) बनाउन प्रेरित गरौं । कतै कानुनको विज्ञता । कतै विज्ञानको । कतै इन्जिनियरिङको । कतै अरु कुनै विषयको ।
प्रत्येक सहरमा यस्ता विज्ञताकेन्द्र खोलौ । खोल्न प्रोत्साहित गरौं । मनोबेत्ताले स्वदेशी सम्भावनाका परामर्श केन्द्र खोलौं । रौतहटमा यो सम्भावना छ भन्ने खाले । डडेलधुरामा यो सम्भावना छ भन्ने खाले । बित्तीयविज्ञले रकम जम्मा गर्ने तर्किब सिकाऔं । कमाउने तर्किव । तिर्ने तर्किव । यी र यस्ता तर्किवहरुले हामीलाई विदेश नपठाउने बाटो बन्छ । दीर्घकालीन बाटो ।
अर्को बाटो अलि सहज छ । विदेशिनेका संगठन बनिसके । यी संगठनहरु मार्फत् भनिदिउँ– जो विदेशिन्छौं एउटा सीप सिकौं । स्वदेशमा काम लाग्ने सीप । एउटा बुद्धि सिकौं– स्वदेशमा बेच्न मिल्ने बुद्धि । प्रतिदिन केही बचत गरौं । वान डे ए डलरवालाले गरेजस्तो । रवीन्द्र मिश्र र साथीहरुले चिन्तनजस्तो । यसरी आर्जिने सीप, बुद्धि र धनका केन्द्रहरु बनाऔं । रकम भित्र्याउने वेस्टर्न युनियन जस्तो । बुद्धि भित्र्याउने युनियन । सीप भित्र्याउने युनियन । धन भित्र्याउने युनियन । यस्ता युनियनको लगानीमा उद्यम थालौं । बुद्धिको लगानी उद्यम– धनका लगानीको उद्यम । सीपको लगानीका उद्यम ।
तिनकै बैंक । बीर्य बैंकजस्तो बुद्धि बैंक । विकासको बुद्धि बैंक । राजनीतिको बुद्धि बैंक । सीपको बैंक । धारा निर्माण सीपको बैंक । कुवा निर्माण सीपको बैंक । यस्ता बैंकहरुलाई कार्यमा लगाउने श्रष्टाहरु खोजौं । यो खोजीले बुद्धि पुनः भित्रिन्छ । यसो गर्न वेभसाइट खोले हुन्छ । फेसबुक बनाए हुन्छ । ब्लग बनाए हुन्छ । इमेल दिए हुन्छ । जानेको लेख्न लगाउने । सोचेको लेख्न लगाउने । सम्भाव्य लेख्न लगाउने । यसरी गएका दिमागहरु फिर्तिन्छन् । साइबेरियाका चराजस्ता । जान्छन् । फेरि आउँछन् । यो काम गर्न कठिन छैन । संगठनहरुले सहज बनाइदिइसके । कम्प्युटरले बाटो दिइसके ।
मूल्य तिर्ने बुद्धि । नतिर्ने बुद्धि । मातृृऋण सम्झेर फिर्तिने धन । ज्ञान । सीप । के कतै सरकारले यो तर्किव अपनाउला ? के बगेको दिमागलाई फर्काउला ? देशलाई कंगाल बनाएर विदेशिनेले पनि स्वदेशमा आफ्नो ज्ञान, सीप र धन फर्काउला । समुन्नत नेपालको लागि आफ्नो योगदान देला ।
प्रतिक्रिया