Edukhabar
शनिबार, ०८ मंसिर २०८१
विचार / विमर्श

विद्यालय समय – ३ : ढिलो आउने र छिटो जाने शिक्षकको वानी सुधारौं !

सोमबार, १४ जेठ २०७५

गत दुई साताका श्रृङ्खलामा हामीले विद्यालयमा विद्यार्थी उपस्थितिका विभिन्न पक्षमा चर्चा गरेका थियौँ । पहिलो श्रृङ्खला विद्यालयहरू दशै बजे गेट बन्द (भौतिक र अभौतिक दुवै) नगरौँ, कुनै विद्यार्थी खास कारणले नै गर्दा विद्यालय आउन ढिला भएको हुन सक्छ । यस्तो अवस्थामा कुनै पनि विद्यार्थीलाई विद्यालय आउनका लागि प्रतिबन्द नलगाऊँ भन्ने बारे चर्चा गरिएको थियो ।

पढ्नुहोस् : विद्यालय समय – १ : सातौँ घण्टीमा आए पनि कक्षामा बसाउँ, केही सिकाउँ

यसैगरी दोस्रो श्रृङ्खलामा विद्यालयमा विद्यार्थीको उपस्थितिका लागि शिक्षक, प्रधानाध्यापक र विद्यालय परिवारले गर्न सक्ने केही क्रियाकलापहरूको बारेमा प्रस्तुत गरिएको थियो ।

पढ्नुहोस् : विद्यालय समय - २ : सिद्धान्तको रटान हैन, व्यवहारका कुरा गरौं !

विद्यालयमा विद्यार्थी अनुपस्थितिका लागि अभिभावक र विद्यार्थीलाई दोष लगाएर मात्र हामी दोष मुक्त हुन सक्दैनौँ । विद्यालयको वातावरण, शिक्षकहरूका व्यवहार, विद्यालयमा उपलब्ध सेवा सुविधाहरू र विद्यालयले विद्यार्थीको समग्र गतिविधिका बारेमा दिने चासोले पनि यसमा प्रभाव पारेको हुन्छ । एक दिन विद्यालय नआएको विद्यार्थीका लागि ऊ आउँदाका दिन कक्षा शिक्षकले गर्ने व्यवहार, उसको अनुपस्थितिका वारेमा दिइने चासोले उसका भविष्यका उपस्थितिमा समेत प्रभाव पर्छ ।

हरेक बालबालिकाहरू भिन्न हुन्छन् भन्ने हामीले सिद्धान्त त जानेका छौँ, पढेका छौँ र बुझेका पनि छौँ तर हामीले व्यवहार गर्दा फरक व्यवहार गर्दैनौँ, सबैका लागि एउटै व्यवहार गर्छौ । एउटा विद्यार्थी गृहकार्य गर्न भ्याएन भने शिक्षकले गाली गर्नुहुन्छ वा पिट्नुहुन्छ वा कक्षामा गृहकार्य नगरेको भनेर खिसिटिउरी हुन्छ भन्ने डरले नै विद्यालय आउँदैन भने अर्को विद्यार्थीलाई यी कुनै पनि कुरासँग सम्बन्ध हुँदैन, गृहकार्य नगरी विद्यालय आउँछ र सहजै मैले गृहकार्य गरेको छैन भन्छ । यी दुई सन्दर्भमा विद्यार्थी अनुपस्थितिका कारण मात्र फरक हुने होइन कि उनीहरूलाई कक्षामा गर्ने व्यवहार तथा सोध्ने प्रश्नहरूले प्रभाव पर्छन् ।

विद्यालयको पठनपाठनको समयकालागि हाम्रा सरकारी नीति, नियम, सामाजिक संरचना र संस्कार मात्र होइन कि हाम्रा व्यवहारहरु पनि जिम्मेवार छन् । एउटा विद्यार्थीको नियमित उपस्थितिका लागि विद्यार्थी र अभिभावक जति जिम्मेवार हुन्छन् त्यति नै जिम्मेवार विद्यालय र शिक्षक पनि हुन्छन् । अनुपस्थित हुने विद्यार्थीको अनुपस्थित हुने खास कारण खोजी गर्ने, अभिभावकहरूसँग छलफल अन्र्तक्रिया गर्ने, अनुपस्थित हुँदा पढाइ भएका पाठहरू सम्भव भए सम्म व्यक्तिगत शिक्षण गर्ने व्यवस्था गर्न सकिन्छ ।

गत वर्ष देशमा भएको चुनावी माहोलले सामुदायिक विद्यालयहरूको पठन पाठनमा अलिक बढी असर पुग्यो । शिक्षा विभागले चुनावका लागि दिइएको विदा बर्षे वा हिउँदे बिदाबाट कटाउने भनेर परिपत्र ग¥यो । यो परिपत्रको बारेमा सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया निकै गम्भीर प्रकृतिका थिए । विदालाई अधिकार हो भन्ने देखि अरु कसैको रिस गर्ने र सरकारको आलोचना प्रशस्त देखिए । ती प्रतिक्रियाहरू सबै शिक्षक र विद्यालयका होइनन् तर ती प्रतिक्रियाहरूले समग्रतलाई प्रतिनिधित्व भने गर्छन् ।

केही सामुदायिक विद्यालयहरूले कुनै खास कारणले पढाइ अवरोध भयो भने शनिवार पनि पढाउँछन् तर यस्ता विद्यालयको सङ्ख्या औँलामा गन्न सकिने मात्र छ । अधिकांश विद्यालयहरू के वहाना पाइएला र विदा गर्न पाइएला भनेर खोजिरहेको देखिन्छ । सामाजिक सञ्जालमा देखिने शिक्षकहरूका यस्ता विभिन्न विचार र प्रतिक्रियाले निश्चित रुपमा धेरै शिक्षक र विद्यालयको मनोवृत्ति प्रतिनिधित्व गरेको हुन्छ ।
विद्यालयको पठनपाठनलाई प्रभाव पार्नमा हाम्रा सरकारी तालिम र कार्यक्रम पनि जिम्मेवार देखिन्छन् । कुनै पनि सरकारी तालिम शुक्रबार र शनिवार शुरु गरिदैँन । तालिम केन्द्रमा आधारित एक दिने तालिममा सहभागी हुनका लागि एउटा शिक्षकले आउँदा जादाँ तीन दिन समय खर्च गर्नु पर्ने अवस्थामा पनि हाम्रा तालिमका ढाँचा फेरिएका छैनन् । विद्यालयहरूमा वर्षे वा हिउँदे विदा भएका समयमा लामो छोटो अवधिका सबै तालिम सञ्चालन गर्न हाम्रो बुद्धि नभएको होइन तर त्यसो गरेर विद्यालयको पढाइलाई नविगारौँ भन्ने चिन्तन नभएको होला ।

विद्यार्थी अनियमितताका कुरा गरिरहँदा शिक्षक अनियमितताका तथ्यहरू निकै रोचक छन् ।

देशभरका १९५० विद्यालयका प्रधानाध्यापकहरूले दिएको प्रतिक्रिया यस्तो पाइएको छ ।

तपाईँको विद्यालयमा शिक्षकसँग सम्बन्धित तलका समस्याहरू कति छन् ?

      समस्या छ     समस्या छैन
शिक्षकहरू विद्यालय ढिलो आउने र छिटो जाने     ५८     ४२
विना सूचना अनुपस्थित हुने     ४७    ५३
कक्षामा पूरा समय नबस्ने   ४०   ६०
विद्यार्थीलाई गाली गर्ने तथा दुव्यवहार गर्ने  १९ ८१
विद्यार्थीलाई शारीरिक सजाय दिने १७     ८३

स्रोत : शैक्षिक गुणस्तर परीक्षण केन्द्र, २०७४    

प्रधानाध्यापकहरूको प्रतिक्रिया अनुसार ५८ प्रतिशत शिक्षकहरू विद्यालयमा ढिलो आउने र छिटो जाने समस्या छ । यी शिक्षकहरूबाट विद्यालयमा थप सुधार हुन्छ, पठन पाठनमा ध्यान दिन्छन्, विद्यार्थीका समस्यालाई ध्यान दिन्छन् भन्ने कुरामा विश्वास गर्न सकिँदैन ।

महिनाको अन्तिम दिन (मसान्त) मा आधा दिन बिदा दिने प्रचलन देशका करिब ७० प्रतिशत विद्यालयमा रहेको देखिन्छ । यसको दर शहरी क्षेत्रमा कम र ग्रामीण क्षेत्रमा अझ बढी छ, जहाँको सिकाइ शहरको तुलनामा कमजोर छ । महिनाको अन्तिम दिन विदा दिनुको खास कुनै कारण र अर्थ छैन तर सधैँ दिएको हुनाले यो दिनुपर्छ किनकी एक दिन भए पनि हामीले आराम गर्न पाउँछौँ । केही विद्यालयमा शिक्षक वैठक बस्ने गरेको भनिन्छ तर ती वैठकहरू पनि उपयोगी र सान्दर्भिकता तथा कक्षाको सिकाइ सुधारमा सहयोग पुग्ने गरी गरेको पाइँदैन ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष माध्यमिक विद्यालयहरूमा गरेको कार्यसम्पादन परीक्षणका क्रममा नियमित वैठक गर्ने र त्यस्ता वैठकहरू विद्यार्थी सिकाइमा केन्द्रित गर्ने विद्यालय करिब ५ प्रतिशत भन्दा कम रहेको जनाएको छ । सत्तरी प्रतिशत विद्यालयले मसान्तको दिन विदा दिन्छन् तर त्यस मध्ये ४ प्रतिशत विद्यालयले मात्र शिक्षक वैठक गरेको देखिन्छ ।

हुन त शिक्षकले गरेनन, शिक्षकले पढाएनन् भनेर भनि रहँदा अरूले गरेका छन् भन्ने आसय पनि होइन । तर शिक्षक कक्षा कोठामा केन्द्रित भएर काम गर्ने भएको हुँदा स्वभाविक रूपमा शिक्षकको भूमिका बढी रहेको हुन्छ । भूमिका बढी भएकाबाट अपेक्षा बढी गर्नु र अपेक्षा पुरा नहुँदा भएन भन्नुलाई स्वभाविक रुपमै लिनु पर्छ ।

शिक्षक नियमितताको कुरा गर्दा पाल्पाको एक विद्यालयका प्रधानाध्यापकको भनाई निकै सान्दर्भिक र मननीय हुन्छ । एउटा मात्र शिक्षक एक दिन विद्यालय अनुपस्थित हुने हो भने विद्यालयको ४०० विद्यार्थी प्रभावित हुन्छन् । उनीहरूलाई एउटा शिक्षक नभएको बहानामा घर पठाउन सकिदैँन र कक्षामा राखेर पढाउन पनि सकिदैँन । एउटा कार्यालयमा एउटा कर्मचारी अनुपस्थित हुँदा बढीमा ४० मानिसलाई पनि असर पर्दैन ।

शुक्रबार अतिरिक्त क्रियाकलापका लागि भनेर आधा दिन पढाउने र आधा दिन अतिरिक्त क्रियाकलाप गराउने भनियो । देशका कति प्रतिशत विद्यालयले साच्चिकै यो काम गरेको होलान् त ? हामी मुलुकलाई समृद्ध भएको चाहन्छौ तर त्यसका लागि थप काम गर्न चाहदैनौँ । भएको अवस्थामा सुधार ल्याउन गरिरहेको काममा सुधार चाहिन्छ तर हामी गरिरहेको काममा सुधार नगरी सुधार चाहिरहेका छौँ ।

अहिले पनि देशभर करिब एक सयको सङ्ख्यामा राम्रा सामुदायिक विद्यालयहरू छन् । ती विद्यालय राम्रा हुनुका पछाडी निश्चित रुपमा विद्यालयका शिक्षक र विद्यालयका शिक्षण सिकाइ क्रियाकलापका अभ्यासहरू जिम्मेवार छन् । सरकारले राम्रा बनाएर बनेका होइनन ती राम्रा विद्यालयहरू । शिक्षक अगाडी सरेर समुदायलाई पछाडि लगाउँदा विद्यालयहरू राम्रा भएका छन् । कुशल व्यवस्थापक र आदर्श नेताका रुपमा रहेका प्रधानाध्यापक एक्लैले पनि विद्यालयमा सुधार ल्याएका छन् । शिक्षक एक्लैले कक्षा कोठामा सुधार ल्याएका छन् ।

यी सन्दर्भहरूबाट हेर्दा सामुदायिक विद्यालय सुधारका मुख्य कर्ता शिक्षक र प्रधानाध्यापक हुन् । अरुले सहयोग गर्न सक्छन्, केही सल्लाह दिन सक्छन् । विद्यालय खुल्ने दिन, ती दिनहरूमा विद्यार्थीको उपस्थिति र उपस्थित भए अनुसार केही सिक्न पाउने अधिकारको सम्मान गर्न सक्दा सिकाइलाई सार्थक र अर्थपूर्ण बनाउन सकिएला । कुनै विद्यार्थी ढिला आउँछ भने पनि उसलाई विद्यालयाको गेट बन्द नगरिदिउँ । अनुपस्थित भएका विद्यार्थीका अभिभावकसँग जहाँ भेट हुन्छ, त्यहीँ कुरा गरौँ । अनुपस्थित पछि विद्यालय आएका विद्यार्थीलाई पनि यस्तो व्यवहार गरौँ जसबाट भविष्यमा त्यो विद्यार्थीको अनुपस्थिति दर घट्दै जानेछ ।

समस्या शिक्षकका पनि छन् । प्रधानाध्यापकका पनि छन्, विद्यालयका पनि छन् र मन्त्रालय अनि मन्त्रीका पनि छन् । आफूले समाधान गर्न सकिने समस्या आफैँ समाधान गरौँ । पेसागत नैतिकता कायम राखौँ । विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अरु पेसा गर्ने भन्दा हामी फरक छौँ, हामीले फरक काम गर्छौ भन्ने नैतिक बल पनि विकास गरौँ ।

थप छलफल र बहसका लागि लेखकलाई यता भेटौँ - [email protected]

यस अघि आईतबार प्रकाशित गर्ने भनिएको यो सामग्री प्राविधिक कारणले एक दिन ढिला प्रकाशति भएकोमा क्षमा प्रार्थी छौं – सं.

प्रतिक्रिया