राष्ट्रिय रूपमा सिकाइ उपलब्धिको परीक्षण गर्ने प्रचलन सन् १९६० बाटै शुरु भए पनि यसको विश्वव्यापी प्रयोग सन् १९९० भन्दा पछाडि भएको पाइन्छ । पाठ्यक्रमले निर्धारण गरेका वा कुनै निश्चित तह र उमेरका विद्यार्थीले हासिल गर्नु पर्ने निश्चित सीप / सिकाइ उपलब्धिको हासिल कुन हदसम्म भएको छ भनेर नमुना छनौटबाट अध्ययन गरी समग्र शैक्षिक प्रणालीको मूल्याङ्कन गर्ने, शैक्षिक योजनाहरू तयार गर्ने तथा नीतिगत सुधारका लागि पृष्ठपोषण लिने उद्देश्यले यस्ता परीक्षण गरिन्छन् ।
नेपालमा यस्तो परीक्षण आधारभूत तथा प्राथमिक शिक्षा परियोजना सञ्चालन भएको समयमा परियोजनाको प्रभावकारीता अध्ययन गर्ने सानो नमूना र सरल पद्दतिबाट गरिएको थियो । सो पश्चात सन् २००३, २००५, २००८ र २०१० मा गरिएका परीक्षणहरू पनि सामान्य ढंगले अनुसन्धान प्रयोजनका लागि भएको देखिन्छ । विश्वव्यापी रुपमा कुनै देशले आफै सञ्चालन गर्ने राष्ट्रिय परीक्षण, कुनै क्षेत्र विशेषका ५, ७ वटा देशहरुले सञ्चालन गर्ने क्षेत्रीय स्तरका परीक्षण र ५०/६० देशहरुले सञ्चालन गर्ने अन्र्तराष्ट्रिय परीक्षणहरु प्रचलनमा छन् ।
जस्तै : PISA, TIMSS, PIRLS, LLECE, PILNA, SEA-PLM, SACMEQ, PASEC, आदि ।
विद्यालय क्षेत्र सुधार योजना (सन् २००९ देखि २०१५) ले सिकाइ उपलब्धिको परीक्षणलाई व्यवस्थित गर्ने र नियमित परीक्षण गर्ने लक्ष्य निर्धारण गरे अनुसार सन् २०१० मा स्थापित शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०११ देखि नियमित यस्तो परीक्षण गरिरहेको छ । हालसम्म शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सम्पन्न गरी नतिजा प्रकाशन गरेका परीक्षणहरु निम्नानुसार छन् ।
वर्ष | कक्षा | विषय |
सन् २०११ | ८ | नेपाली, गणित र सामाजिक |
सन् २०१२ | ५ | नेपाली, गणित र अङ्ग्रेजी |
सन् २०१२ | ३ | नेपाली र गणित |
सन् २०१३ | ८ | नेपाली, गणित र विज्ञान |
सन् २०१४ | ५ | नेपाली, गणित र अङ्ग्रेजी |
सन् २०१४ | ३ | नेपाली र गणित |
सन् २०१७ | ८ | नेपाली, गणित र सामाजि |
यी परीक्षणहरू सञ्चालन गर्दा देशका सबै क्षेत्र, सबै प्रकारका विद्यालयहरु (निजी, सरकारी, शहरी, ग्रामीण, साना, ठूला) समेटिने गरी स्तरीकृत नमूना छनौट (Stratified Random Sampling) विधिको प्रयोग गरिन्छ । एउटा विद्यालयमा एउटा मात्र विषयको परीक्षण सञ्चालन हुन्छ । परीक्षणमा विद्यार्थीका लागि विषयगत प्रश्न तथा उनीहरुको व्यक्तिगत, पारिवारिक र शैक्षिक सूचनाहरू सङ्कलन गर्ने फारम, शिक्षकका लागि व्यक्तिगत र पेसासँग सम्बन्धित सूचना सङकलन गर्ने फारम तथा प्रधानाध्यापकका लागि समग्र विद्यालयको सूचना सङ्कलन गर्ने फारमहरू प्रयोग गरिन्छ । विद्यार्थीलाई सोधिने विषयगत प्रश्नहरू पाठ्यक्रमको सिकाइ उपलब्धिका आधारमा तयार गरी स्तरीकृत गरिएका हुन्छन् र फरक फरक तर समान स्तरका (comparable) भएका ३ प्रकारका प्रश्न सेटहरू प्रयोग गरिन्छ।
सन् २०१७ मा सञ्चालन गरिएको कक्षा ८ (नेपाली, गणित र विज्ञान) को नतिजा हालै मात्र सार्वजनिक भएको छ । सन् २०११ देखिका सबै सिकाइ उपलब्धि परीक्षणहरूले विद्यार्थीको सिकाइमा उल्लेखनीय सुधार नभएको तथ्यहरु उजागर गरेका छन् । सिकाइ स्तरमा थुप्रै असमानताहरू देखिन्छन् । ग्रामीण क्षेत्रका विद्यालय र शहरी क्षेत्रका विद्यालय, सामुदायिक र निजी विद्यालय, विभिन्न जिल्ला तथा प्रदेशका बिचमा थुप्रै असमानताहरू रहेका छन् ।
प्रदेश | नेपाली | गणित | विज्ञान |
प्रदेश १ | 492 | 486 | 483 |
प्रदेश २ | 478 | 501 | 488 |
प्रदेश ३ | 518 | 520 | 529 |
प्रदेश ४ | 511 | 514 | 518 |
प्रदेश ५ | 501 | 501 | 498 |
प्रदेश ६ | 492 | 467 | 484 |
प्रदेश ७ | 496 | 480 | 488 |
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०१७ को कक्षा ८ को नतिजा प्रकाशन गर्दा पहिलो पटक सिकाइस्तरको समेत व्याख्या गरेको छ । पाठ्यक्रममा तोकिएका सिकाइ उपलब्धिहरूको सुक्ष्म विश्लेषण गरी तयार गरिएको सिकाइ स्तर र त्यसमा प्राप्त नतिजालाई विभिन्न स्तरमा व्याख्या गरिएको छ । विषय अनुसार न्यूनतम सिकाइ स्तर हासिल गर्ने विद्यार्थीको प्रतिशत फरक फरक रहेको छ । पाठ्यक्रमले निर्धारण गरेका सिकाइ उपलब्धिका आधारमा न्यूनतम स्तरको सिकाइ उपलब्धि हासिल गर्ने विद्यार्थी प्रतिशत नेपालीमा ६८.७, गणितमा ५३.७ र विज्ञानमा ४३.८ रहेको छ ।
सक्षमताको तह |
विद्यार्थी प्रतिशत |
||
नेपाली |
गणित |
विज्ञान |
|
न्यून आधारभूत (pre-basic) |
0.5 |
2.1 |
1.8 |
आधारभूत (basic) |
4.7 |
12.9 |
15.5 |
प्रवीणता १ (proficient 1) |
26.1 |
31.3 |
38.9 |
प्रवीणता २ (proficient 2) |
58.4 |
38.8 |
32.7 |
प्रवीणता ३ (proficient ३) |
10.1 |
14.1 |
9.9 |
विशिष्ट (advance ) |
0.2 |
0.8 |
1.2 |
नतिजाहरु सार्वजनिक भएका छन् । सिकाइ स्तर कमजोर छ भन्ने प्रमाणहरु पेस भएका छन् । हामी यसलाई स्वीकार गरेर सुधारका लागि काम गर्दै अगाडि बढ्नुको विकल्प छैन । सिकाइ स्तर कमजोर हुनुमा कसको दोष भनेर खोज्नु भन्दा अब कसको के भूमिका के भनेर खोज्नु उपयुक्त हुन्छ । प्रतिशत फरक होला । कमजोरी सबैका छन्, मात्रा फरक होला तर निश्चित के हो भने हामी विद्यार्थीलाई सिकाउन सकिरहेका छैनौँ । आठ वर्ष सम्म विद्यालयमा विताएका केही प्रतिशत विद्यार्थीले आधारभूत गणितीय तथा भाषिक सीप सिक्न सकिरहेका छैनन् । नतिजा प्रकाशन पश्चात आएका प्रतिक्रियाहरुका आधारमा हेर्दा यसलाई सुधारको अवसर भन्दा दोषारोपण गर्ने अवसरको रुपमा लिएको जस्तो देखिन्छ ।
हामी सबैले आफ्नो भूमिका निर्वाह गर्ने हो । अर्कोले के गर्यो वा गरेन भनेर खोजेर गन्तव्यमा पुगिदैन । शिक्षकको भूमिका कक्षा कोठामा हो, त्यही खोजौ, प्रधानाध्यापकको भूमिका विद्यालय समग्र विकासमा हो त्यही खोजौ, कर्मचारीको भूमिका कार्यालयमा खोजौ । कसले के गर्यो गरेन भन्दा पनि मैले मेरो भूमिका पुरा गरे कि गरिन । गरेँ भने कुन स्तरमा गरेँ, मेरो भूमिका पर्याप्त भयो कि भएन भनेर खोजी गरौँ ।
परीक्षण सञ्चालन भएको विद्यालयमा जुन विषयको परीक्षण भएको हो सोही विषयका शिक्षकसँग भराइएको प्रश्नावली अनुसार शिक्षकको योग्यता, कक्षा कोठामा गर्ने क्रियाकलाप र योग्यताले प्रभाव पारेको देखिन्छ । कमजोर विद्यालयहरुको र राम्रा विद्यालयको शिक्षकका विभिन्न पक्षहरु (योग्यता, उमेर, व्यवसायिकता, क्रियाकलाप) मा स्पष्ट भिन्नता छ । शिक्षकको गृहकार्य दिने तथा परीक्षण गरेर पृष्ठपोषण दिने अभ्यासले नतिजामा प्रभाव पारेको देखिन्छ । प्रधानाध्यापकहरूको सर्वेक्षण फारमका आधारमा हेर्दा विद्यालयमा शिक्षकहरुको ढिलो आउने र छिटो जाने प्रवृत्ति ५७ प्रतिशत रहेको छ । प्रधानाध्यापकहरूका अनुसार ३९ प्रतिशत शिक्षकहरुले कक्षामा पुरै समय विताउँदैनन् भन्ने छ ।
विद्यार्थीलाई कक्षा खाली भएको समयमा के गर्नुहुन्छ ? भनि सोधिएको प्रश्नमा २२ प्रतिशत विद्यार्थीले मात्र कक्षा खाली हुँदैन भनि प्रतिक्रया दिएका छन् र ती कक्षा खाली हुदैँन भन्ने विद्यार्थीको प्रतिशत कक्षा खाली हुँदा खेल्छौँ भन्ने सँग तुलना गर्दा २४ स्केल अङ्कको भिन्नता रहेको छ ।
शिक्षाको पहुँच बढाउनुको साथै गुणस्तरमा ध्यान दिनु जरुरी देखिन्छ । सुधारका उपाय खोजी गर्नु, सुधार उपाय थाहा पाउनु एउटा महत्वपूर्ण पक्ष होला तर त्यो भन्दा पनि महत्वपूर्ण पक्ष ती सुधारका उपायहरूलाई कक्षा कोठामा प्रयोग गर्नु हो । विद्यालयको पठनपाठनलाई प्रभाव पार्ने धेरै तत्व होलान् तथापी कक्षा कोठामा शिक्षण सिकाइ क्रियाकलापको मुख्य जिम्मेवारी शिक्षकसँग रहेको हुन्छ । सुनारको सय चोट र लोहारको एकचोट भने जस्तै शिक्षकले कक्षा कोठामा गर्ने सुधार बाहिर अरुले गर्ने सुधार भन्दा निकै प्रभावकारी र महत्वपूर्ण हुन्छ ।
जर्मनीले अन्र्तराष्ट्रिय परीक्षण TIMSS र / PISA मा कमजोर भए पछि सुधारका लागि "TIMSS/PISA Shock" भन्ने अभियान मार्फत सुधारको थालनी गरेको र त्यसकै लागि 1 billion Euro बजेट विनियोजन गरेको भन्ने तथ्य पढ्न पाइन्छ । यस्तै फिलिपिन्स TIMSS मा कमजोर भए पछि राष्ट्रपतिले नतिजा प्रकाशन हुनासाथ वैठक बसाली सुधारको प्याकेज घोषणा गरेर शिक्षक तालिम, पाठ्यक्रम र कक्षा कोठाको सिकाइ प्रभावकारी बनाउन गरेका प्रयासहरु पनि पढ्न पाइन्छ । हामीले पनि यसरी नै काम ग¥यौँ भने सुधार अवश्य हुनेछ । विद्यमान सिकाइको स्तरमा सुधार मात्र होइन शैक्षिक असमानताहरू समेत न्यून हुँदै जानेछन् ।
प्रतिक्रिया