काठमाडौं १४ भदौ / समयमा नतिजा प्रकाशन र विद्यार्थी भर्ना गर्न नसक्ने लाचारी त्रिभुवन विश्वविद्यालयका लागि पुरानो परिचय नै हो । देशको सबैभन्दा जेठो विश्वविद्यालयको सान बोके पनि अक्षम कार्यविधीका कारण विश्वविद्यालयको इज्जतमा लागेको धब्बा भने अत्यन्त लज्जास्पद छ । नतिजा प्रकाशन र विद्यार्थी भर्ना त्यस्तै धब्बा मध्येको एउटा धब्बा हो । जसलाई विश्वविद्यलायले तत्काल पखाल्न त्यति सजिलो छैन ।
विश्वविद्यलायमा सही तरिकाले समयमा हुनु पर्ने काम विद्यार्थी भर्ना, पढाइ र परीक्षा हो । यसले विश्वविद्यालयको प्राज्ञिक पक्ष कति दक्ष र प्रभावकारी छ भन्ने देखाउँछ । त्रिभुवन विश्वविद्यालयले यसको कुनै वास्ता गरेको छैन । केही प्राविधिक विषयमा बाहेक तीन वर्षमा सकिनु पर्ने पढाइ भनेकै समयमा सकिए अनौठो मान्नु पर्छ । २ वर्षमा सकिनु पर्ने स्नातकोत्तर तह कम्तीमा ४ वर्षसम्म लम्बिएन भने विद्यार्थी कहाँ पढ्दैछौंँ भन्ने भुल्ने खतरा हुन्छ ।
उदाहरणका लागि २०७१ सालको परीक्षा काफी छ । जेठ २१ गते सुरु भएको परिक्षाको परिक्षाफल आउन झन्डै ८ महिना लाग्यो । २०७१ माघ २१ गते नतिजा त आयो तर विश्वविद्यलायले स्नातकोत्तर तहको भर्ना रोकि सकेपछि आयो । नियमित पढाइ सकेका विद्यार्थीले एक वर्ष स्नातकोत्तर तह पढ्न पाएनन् ।
त्रिविको सम्बन्धनमा चलेका निजी कलेजबाट गत वर्ष स्नातक सकेका तर त्रिविको ढिलो नतिजाका कारण स्नातकोत्तर तह पढ्न नपाएका विद्यार्थीलाई त्रिविको परीक्षा प्रणालीलाई उनीहरुले कसरी हेरेका छन् भनेर कुराकानी गरेका छौं ।
त्रिभुवन विश्वविद्यालयले समयमै स्नातक तहको नतिजा निकालिदिएको भए ट्रिटन कलेज, काठमाडौंबाट स्नातक सकेका कृष्ण पराजुली यतिखेर स्नातकोत्तर तह पहिलो वर्षको अन्त्यतिर हुन्थे । त्यसो भएन । ‘मैले उपन्यास र अरु केही किताब पढेर समय बिताएँ,‘ उनले सुनाए ।
उनी त्रिविको बेठेगान परीक्षा प्रणालीबारे बेखबर थिएनन् । किन भने उनी तेस्रो वर्ष रहँदा त्यस अघिको ब्याचको परीक्षा भएको थिएन । एउटै वर्ष स्नातकमा दुई व्याचको पढाइ भइरेहेको थियो । ‘पहिलो व्याचका साथीहरुको लसका अगाडि मेरो त खसै लस भएन,’ उनले भने, ‘त्रिविले एउटा व्याचको परीक्षा समयमा लिन नसक्दा र वार्षिक परीक्षाको गतिलो तालिका बनाउन नसक्दा त्यसको प्रत्यक्ष असर हामी विद्यार्थीलाई परेको छ ।’
उनले बुझेका छन्, यसको व्यवस्थापनका लागि दुवै व्याचलाई एकै पल्ट स्नातकोत्तर लगेर पनि सम्भव छैन । त्यसैले केही महिनाको अन्तरमा अब मास्टरर्सको परीक्षा गरिने गरी पठनपाठ सुरु गर्नु पर्छ । त्यो सम्भव होला कि नहोला ? उनी आफै अन्यौलमा छन् । किन भने स्नातकोत्तर तह पहिलो वर्षको परीक्षा दिने समयमा पनि कक्षा सञ्चालन भएको छैन । यो झन् ठूलो प्राज्ञिक लस अरु के हुन्छ ? भन्छन्, ‘टाइम इज मनी एण्ड उही ह्याब लस्ट आवर टाइम विइङ युजलेस । हरेक सरकार बदलि पिच्छे त्रिविमा हुने पदीय भागबण्डा, विना योजना, अध्ययन, शैक्षिक क्यालेन्डर हचुवाका भरमा भइरहेको पढाइ यसको कारण हो ।’
उनलाई लाग्छ, त्रिविको परीक्षाको थिति बसाउन धेरै थोक गर्नै पर्दैन, विषय बुझेर पद्दती बसाए पुग्छ । कर्मचारी र त्रिवि पदाधिकारीले आफ्नो नैतिक आचरण सुधारे पुग्छ ।
पत्रकारितामा स्नातकोत्तर तयारीको सोचमा रहेका मदन भण्डारी कलेजबाट स्नातक सकेकी संघर्ष पन्त पनि पराजुली कै जस्तो स्नातकोत्तर तहको भर्नाको प्रतीक्षामा संघर्षरत छिन् । उनलाई लागेको थियो ३ वर्षमा त्रिविको पढाइ के सकिएला र ? आखिर त्यही भयो । ‘तर रिजल्ट निस्किए पछि स्नातकोत्तर भर्ना गर्न यस्तो ढिलो हुन्छ भन्ने चै लागेको थिएन’, इक्वेल एक्सेस नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यक्रम सहयोगीका रुपमा कार्यरत उनले भनिन्, यस्तो ढिलाइले एक त समय वर्वाद भयो । यस बिचमा काम नगरी बसेकालाई मानसिक पिडा भयो । उचित समयमा उचित काम भएन भने असर हुन्छ । त्यस्तै असर मलाई पनि परेको छ ।’
उनी यसलाई त्रिविको चरम गैर जिम्मेवारी पन भन्छिन् । गैर जिम्मेवारी पनको कारण चाहि मुख्य राजनीति । र उनको पनि सुझाव उही छ, शैक्षिक क्यालेन्डर निर्माण, लागू र पालना, विद्यार्थी संगठनको खरेजी, विद्यार्थी र शिक्षाप्रति उत्तरदायी कर्मचारी र त्रिवि पदाधिकारीको आवश्यकता । ‘त्यसपछि मात्रै सुधार सम्भव छ, कम्तीमा हाम्रो भविष्य माथि खेलबाड त हुदैन, उनले भनिन्, ‘त्यसपछि यहाँ निरास भएर विदेश जान खोजेका पनि यतै रोकिने छन् ।
निमा घिमिरे, सेन्ट जेभियर्स कलेजमा स्नातक तह पहिलो वर्ष भर्ना हुदाँ बेलामा नतिजा नआएकैले उनी अघिको व्याचको एक वर्ष लस भइसकेको थियो । उनको मनमा पनि डर थियो त्यही टे«न दोहोरिएला भन्ने । उनको पढाइ सकियो । परीक्षा सकियो । ढिलो गरी नतिजा निस्क्यो । स्नातकोत्तर तहमा उनले भर्ना पाइनन् ।
‘एक वर्ष लस हुनु भनेको विद्यार्थीले थुपै्र कुराहरु मिस गर्नु हो’, इसिएस मेडियामा कार्यरत उनले भनिन्, ‘विद्यार्थीको क्यारियरमा धेरै घाटा भएको हुन्छ, कोही विद्यार्थी बाहिर जाने सोचमा हुन्छन् तर परिक्षाफल समयमा नआउनले उनिहरुको भर्ना प्रोसेस हुन सक्दैन । छात्रवृति गुम्छ । कुनै क्षेत्रमा काम गर्न सर्टिफिकेट चाहिन्छ तर रिजल्ट नआएपछि कामको अवसर गुम्छ ।’
उनलाई लाग्छ, त्रिविले विद्यार्थीलाई प्राथमिकता दिएको छैन । आफ्नो आचार संहिता आफैले पालना गरेको छैन । ‘त्रिविको उच्च पदमा बस्ने राम्रो शिक्षा हासिल गरेका व्यक्ति हुन् । उनिहरु विद्यार्थी जिवन पार गरेर आएका हुन् र विद्यार्थीको पिडाको राम्रो ज्ञान छ’, उनले सुनाइन्, ‘उच्च ओहोदामा पुगेपछि उनीहरुको विवेक गुमेको जस्तो देखिन्छ । उनिहरुले आफैले दायित्व आफैले बोध गर्नुपर्छ । नत्र शिक्षा लिएर मात्रै के काम ?’
स्नातकोत्तर तहको भर्ना नपाएपछि स्वर्णीम राज लम्साल, चाहिँ अचेल विभिन्न कुरा लेखेर, पढेर दिन बिताइ रहेका छन् । सेन्ट जेभियर्स कलेज, काठमाडौंबाट स्नातक सकेका उनी केही दिनमा पढाउन जाने तयारीमा पनि छन् ।
‘म ग्याप नराखिकन पढ्ने विचारमा थिएँ तर त्रिविको ढिला सुस्तिले यति ग्याप भयो कि के कसरी समय मिलाउने भनेर सोच्न गाह्रो भइरहेको छ’, उनले भने, ‘त्रिविले आफूलाई व्यवस्थित गर्न नसक्दा मार विद्यार्थीलाई परेको छ । मेरा कति साथीहरु रिजल्ट आउनु अगाडीनै विदेशिने तरखरमा थिए । उनीहरुले पाएनन् ।’
जुन मुलुकको सरकार अस्तव्यस्त छ, त्यो मुलुकमा यतिको अव्यवस्था भइहाल्छ । कतिसम्म भने एक दिन उनी त्रिविमा आफूले पढ्न चाहेको विषय बुझ्न गए जुन बारेमा त्यहाँ कसैलाई थाहै थिएन । एक छिनको गलफत्ती पछि उनिहरुले खोजेर त्यो कोर्षको पुरानो भर्जन देखाए । ‘यसले के दोखाउँछ भने त्रिविमा कोही विद्यार्थी र शिक्षाका लागि काम गरिराखेका छैनन्’, कसैलाई दायित्वबोध छैन, उनले भने, ‘त्रिवि मुख्यत पढ्ने ठाउँ बन्नु प¥यो ।’
उनले के पनि भने भने भौगोलिक विकटता, यातायात साधनको अभाव र अन्य भौतिक सुविधा समस्याले पक्कै ढिला बनाउला तर यी बहना हन् । यस्ता विषयलाई सल्टाउन सकिन्छ । ‘कोही सल्टाउन चाहन्न’, उनले निराशा व्यक्त गरे, ‘कसैले कारवाही गरेर विश्वविद्यलाय सुध्रने भन्ने मलाई लाग्दैन । किन भने कारबाही गर्नेलाई भित्री कुरा थाहा हुदैँन ।’
अन्तमा, उनले पुन दोहोर्याए, ‘त्रिवि सुधार्ने हो भने साँच्चैको कर्मठ र त्रिविकै लागि काम गर्ने मानिस चहिएको छ ।’
प्रस्तुतीः श्याम दाहाल, काठमाडौं
प्रतिक्रिया